Comments Add Comment

महामारी नियन्त्रणमा नेपाललाई सहयोग गर्ने चिनियाँ रक्षामन्त्रीको बचन

१४ मंसिर, काठमाडौं । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेई फेङ्हेले नेपाली सेनालाई थप सहयोग गर्ने बचन दिएका छन् ।

कोभिड-१९ भाइरसको महामारी नियन्त्रणको सन्दर्भमा नेपाली सेनामार्फत नेपाललाई सहयोग गर्न तयार रहेको फेङ्हेले बताएका हुन् । प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगीअड्डामा दुईपक्षीय भेटवार्ता गर्दै फेङ्हेले भनेका छन्, ‘कोरोना महामारीविरुद्धको प्रतिकार्यमा चीन नेपाललाई थप सहयोग गर्न तयार छ ।’ सहयोग कस्तो किसिमको हुने भन्नेबारे खुलाइएको छैन ।

सहयोगबारे सैनिक सहचारीस्तरमा छलफल भएर निर्णय हुने जंगीअड्डाका एक सैन्य अधिकारीले अनलाइनखबरलाई बताए । भेटवार्ताका क्रममा यसअघि घोषित ३ सय मिलियन आरएनबी सैन्य सहयोगको कार्यान्वयनको विषयमा पनि छलफल भएको थियो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले असार पहिलो साता गरेको चीन भ्रमणका क्रममा १५० आरएमबी सैन्य सहयोग गर्ने घोषणा भएको थियो ।

त्यसको तीन महिनापछि चिनियाँ राष्ट्रपति सी चिनफिङले गरेको नेपाल भ्रमणका क्रममा थप १५० मिलियन आरएमबी (नेपाली २ अर्ब ४१ करोड रुपैयाँ) सैन्य सहयोग गर्ने सहमति भएको थियो ।

तर कोरोना महामारीका कारण सहयोग प्रभावित भएको थियो ।

यसअघि सेनाले चीनबाट औषधि खरिदको जिम्मेवारी पाएका वेला पूर्वघोषित सहयोगकै रकमबाट सामग्री ल्याउन खोजिएको थियो । यद्यपि, तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना कोषमा पर्याप्त रकम रहेको बताउँदै सैन्य सहयोगलाई प्रयोग नगर्न भनेका थिए ।

पूर्वघोषित सहयोगलाई यथाशिघ्र कार्यान्वयनमा ल्याउन पहल गर्ने आश्वसन फेङ्हेले नेपाली पक्षलाई जानकारी दिएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

कोरोना महामारीकै कारण चिनियाँ जनमुक्ति सेनासँग ०७४ सालदेखि हुँदै आएको संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेण्डसिप’ पनि रोकिएको थियो । त्यसलाई सुचारु गर्ने विषयमा पनि रक्षामन्त्री फेङहेसँग छलफल भएको जंगीअड्डाले जनाएको छ ।

यो पनि पढ्नुहोस चीनले बढायो सैन्य सहयोग

०७४ सालमा पहिलो पटक चीनबाट रक्षामन्त्री जनरल चाङ वानक्वान नेपाल भ्रमणमा आएपछि यो अभ्यासको सुरुवात भएको थियो । चीनसँगको यो अभ्यासलाई लिएर भारतका सैन्य अधिकारीहरुले नेपालमा बढ्दो चिनियाँ प्रभावका रुपमा अर्थ्याउने गरेका छन् ।

महामारीका कारण रोकिएका अन्य तालिमलाई क्रमशः सुरु गर्दै लैजाने आश्वसन चिनियाँ रक्षामन्त्रीले दिएका छन् ।

रक्षामन्त्री जनरल फेङ्हेले आइतबार दिउँसो ४ बजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा प्रधानमन्त्री ओलीले सन् २०१६ मा आफूले गरेको चीन भ्रमणका क्रममा भएको ‘व्यापार र पारवहन सम्झौता’ र अन्य द्विपक्षीय उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनका क्रममा रहेको अवगत गराएका थिए ।

उनले नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन् । रक्षा मन्त्रालयको कार्यभार सम्हालेका प्राधनमन्त्री ओलीले चीनले नेपालमा दूरसञ्चार, रेल, विद्युत्, आर्थिक र सामाजिक क्षेत्रको पूर्वाधार विकासमा गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरेका छन् ।

चिनियाँ रक्षामन्त्रीले ओलीसँग नेपालसँग भएका सम्झौताको कार्यान्वयनमा आफ्नोतर्फबाट कुनै समस्या नरहेको बताएका छन् । साथै, दुवै देश शान्तिका पक्षमा रहेकाले कुनै एक र अर्को देशसँगको सम्बन्धमा तेस्रो मुलुकको सम्बन्धलाई जोड्न नहुने बताएका छन् । मन्त्री वेइले चीन क्षेत्रीय र अन्तरराष्ट्रिय शान्तिका पक्षमा समेत रहेको स्मरण गराएका छन् ।

साँझ ५ बजेदेखि आधा घन्टा फेङ्हेले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका छन् । त्यसक्रममा दुई पक्षीय हितको विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

एक दिने भ्रमण सकेर फेङ्हे आइतबारै स्वदेश फर्किएका छन् । लगतै चिनियाँ रक्षा मन्त्रालयले वेई फेङ्हेको नेपाल भ्रमण सैन्य भ्रमण र सहयोग आदान प्रदान, आर्थिक सहकार्य र कोभिड- १९ सँग सम्बन्धीत सहकार्यमा विषयमा केन्द्रीत रहेको औपचारिक जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment