Comments Add Comment

के सन्देश लिएर आउँदैछन् चिनियाँ रक्षामन्त्री ?

१४ मंसिर, काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’का लागि आज काठमाडौं आउँदैछन् ।

परराष्ट्र मन्त्रालयले उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्ण चन्द्र थापालाई भेट गर्ने औपचारिक जानकारी गराएको छ । अन्य भेट पनि हुने तर त्यसको समन्वय चिनियाँ दूतावासले गरिरहेको बताइएको छ ।

यसबाहेक उनका काठमाडौंका भेटघाट र कार्यसूचिबारे औपचारिक रुपमा केही पनि बताइएको छैन । अझ चिनियाँ पक्षले त भ्रमणको बारेमा औपचारिक नोटसमेत सार्वजनिक गरेको छैन ।

गत वर्षको अक्टोबर महिनामा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको भ्रमण गरेयता चीनबाट नेपाल भ्रमण गर्ने उनी उच्च पाहुना हुन् । पछिल्लोपटक चिनियाँ रक्षामन्त्रीले सन् २०१७ मा नेपालको भ्रमण गरेका थिए । त्यसपछि नेपालको तर्फबाट दुईपटक रक्षामन्त्री र सेनापतिले छुट्टाछुट्टै चीनको भ्रमण गरेका थिए । यस हिसावले चिनियाँ रक्षामन्त्रीको भ्रमण नियमित हो ।

चीनको केन्द्रीय सैन्य आयोगको अध्यक्षता चिनफिङ आफैंले गर्ने हुँदा राष्ट्रपति र रक्षामन्त्रीको एकदमै निकटको सम्बन्ध हुन्छ । त्यसमाथि पनि उनी चिनियाँ राष्ट्रपतिको कोर टिम भित्रका व्यक्ति हुन् । त्यसैले यतिबेला उनको भ्रमण हुनुले निकै महत्व राख्छ तर यस विषयमा केही जानकारी दिइएको छैन ।

विशेषत अफिसियल भ्रमणमा बढी औपचारिक कार्यक्रमहरु हुने गर्दछन् तर वर्किङ भ्रमणमा भने औपचारिक कार्यक्रमहरु कम र अनौपचारिक बढी हुन्छ । चिनियाँ रक्षामन्त्रीको पनि औपचारिक भन्दा अनौपचारिक भेटघाट र कार्यक्रम रहेको छ । अनि वर्किङ भ्रमणचाहिँ केही निश्चित उद्देश्यहरु प्राप्त गर्नका लागि गरिन्छ । उनी के उद्देश्यले छोटो समयको भ्रमणको लागि काठमाडौं आउँदैछन् भन्नेमा चासो छ । सरसर्ती हेर्दा उनको भ्रमणका उद्देश्यहरु निम्न देखिन्छ :

सैन्य सहकार्य सुदृढ बनाउने 

नेपाल र चीनको बिचमा पछिल्लो समयमा सैन्य क्षेत्रमा सहकार्य निकै बाक्लिएको छ । तर सन् २०२० मा कोभिड–१९ का कारण सैन्य सहकार्य रोकियो । सन् २०१७ बाट दुवै मुलुकले संयुक्त अभ्यास गरे तर यस वर्ष त्यो हुन सकेन । यति मात्र होइन, चीनले नेपाललाई प्रदान गर्ने भनेको सैन्य सहयोग पनि महामारीका कारण रोकिएको छ । आगामी वर्षमा चाहिँ समयमा नै सैन्य अभ्यास गर्ने प्रस्ताव चीनले पठाएको छ ।

गत वर्ष तत्कालीन रक्षामन्त्री ईश्वर पोखरलेलको चीन भ्रमणको समयमा चीनले नेपाललाई गर्ने सैन्य सहयोग र प्रोटोकलको विषयमा सहमति भएको थियो तर त्यो कार्यान्वयन हुन सकेको छैन ।

त्यसैगरी चिनियाँ सेनाले नेपाली सेनाका अधिकृतलाई प्रदान गर्ने सहयोग पनि यस बिचमा रोकिएको छ । यसबाहेक अन्य द्विपक्षीय भ्रमण आदान प्रदानका विषय छन् । झण्डै दुई घन्टा सैन्य मुख्यालयमा बिताउने चिनियाँ रक्षामन्त्रीले यी सबै विषयमा कुराकानी गर्नेछन् । नेपाली सेनाले उनलाई गार्ड अफ अनर दिने कार्यक्रम छ ।

सीमा विवादको प्रसंग

केही महिनायता हुम्लामा चीनले नेपाली भूभाग मिचेको विषय निकै चर्चामा छ । तर नेपाल सरकार र चीनले भने त्यसको खण्डन गर्दै कुनै पनि नेपाली भूभाग नमिचिएको बताउँदै आएका छन् । चीनले सीमा मिचेको सम्बन्धमा केही समययता सडकमा प्रदर्शनहरु समेत भइरहेका छन् ।

समाचार स्रोतका अनुसार यो विषयलाई चीनले निकै गम्भीर रुपमा लिएको छ । यस विषयलाई लिएर विशेषत प्रमुख विपक्षी नेपाली कांग्रेस र काठमाडौस्थित चिनियाँ दुतावासको बिचमा पत्रको आदानप्रदान समेत भएको छ । समाचार स्रोतका अनुसार नेपाली नेतृत्वसँगको भेटमा उनले यस विषयमा समेत कुराकानी गर्नेछन् ।

चिनियाँ राष्ट्रपतिको सन्देश

चिनियाँ रक्षामन्त्री राष्ट्रपति सी चिनफिङको सन्देश लिएर आउन लागेका हुन् । दुईृ देशको बिचमा रहेको राजनीतिक सम्बन्ध, बेल्ट एण्ड रोड लगायतका अन्य द्विपक्षीय सम्बन्धमा चिनियाँ राष्ट्रपतिको सन्देश उनले प्रधानमन्त्री र राष्ट्रपतिलाई सुनाउने छन् । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको समयमा धेरै विषयमा सहमति भयो तर त्यसलगत्तैको कोभिड–१९ का कारण सहमति कार्यान्वयन हुन सकेनन् ।

यसबाहेक अन्य क्षेत्रीय सुरक्षाका विषयहरुमा समेत छलफल हुने स्रोतको भनाइ छ । नेपालले एक चीन नीतिप्रति लामो समयदेखि प्रतिवद्धता जनाइरहेको छ । यद्यपि नेपालमा हुनसक्ने चीन विरोधी गतिविधिप्रति चीनको जहिले पनि गहिरो चासो हुने गरेको छ ।

चिनियाँ रक्षामन्त्रीले हालै भारत र अमेरिकाको बिचमा भएको रक्षा सम्झौता, इन्डोप्यासेफिक रणनीति र त्यसले नेपाललगायत दक्षिण एसियाली मुलुकमा पार्न सक्ने असरको बारेमा पनि छलफल गर्नेछन् ।

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला नेपालको दुईदिने औपचारिक भ्रमण सम्पन्न गरेर फर्केको एक दिनपछि चिनियाँ रक्षामन्त्री काठमाडौं आउँदैछन् । पछिल्लो समयमा भारत र अमेरिकाको बिचमा सहकार्य बढ्दै गएपछि दक्षिण एसियाली मुलुकहरु पनि सो सहकार्यतिर तानिने हुन् कि भन्ने चिन्ता चीनलाई छ ।

अझ भारत र चीनको बिचमा लामो समयदेखि तनाव जारी रहेको सन्दर्भमा भारत र चीन दुवैले दक्षिण एसियाली मुलुकहरुमा भ्रमण बाक्लो बनाएका छन् । त्यसैले चिनियाँ रक्षामन्त्री द्विपक्षीयका साथसाथै क्षेत्रीय एजेण्डाहरु पनि लिएर काठमाडौं आउँदैछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment