Comments Add Comment

पहिलो त्रैमासमा कस्ता देखिए अर्थतन्त्रका सूचक ?

१० मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा धेरैजसो अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे त्रैमासिक रिपोर्ट सार्वजनिक गर्दै अर्थतन्त्रका सूचकहरु धेरै सकारात्मक नै रहेको बताएको हो ।

कोरोना महामारीकाबीच पनि अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मक नै देखिएको राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभाग प्रमुख डा. गुणकर भट्ट बताउँछन् ।

अझै कोरोना महामारी बाँकी नै रहेकाका कारण अर्थतन्त्र सवल हुन केहि समय भने लाग्ने उनको भनाई छ । यद्यपि पछिल्लो रिपोर्ट अर्थतन्त्र सहि बाटो मै हिड्ने देखिएको उनी बताउँछन् ।

यस अवधिमा नेपाल सरकारले गर्नुपर्ने विकास खर्च कमजोर देखिएको छ । पहिलो त्रैमासमा बजेट खर्चमा कमजोर देखिएको सरकारले राजश्व भने लक्ष्य नजिक पुग्ने देखाएको छ ।

केन्द्रीय बैंकको रिपोर्ट अनुसार यो त्रैमासमा संघीय सरकारको खर्च १ खर्ब ७६ अर्ब ९९ करोड रुपैयाँमात्रै देखिएको छ भने राजस्व परिचालन १ खर्ब ७२ अर्ब ३६ करोड रुपैयाँ रहेको छ ।

मुद्रास्फीति ३.७९ प्रतिशतमा सीमित छ । आयात १२.७ प्रतिशतले घटेको छ भने निर्यात १४.३ प्रतिशतले वृद्धि जसले व्यापार घाटा घटेको छ । तर कोरोनाका कारण व्यापार व्यवसाय कम भएका कारण आयात कम भएको हुन सक्ने रिपोर्टले देखाएको छ ।

यस अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले वृद्धि भएको छ भने शोधनान्तर १ खर्ब १ अर्ब ९ करोडले बचतमा रहेको छ । विदेशी विनिमय सञ्चिति १२ अर्ब ५५ करोड अमेरिकी डलर रहेको कन्द्रीय बैंकले जनाएको छ ।

घट्यो व्यापारघाटा

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा व्यापार घाटामा कमी आएको छ । आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा कुल वस्तु व्यापार घाटा १५.१ प्रतिशतले घटी २६१ अर्ब २२ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकले बताएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १२.० प्रतिशतले ह्रास आएको थियो । यस अवधिमा निर्यात-आयात अनुपात १०.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा कुल वस्तु निर्यात १४.३ प्रतिशतले वृद्धि भई ३१ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४.४ प्रतिशतले वृद्धि भएको थियो ।

सार्वजनिक रिपोर्ट अनुसार गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः १९.४ प्रतिशत र ७.४ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ५३.२ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा जुटका सामान, धागो -पोलिष्टर तथा अन्य), चाउचाउ, अलैंची, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामान, छाला लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा कुल वस्तु आयात १२.७ प्रतिशतले घटेर २९२ अर्ब २७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.३ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिनेमुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ६.६ प्रतिशत, २६.९ प्रतिशत र १९.० प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, कोइला लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, हवाईजहाज तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ सुख्खा बन्दरगाह, कैलाली, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा वृद्धि आएको छ । आयाततर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर र कैलाली भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

मुद्रा स्फितिको अवस्था

२०७७ असोजमा वाषिर्क बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.२१ प्रतिशत रहेको थियो । यस महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५० प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४६ प्रतिशत रहेको छ ।

२०७६ असोजको तुलनामा २०७७ असोजमा तरकारी उपसमुहको मुल्यवृद्धि २३.१० प्रतिशत र दाल तथा गेडागुडी उपसमुहको मूल्यवृद्धि १३.८६ प्रतिशत रहेको छ ।

यस महिनामा काठमाडौं उपत्यकामा ३.३५ प्रतिशत, तराईमा ४.४६ प्रतिशत, पहाडमा ३.०३ प्रतिशत र हिमालमा ४.३९ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ असोजमा यी क्षेत्रहरुमा क्रमशः ८.१४ प्रतिशत, ५.७५ प्रतिशत, ४.८९ प्रतिशत र ५.११ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७७ असोजमा वाषिर्क बिन्दुगत थोक मुद्रास्फीति ८.२६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२९ प्रतिशत रहेको थियो ।

यस महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ८.८७ प्रतिशत, ८.७८ प्रतिशत र ३.१३ प्रतिशत रहेको छ । यस महिनामा निर्माण सामग्रीको थोक मूल्य २.१३ प्ा्रतिशतले घटेको छ ।

रेमिट्यान्समा बढोत्तरी

यस अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले वृद्धि भई २५८ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.६ प्रतिशतले बृद्धि भई २ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ४.७ प्रतिशतले घटेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति -संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.७ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या यस अवधिमा ७८.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.९ प्रतिशतले घटेको थियो ।

चालु खाता एवम् शोधनान्तर स्थिति

यस अवधिमा शोधनान्तर स्थिति १०१ अर्ब ९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १४ अर्ब ४३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १२ करोड ७८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति यस अवधिमा ८५ करोड १० लाखले बचतमा रहेको छ ।

यस अवधिमा चालु खाता ३४ अर्ब ३६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २२ अर्ब ४७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ८४ लाखले घाटामा रहेको चालु खाता यस अवधिमा २८ करोड ८२ लाखले बचतमा रहेको छ ।

यस अवधिमा पुँजीगत ट्रान्सफर ३.३ प्रतिशतले कमी आई ३ अर्ब ५६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २६.८ प्रतिशतले कमी आई २ अर्ब ९२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ६८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ९९ करोड रहेको थियो ।

विदेशी विनिमय सञ्चिति

आर्थिक वर्ष २०७७/७८ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.६ महिनाको वस्तु आयात र १४.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । यस अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.० प्रतिशत, ११७.३ प्रतिशत र ३२.९ प्रतिशत रहेका छन्। २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३७.२ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए ।

२०७७ असार मसान्तमा १४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.९ प्रतिशतले वृद्धि भई २०७७ असोज मसान्तमा १४७० अर्ब २६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ असोज मसान्तमा ७.८ प्रतिशतले वृद्धि भई १२ अर्ब ५५ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२२६ अर्ब १२ करोड रहेकोमा २०७७ असोज मसान्तमा ५.१ प्रतिशतले वृद्धि भई १२८८ अर्ब ५५ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १७५ अर्ब ७१ करोड रहेकोमा २०७७ असोज मसान्तमा ३.४ प्रतिशतले वृद्धि भई १८१ अर्ब ७१ करोड पुगेको छ । २०७७ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको छ ।

कमजोर बन्यो नेपाली रुपैयाँ 

यस अवधीमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग तुलना गर्दा केहि कमजोर भएको छ । २०७७ असार मसान्तको तुलनामा २०७७ असोज मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ २.८ प्रतिशतले अधिमूल्यन भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ४.१ प्रतिशतले अवमूल्यन भएको थियो । २०७७ असोज मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर ११७.१२ पुगेको छ । २०७७ असार मसान्तमा उक्त विनिमय दर १२०.३७ रहेको थियो ।

सरकारको खर्च

यस अवधिमा बैंकिङ्ग कारोबारमा आधारित -सोझै भुक्तानी र भुक्तानी हुन बाँकी चेकबाहेक) संघीय सरकारको कुल खर्च १७६ अर्ब ९९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च १७२ अर्ब ३३ करोड रहेको थियो ।

तीन महिनामा सरकारी खर्च अघिल्लो महिनाको यसै अवधिको तुलनामा १३ प्रतिशतले बढेको छ । तथ्यांक अनुसार यसअवधिमा कुल सरकारी खर्च २ खर्ब १ अर्ब ७ करोड ७१ लाख रुपैयाँ भएको छ । यो अघिल्लो आवको तुलनामा १२.९६ प्रतिशत बढी हो । तीन महिनामा पूँजिगत खर्च १५ अर्ब ६१ करोड मात्र भएको छ । यद्दपी गत आवको तुलनामा भने पूँजिगत खर्च १८.०९ प्रतिशतले बढी हो । यो अवधिमा चालु खर्च १ खर्ब ८२ अर्ब ६१ करोड रुपैयाँ भएको छ ।

यो गत आवको तुलनामा १६.५० प्रतिशत बढी रहेको देखाएको छ । वित्तीय व्यवस्थामा भने यस अवधिमा ३ अर्ब ४१ करोड रुपैयाँ खर्च भएको छ । यो अघिल्लो आवको तुलनामा १८.४१ प्रतिशत बढी हो । सरकारले चालु आर्थिक वर्षका लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।

लक्ष्य नजिक राजश्व संकलन

केन्द्रीय बैंकका अनुसार यस अवधिमा बैंकिङ्ग कारोबारमा आधारित राजस्व संकलन -प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) १७२ अर्ब ३६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन २११ अर्ब २८ करोड रहेको थियो ।

पहिलो त्रैमासमा लक्ष्यको तुलनामा ९८.७८ प्रतिशत राजस्व तथा अन्य प्राप्ति भएको छ । यसमा आयकरले सरकारलाई साथ दिएको छ । यस अवधिमा आयकर लक्ष्यको तुलनामा १०९.५९ प्रतिशत संकलन भएको छ । भन्सार महसुल, मूल्य अभिवृद्धि कर र अन्तःशूल्कतर्फको राजस्व भने लक्ष्यभन्दा कम संकलन भएको छ ।

पहिलो त्रैमासमा गत आवको तुलनामा राजस्व तथा अन्य प्राप्तिमा ३.०९ प्रतिशतको वृद्धिदर देखिएको छ । समिक्षा अवधिमा शिक्षा सेवा करतर्फको प्राप्तीमा सबैभन्दा उच्च वृद्धिदर देखिएको छ । मन्त्रालयका अनुसार असोजसम्मको शिक्षा सेवा कर गत आवको तुलनामा ७५.४२ प्रतिशतले वृद्धि भएको छ ।

नगद मौज्दात

२०७७ असोज मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा २१३ अर्ब ३९ करोड -प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको राष्ट्र बैंकले बताएको छ ।

आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा प्रदेश सरकारको स्रोत प्राप्ति २७ अर्ब ३८ करोड रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी १८ अर्ब ४४ करोड हस्तान्तरण गरेको छ । यसैगरी, यस अवधिमा प्रदेश सरकारहरुले राजस्व र अन्य स्रोतबाट ८ अर्ब ९५ करोड परिचालन गरेका छन् ।

पुँजी बजारको सुधारिँदो अवस्था

पहिलो त्रैमासको तथ्यांकले पुँजी बजारले पहि सहि दिशा समातेको देखाएको छ । अर्थतन्त्रको ऐना मानिने पुँजी बजार राम्रै विकास भइरहेको तथ्यांकले देखाउछ ।

२०७६ असोज मसान्तमा ११३७.८ रहेको नेप्से सूचकाङ्क २०७७ असोज मसान्तमा १५६२.५ पुगेको छ । २०७७ असार मसान्तमा यस्तो सूचकाङ्क १३६२.४ रहेको थियो । २०७७ असोज मसान्तमा धितोपत्र बजार पँुजीकरण २०८२ अर्ब ५८ करोड पुगेको छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण १७९२ अर्ब ७६ करोड रहेको थियो ।

२०७७ असोजमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०९ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ३३ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ६ अन्य समूहका रहेका छन्। २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७५.४ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ६.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.५ प्रतिशत, होटेलको हिस्सा १.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १३.१ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ असोजसम्ममा सूचीकृत ४ अर्ब ८९ करोड शेयरको चुक्ता मूल्य ४७९ अर्ब ८३ करोड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment