Comments Add Comment

वीरगञ्जमा नाका खोल्न माग गर्दै धर्ना

मुख्य नाका बन्द, खेतबाटै हुन्छ आवतजावत

१४ मंसिर, वीरगञ्ज । वीरगञ्जका अरमान आलमको सीमावर्ती भारतीय बजार रक्सौलमा किराना पसल छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि वीरगञ्ज–रक्सौल नाका बन्द हुनुअघि उनलाई आउजाउ गर्न कुनै समस्या थिएन ।

अहिले नाकाबाट आउजाउ गर्न नपाउँदा समस्या भएको अरमान सुनाउँछन् । उनी भन्छन्, ‘रक्सौलमा पसल बन्द गरेर आउँदा रातिको ८–९ बज्छ, साइडमा खेतको बाटो जाने आउने गरेका छौं ।’

भारतले ६ कात्तिकदेखि एकतर्फी रुपमा नाका खुल्ला गरेपछि नाकामा चहलपहल बढेको छ । नेपाल सरकारले भने ३० मंसिरसम्म नाका बन्द नै रहने बताएको छ ।

सुरक्षाकर्मीहरुले नाका हुँदै आवागमनमा कडाइ गरेका छन् । वीरगञ्ज भन्सार कार्यालय नपुग्दै सशस्त्र प्रहरीले मोटरसाइकल, अटो रिक्सा र अन्य साना सवारी साधनलाई रोक्छ । अटो रिक्सा त्यहीँबाट फर्कन्छन् मोटरसाइकललाई सशस्त्र प्रहरीले नै साइडको बाटो देखाइदिन्छ । खेत खलियानको बाटो हुँदै मानिसहरु रक्सौल पुगेर फर्कन्छन् ।

सरकारले आवागमन खुल्ला गरेको ११ नाकामा वीरगञ्ज पनि पर्छ । सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काका अनुसार भारतबाट आउनेका लागि विशेष कडाइ गरिएको छ । नेपाली नागरिकलाई. नियमित आउन रोकतोक नभएको उनी बताउँछन् ।

‘जरूरी काम हुनेलाई प्रक्रिया पुर्‍याएर जान पनि दिएका छौं, शंकाराचार्य गेटमा हेल्प डेस्क नै छ’ खड्काले भने ‘सरकारले मंसिर ३० सम्म नाका बन्द रहने भनेको छ, त्यसले गर्दा भारतबाट आउन कडाइ गरिएको हो । ’

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ नेपालतर्फको नाका औपचारिक रुपमा बन्द नै रहको बताउँछन् । साइडबाट त ओहोरदोहोर गरिरहेका छन नि त ? भन्ने प्रश्नको उत्तर दिँदै उनले भने ‘मुख्य नाका बन्द छ, अन्यत्रबाट के भएको रहेछ म बुझ्छु ।’

सशस्त्र प्रहरी उपरीक्षक खड्काले साइडबाट पनि आवागमन रोक्न प्रयास भइरहेको र हिजै मात्र अटेरी गर्ने दुई जनालाई कारबाही गरिएको बताए ।

मंसिर विवाहको लगन धेरै हुने महिना पनि हो । सीमावर्ती क्षेत्रमा वारिपारि विहेवारी गर्र्ने चलन छ । त्यसैले सीमाञ्चलमा यो सम्बन्धलाई रोटीबेटीको सम्बन्धको रुपमा परिभाषित गर्ने गरिएको छ । तसर्थ पछिल्ला दिनमा नाका खोल्नुपर्ने माग उठिराखेको छ ।

दैनिक धर्ना

नाका खोल्न दबाब दिने उद्देश्यले वीरगञ्जमा तीन दिनदेखि एक घण्टे धर्ना कार्यक्रम चलिरहेको छ । तीन दिनदेखि नेपाल भारत खुला सीमा संवाद समूहमा आवद्ध मानिस सीमा क्षेत्रमा पुग्छन्, अनि बिहान ९ बजेदेखि १० बजेसम्म धर्नामा बस्छन् ।

जनता समाजवादी पार्टी (जसपा) की केन्द्रिय सदस्य रम्भा मिश्र नाकामा आवत जावत सहज नहुँदा नागरिकले दुःख पाइरहेको बताउँछिन् ।

वीरगञ्ज र वरपरका क्षेत्रमा विवाहको सिजनमा सीमावर्ती रक्सौलबाट नै लत्ता कपडालगायतका विवाहको समान किनमेल गर्ने गरिन्छ । दैनिक उपभोग्य वस्तु पनि उतैबाट ल्याइन्छ । ‘हरेक समान रक्सौलमा ३०÷४० प्रतिशत सस्तोमा पाइन्छ’ रम्भा भन्छिन्, ‘मानिसहरू साइडबाट आउजाउ गरिरहेका छन् त, त्यताबाट आउजाउ गर्दा कोरोना लागिरहेको छैन, नाकाबाट आउजाउ गर्दा मात्रै कोरोना आउँछ र ?’

उनले गाडी आवतजावत गर्दा मालसमान र अन्य कामका लागि आउजाउ गर्न सहज हुने भएकाले पूर्ववत अवस्थामा नाका सञ्चालन गर्नुपर्ने बताइन् ।

जसपाकै युवा नेता ओमप्रकाश सर्राफले लामो समय नाका बन्द हुँदा सीमाञ्चलको सम्बन्ध, जनता जनताबीचको सम्बन्ध टुट्ने अवस्थामा पुगेको बताए ।

‘नाका बन्द हुँदा जनसम्बन्ध टुट्ने अवस्थामा पुग्न थालिसकेको छ । किसानले सहज रुपमा मलखाद, बीऊ पाउन सकिरहेका छैनन्’, उनले भने ‘यी सबै समस्या समाधानका लागि नाकामा आवागमन सहज बनाउनुपर्छ, नाका खुल्नुपर्छ ।’

भिजिट मधेस नेपालका अध्यक्ष समेत रहेका उनले देशकै मुख्य नाका बन्द हुँदा नेपालको पर्यटनमा समेत असर परेको दावी गरे । नेपालमा आउने ७० प्रतिशत पर्यटक भारतबाट नै आउने उनको भनाइ छ ।

‘त्यसले अर्थतन्त्रमा समेत नकारात्मक असर परिरहेको छ’ उनले भने ‘नेपालका मान्छे रक्सौल गएर किनमेल गरिरहेका छन् तर भारतबाट आउन पाएका छैनन् ।’

कोरोना महामारीमा खस्केको अर्थतन्त्र उकास्न पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान हुने उनको भनाइ छ । जनमत पार्टीकी नेतृ मुन्नी श्रीवास्तवले सीमा नखुलेसम्म धर्ना जारी रहने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment