Comments Add Comment

कोरोनाबाट भएको मृत्युको तथ्यांकमा स्वास्थ्य मन्त्रालयको खेलबाड

१२ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएकाहरुको तथ्यांकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खेलबाड गरेको भेटिएको छ ।

मन्त्रालयले हरेक दिन पहिचान भएका संक्रमित र मृत्युको तथ्यांक सार्वजनिक गर्दै आएको छ । शुक्रबार १७०३ जनामा संक्रमण पुष्टि भएको र २३ जनाको मृत्यु भएको  तथ्यांक  सार्वजनिक गरेको छ ।

तर मृतकको संख्यामा भदौ/असोजमै मृत्यु भएका कोरोना संक्रमितहरुको विवरण समेत जोडेको पाइएको छ ।

मन्त्रालयको सूचनाअनुसार बाग्मती प्रदेशमा पछिल्लो २४ घण्टामा १७ मृत्यु भएको छ । बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको मृतकको तथ्यांकमा पनि १७ जना नै मृतक छन् तर तीमध्ये ९ जना भदौ ३० देखि कात्तिक ५ गते मृत्यु भएका व्यक्तिहरु हुन् ।

काठमाडौंकी ७९ वर्षीया महिलाको ३० भदौमै मृत्यु भएको छ भने ४३ वर्षीया महिलाको १० असोजमा । ललितपुरकी ४२ वर्षीया महिलाको असोज १५ मा, ललितपुरका ४२ वर्षीय पुरुषको १५ असोजमा, काठमाडौंका ५१ वर्षीय पुरुष र ललितपुरका ५० वर्षीया महिलाको २१ असोजमा मृत्यु भएको थियो ।

ललितपुरका ५८ वर्षीय पुरुषको १८ असोजमा, धादिङका २२ वर्षीय पुरुषको २६ असोज, ललितपुरका ८८ वर्षीया महिलाको २७ असोज र ललितपुरका ६६ वर्षीया महिलाको ५ कात्तिकमा मृत्यु भएको थियो ।

सामाजिक विकास मन्त्रालयका एक अधिकारीका अनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रबाट नै पुरानो विवरण आएको हो । ‘किन यस्तो भयो भनेर हामीले बुझ्दा यसअघि मिसिङ भएको तथ्यांकलाई समावेश गरेको जवाफ पाएका छौं’ उनले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसरी पुरानो तथ्यांक राखेर मृतकको संख्या सार्वजनिक गरेको यो पहिलो पटक होइन ।

८ मंसिरमा कर्णाली प्रदेशको तथ्यांकमा एकै दिन ८ जना मृतकको संख्या बढाइएको थियो । जबकी प्रदेशको सामाजिक विकास मन्त्रालयले पछिल्लो २४ घण्टामा एक जना पनि संक्रमितको मृत्यु नभएको बताएको थियो । यस्तै ९ मंसिरमा प्रदेश २ मा ९ जना मृतक थपिएको छ । त्यो दिन प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकमा मृतक शून्य थियो ।

किन यस्तो भयो भन्ने प्रश्न गर्दा स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता एवं स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रका प्रमुख समिर अधिकारी जिल्ला र प्रदेशबाट आफ्नो विभागमा जहिले रिपोर्टिङ हुन्छ, त्यहीबेला विवरणमा समेट्ने गरिएको दाबी गर्छन् । यसले केही दिन ढिलो विवरण  सार्वजनिक हुन सक्ने उनले बताए ।

तर उनको दाबी मिल्दैन । किनकी काठमाडौंका अस्पतालहरुले सिधै मन्त्रालयमा पनि रिपोर्टिङ गर्ने गरेका छन् । र, स्वास्थ्य मन्त्रालयले शुक्रबार बाग्मती प्रदेशमा थपेको ९ मृतकमध्ये ललितपुरका ५, काठमाडौंका ३ र धादिङका १ जना छन् । उनीहरुको अस्पतालमै मृत्यु भएकाले त्यही बेला रिपोर्टिङ भएको बुझ्न सकिन्छ ।

त्यसो भए किन डेढ दुई महिनापछि मात्र स्वास्थ्य मन्त्रालयको तथ्यांकमा समावेश भयो त ?

यसका लागि ३० असोजमा फर्किनुपर्छ । ३० असोजमा जब नेपाली सेनाले आफूले शव व्यवस्थापन गरेका कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुको संख्या सार्वजजिक गर्‍यो, स्वास्थ्य मन्त्रालयमा ठूलै हल्लीखल्ली भयो ।

किनकी स्वास्थ्य मन्त्रालयले त्यो दिन मृतकको संख्या ७१५ भनेको थियो, तर सेनाले कोरोना संक्रमणबाट मृत्यु भएका ८८९ जनाको शव व्यवस्थापन गरिसकेको बतायो । यसमा एकाध क्वारेन्टिनमा बस्दा आत्महत्या गरेको र कोरोना पुष्टि भएकाहरु पनि छन् । यसबाहेक अरु सबै तथ्यांक सही थियो ।

मन्त्रालयले ठूलो संख्यामा मृतकको संख्या छुटाएको पोल खुलेपछि कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले चासो देखायो र यसबारे छानविन गर्न कार्यदल नै बन्यो ।

स्वास्थ्य मन्त्रालयकी सह–सचिव शैलजा भट्टराईको नेतृत्पमा बसेको कार्यदलमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का डा. वासुदेव पाण्डे र सीसीएमसीका सहायक रथी डा. अरुणकुमार न्यौपाने सदस्य थिए । कार्यदलले स्वास्थ्य मन्त्रालयको सूचना संयन्त्रमा कमजोरी औंल्याउँदै मृतकको तथ्यांक सच्याउनुपर्ने सुझाव दिइएको छ ।

यो पनि पढ्नुहोस कोरोनाबाट मृत्यु हुनेको संख्या ९०० तलमाथि, कार्यदलको प्रतिवेदन अलपत्र

सीसीएमसीले पनि प्रतिवेदन कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । तर मन्त्रालयले सामाजिक विकास मन्त्रालयबाट भेरिफाइ गर्नुपर्छ भन्नै प्रतिवेदन सार्वजनिक गरेन र मृतकको संख्या पनि एकैपटक बढाएन ।

यसो गर्दा आफ्नो कमजोर उदाङ्गो हुने भएकाले विस्तारै तथ्यांक थप्न जाने नीति लिएको मन्त्रालय स्रोतले बतायो । त्यही कारण कहिले कर्णाली प्रदेश, कहिले प्रदेश २ र कहिले कुन प्रदेशमा मृतकको संख्या निकै बढेर आएको छ ।

अधिकारीहरुका अनुसार महामारीका बेला यस्तो तथ्यांक कहिले काँही त्रुटि हुनसक्छ । चीनले समेत मृतकको तथ्यांक छुटेको भन्दै सच्याएको थियो । तर नेपालमा भने कमजोरी स्वीकार गरेर तथ्यांक सच्याउनुको साटो हरेक दिन गलत सूचना दिने बाटो रोजेको देखिएको एक अधिकारी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment