Comments Add Comment
नेकपाका १० दिन :

प्रचण्ड पढ्न व्यस्त, ओली समूह लेख्न !

१२ मंसिर, काठमाडौं । केही घण्टाका लागि मंसिर ५ मा धुम्बाराही जानुबाहेक दश दिनयता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटारमै बिताए । निवासमै भेट्न आउनेहरुसँग कुराकानी त गरे, तर कुनै औपचारिक/अनौपचारिक कार्यक्रम वा भेटवार्ताका लागि बाहिर निस्किएनन् । प्रधानमन्त्रीनिवास बालुवाटार त जाँदै गएनन् ।

नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको टिमचाहिँ यो १० दिनको अवधिमा प्रचण्डलाई जवाफी पत्र लेख्न व्यस्त रह्यो । केपी ओलीले लेखन ड्राफ्ट तयार पार्ने जिम्मेवारी आफ्नो समूहका नेताहरुलाई दिए र आफूचाहिँ जिल्ला भ्रमणका साथै सरकारी कामकाजमा सक्रिय बने ।

कात्तिक २८ को सचिवालय बैठकमा प्रचण्डले पेश गरेको १९ पृष्ठ लामो प्रतिवेदनको जवाफी प्रस्ताव लेख्न मंसिर ३ को सचिवालय बैठकले प्रधानमन्त्री ओलीलाई यो दश दिन समय दिएको छ । सचिवाललयले दिएको दश दिने म्याद शनिबार सकिँदैछ ।

यसबीचमा प्रधानमन्त्री ओली प्रतिवेदन लेखनमा आफूनिकट नेता र निजी सचिवालयलाई खटाएर राष्ट्रिय राजनीतिमा सन्देश दिने गरीका केही गतिविधिमा सक्रिय भए । उनको दौडधुप राजधानी उपत्यकाभित्र मात्र सीमित रहेन ।

यसबीचमा प्रधानमन्त्री ओली प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गोप्य संवाद गर्नेदेखि ताप्लेजुङ भ्रमणमा समेत निस्किए ।

मंसिर ६ मा भएको देउवासँगको भेटवार्ताका क्रममा देउवासँग ओलीले सत्ता सहकार्यको प्रस्ताव राखेको चर्चा चल्यो । तर, उक्त भेटबारे अहिलेसम्म प्रधानमन्त्री ओली र उनी निकट नेताहरुले मुख खोलेका छैनन् ।

उत्तरी छिमेक चीनबाट उच्च तहको भ्रमण तय भएको र दक्षिणी छिमेक भारतका विदेश सचिव नेपाल आउने पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली सीमा क्षेत्रमा नवनिर्मित सशस्त्र प्रहरीको बीओपी निरीक्षणमा निस्किए ।

कात्तिक २६ मा संखुवासभाको सीमा क्षेत्र पुगेका उनी मंसिर ८ मा ताप्लेजुङ र इलाम भ्रमणमा निस्किएका थिए । तर, मौसम खराबीका कारण ओली इलामको सन्दकपुरमा निर्मित बीओपी उद्घाटन गर्न पाएनन्, ताप्लेजुङबाटै काठमाडौं फर्किए ।

ओलीनिकट नेता पृथ्वीसुब्बा गुरुङ, यो दश दिनमा निकै महत्वपूर्ण अनौपचारिक छलफलहरु भएको बताउँछन् । ‘ठोस निष्कर्ष ननिस्किएको मात्रै हो, यो दश दिनमा राम्रो प्रयास भएको छ । कम्तिमा विभाजनकै अवस्थासम्म पुग्छ कि भन्ने आशंका मेट्ने काम भएको छ’, उनी भन्छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री र पार्टी इन्चार्ज रहेका गुरुङ प्रधानमन्त्रीका तर्फबाट लिइएको पहलकदमीले पार्टीलाई उत्साह दिने काम गरेको बताउँछन् ।

हुन पनि यो दश दिनमा, ओली र उनीतर्फका नेताहरू लगातार भेटवार्तामा जुटे । ओली आफैंले आफ्नै निजी सचिवालय र निकट नेताहरुसँग मात्रै संवाद गरे पनि उनी निकट नेताहरु भने निरन्तर शीर्षनेताहरुसँगको संवादमा रहे । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको ध्यान बुटवलभन्दा धेरै काठमनडौं केन्द्रित रह्यो ।

यस अवधिमा कार्यकारी अध्यक्ष प्रचण्डले धेरैजसो समय पढेरै बिताएको उनका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा जुगल बताउँछन् । ‘दार्शनिक र आर्थिक पुस्तकहरु पढेर बस्नुभयो । केही भेटघाट त हुने नै भए’, उनी भन्छन् ।

यो दश दिनमा महासचिव विष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले भेट्ने भनेपछि प्रचण्ड एकपटक धुम्बाराहीस्थित पार्टी कार्यालय गए । बाँकी समय खुमलटार छोडेनन् । ‘भोलि (मंसिर १३) सचिवालय बैठकमा जानुहुन्छ, त्यसबाहेक अरू कार्यक्रम तय भएको छैन’, जुगलले भने ।

पौडेल, नेम्वाङ र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसबीचमा प्रचण्डसँग कुराकानी गरे । मंसिर १० मा स्थायी कमिटी सदस्य ज्ञवाली प्रचण्डलाई भेट्न खुमलटार नै पुगेका थिए । ओली पक्षका नेताहरुले प्रचण्डसँग पार्टी एकता जोगाउनेगरी पहल लिइदिन आग्रह गरेका छन् ।

सचिवालयका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहितको सहमतिमा प्रचण्डले ल्याएको प्रस्तावबाट सुरुमा आक्रामक देखिएका ओलीतर्फका नेताहरु यो दश दिनमा केही लचक देखिएका छन् ।

सचिवालय सदस्य ईश्वर पोखरेल लगायत केही नेताले प्रचण्डको प्रस्तावमा उल्लेखित हरेक आरोपलाई ‘ईंटको जवाफ पत्थर’ले दिने बताए पनि ओली निकट अन्य नेताहरु शान्तप्रायः देखिन्छन् । केपी ओली निकट युवा नेता महेश बस्नेतले पनि प्रचण्डलाई व्यक्तिगत जवाफ दिनु उचित नहुने भन्दै केपी ओलीको प्रतिवेदन समग्र राजनीतिक विश्लेषणमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

प्रचण्ड–नेपाल पक्षका नेताहरुले यस अवधिमा लगभग जवाफी प्रतिवेदन कुर्नमै यो अवधि बिताएका छन् । स्थायी कमिटी सदस्य मणि थापा, अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई पार्टी बैठकले समय दिएकाले प्रतिवेदन आउनुलाई नै यो अवधिको उपलब्धी मान्छन् । ‘यो अवधिमा धेरै आशा गर्न पनि हुँदैन, प्रस्ताव आएपछि त्यसमाथि छलफल हुन्छ’, उनी भन्छन् ।

अर्का, स्थायी कमिटी सदस्य युवराज ज्ञवाली पनि ओलीको जवाफी पत्रकै प्रतिक्षामा नेताहरु रहेको बताउँछन् । ‘मलाई लाग्छ, सहमतिमै बैठक बोलाइनु र छलफलका लागि प्रस्ताव आउनुले पार्टी एकतालाई बचाउँछ । त्योभन्दा धेरै गतिविधि र अभिव्यक्ति आवश्यक पनि नहोला’, ज्ञवाली भन्छन् ।

प्रचण्ड जस्तै, यो खेमाका अन्य नेताहरुले यो अवधि लगभग निवासमै बिताएका छन् । मंसिर १० मा नेता माधव नेपाल वीरगञ्जमा आयोजित कार्यक्रममा सम्वोधन गर्न पुगेका थिए । झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सार्वजनिक कार्यक्रमहरुमा देखिएनन् ।

रोकिएन गुटको गतिविधि

असोज २७ मा प्रधानमन्त्रीले आफूनिकट तीनजना मन्त्रीहरु थप गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेयता यो समूहको खुमलटार, कोटेश्वर र धुम्बाराहीमा निरन्तर छलफल चलेको थियो ।

प्रधानमन्त्री ओलीको जवाफी प्रतिवेदनको पर्खाइमा बसेका प्रचण्ड–नेपाल पक्षका गुटगत गतिविधि र सक्रियता भने यो अवधिमा पनि कायमै रह्यो । प्रचण्ड, नेपाल लगायत शीर्षनेताहरु आफैं सक्रिय नभए पनि यो खेमाका दोस्रो/तेस्रो तहका नेता–कार्यकर्ताहरू सानो–ठूलो गतिविधिमै व्यस्त देखिए । ओलीले फिर्ता लिनुपर्ने अडान लिएका प्रचण्डको प्रतिवेदनसहित कात्तिक २८ को सचिवालय बैठकमा पेश भएको पत्रहरु प्रकाशन नै गरेर तल्ला कमिटीमा पठाइयो ।

यसलाई छलफलका लागि नभएर अध्ययनका लागि पठाइएको तर्क गरिएको छ । तर, ओली निकटकाहरुले भने तल्ला कमिटीमा पठाइएको यो पुस्तिकाले विभाजनलाई बल पुगेको आरोप लगाएका छन् ।

ओली पक्षले पनि गुट गतिविधि भने रोकेका छैनन् । मदन भण्डारी फाउण्डेसन र यसका भंगिनी संस्थाहरु सक्रिय छन् । मंसिर ६ मा कर्णाली प्रदेश स्तरीय भेला सुर्खेतमा राखियो । मदन भण्डारी स्पोट्स एकेडेमीको ब्यानरमा जनताको बहुदलीय जनवाद (जबज) बारे छलफल भन्दै ओली निकटकाहरुको भेला भएको थियो ।

फाउण्डेसनको गतिविधि स्थायी कमिटी बैठकको निर्णय विपरीत भएको अभिव्यक्ति दिएकै कारण स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरुद्ध ओली निकटकाहरुले नाराबाजी नै गरेका थिए । मंसिर ६ मा चितवन पुगेका पाण्डे अतिथि रहेकै कार्यक्रमस्थलमा नाराबाजी गरिएपछि भोलिपल्टै पोखरामा प्रचण्ड–नेपाल निकट नेताहरुको कार्यक्रम आयोजना भयो । त्यहाँ पनि पूर्वअर्थमन्त्री पाण्डे नै अतिथि बन्न पुगेका थिए ।

गुटगत गतिविधि चलिरहेकै बेला चिनियाँ राजदूत होउ यान्छीले यसपटक खुमलटार नै पुगेर प्रचण्डसँग कुरा गरेकी छन् । मंसिर ८ मा यान्छी खुमलटार पुगिन् । यसअघि सचिवालय बैठकमै नबस्ने अडान लिइरहेका बेला ओलीसँग राजदूत यान्छीले बैठकको अघिल्लो दिन मंसिर २ मा बालुवाटारमा भेटेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment