+
+

शुभेच्छा घिमिरेको भोगाइ : स्तन क्यान्सर र झोल तरकारी

डा. अरुणा उप्रेती डा. अरुणा उप्रेती
२०७७ मंसिर १५ गते १४:५६

‘क्यान्सर’ भन्ने सुनेपछि नै मनमा मृत्युको याद आउँछ । पाठेघर/स्तन क्यान्सर भएर नेपाली महिलाहरुको मृत्यु भएका धेरै घटना सुनिन्छन् । मैले भर्खरै स्तन क्यान्सरबारे एउटा किताब पढें । मलाई अहिले यो किताब नेपालीमा अनुवाद गर्न पाए हुने जस्तो लागिरहेछ ।

केही दिनअघि तमाङ थरकी उदयपुरकी १९ वर्षीया एक अविवाहित किशोरीको पाठेघरको क्यान्सर भएको खबर सुनेर उनलाई उपचारका लागि केही मद्दत गरेका थियौं । अपशोच ! ६ महिनापछि नै उनको मृत्यु भयो । त्यति सानी किशोरीको पनि पाठेघरको क्यान्सर भएको सुन्दा दुःख र छक्क दुबै लागेको थियो ।

क्यान्सर भएर एउटा ‘स्तन’ निकालेर, क्यान्सरसँग संघर्ष गरेकी शुभेच्छा घिमिरेले ३६ वर्षमा क्यान्सर हुँदाखेरिको अनुभव सँगालेर लेखेको किताब केही हप्ताअघि मेरो हातमा पर्‍यो । किताबको नाम पनि गज्जब रहेछ ‘क्यान्सर, झोल तरकारी (करी) र म । अर्थात् क्यान्सर, करी एण्ड मी ।

हात परेपछि दुई दिनमा किताव पढेर सिध्याएँ ।

अन्तिम पानामा शुभेच्छाले लेखेकी छिन्- ‘आमाबुबाहरू बालबालिकाको प्रजनन् स्वास्थ्यका बारेमा छलफल गर्दैनन् । युवतीहरूले स्तन क्यान्सरका बारेमा चेतना लिनु जरुरी छ ।’

उनी भन्छिन्, ‘क्यान्सर ठीक समयमा पत्ता लागे उपचार हुन सक्छ । चिकित्सा विज्ञानले कति प्रगति गरिसकेको छ । त्यसैले उपचार हुन्छ । मेरो दाँया स्तन नक्कली छ । तर, मेरो संघर्षले मेरो मनको शक्ति बढाएको छ । म वरिपरिका व्यक्तिलाई, मेरो प्रकृतिलाई प्रेम गर्न सिकाएको छ । मैले जिन्दगीमा राम्रा पक्षलाई लिएर बाँच्न सिकेकी छु । रुमीले भनेका छन् घाउबाट नै प्रकाश छिर्छ, मेरा लागि क्यान्सर त्यो घाउ हो । (पेज नं १७२)

लण्डनमा स्तन क्यान्सरको उपचार गराएकी शुभेच्छासँग १८/१९ वर्षका देखि ८२ वर्षका महिलाहरू र पुरुषहरुसँग विभिन्न थरिका क्यान्सरको उपचार गर्दा भेट भएको पढेर लाग्यो, क्यान्सर जसलाई, जुनबेला, जहाँ पनि हुन सक्ने रहेछ । उपचार राम्रोसँग पाए बाँचिन्छ । सकारात्मक रोच राखेर उपचार गर्दा छिटो निको हुने संभावना बढ्ने रहेछ ।

शुभेच्छाले लेखेकी छिन्, ‘मैले अति कठिन अबस्थामा पनि हार मानिनँ । दुःख, मानसिक पीडा त मलाई नभएको होइन, मेरो दुःखमा मेरा आमाबुबाले दुःख मानेको देखेर झन दुःख लाग्थ्यो । तर, मेरो सकरात्मक सोचले मलाई ठीक गर्नमा धेरै मद्दत गर्‍यो । मेरो प्रगति देखेर डाक्टहरुहरू पनि छक्क परेका थिए ।’

शुभेच्छा श्रीमानसँग लण्डनमा बस्छिन् । बि्रटेनको अस्पतालमा सित्तैमा शुुभेच्छाको स्तन क्यान्सरको उपचार भयो । उनको दाँया स्तन निकालेर ‘सिलिकन स्तन’ राखियो । तर, केही समयपछि त्यो स्तनले धेरै पीडा दियो । र पुुनः उनको अर्को शल्यक्रिया गरेर अर्को स्तन हालियो ।

अरुणा उप्रेती

शुभेच्छाले जस्तो यसरी स्तन क्यान्सर भएर ‘नक्कली स्तन’ हालेको कुरा सुनाउने/भन्ने साहस प्रायः कमैलाई मात्र हुन्छ । तर, उनले भनिन् । किनभने, उनी साहसी थिइन् । उनका परिवार, श्रीमानले पनि उनलाई साथ दिएका रहेछन् । शुभेच्छाले अनुभव लेखिन् ।

शुभेच्छाको रगतमा विष फैलिएर जीवन र मरणको दोसाँधमा पुग्न थालेकी पत्नीको अवस्थामा उनका श्रीमान राजले लेखेका छन्-
‘मेरो ‘ल्यापटप’ अस्पतालमा ल्याउँथें र ‘सु’ (अर्थात शुभेच्छालाई सम्बोधन गर्ने मायालु नाम) अस्पतालमा सुतिरहँदा म काम गर्थें । शुभेच्छाको चौथो केमो थेरापी सिद्धीएपछि डाक्टरले नयाँ औषधी शुरु गरे । मलाई भनिएको थियो कि यदि शुभेच्छालाई ज्वरो आयो भने तुरुन्त अस्पताल ल्याउनू । उपचार गरेर उनका आमाबुबा काठमाडौँ उड्न एयरपोर्ट गए । सुलाई ज्वरो आयो । मैले तुरुन्त उनलाई अस्पताल लगें । उनको रगतमा विष फैलिएको रहेछ । उनको अवस्था साह्रै ‘नाजुक’ थियो । उनलाई अस्पतालमा उपचारका लागि राखियो । मलाई त्यहाँ कुर्न दिइएन । अनि म अस्पतालबाट निस्केर लामो बाटो हिँडेर घर पुगें । मेरा आँखा उनको केही दिनअघि खिचेको फोटोमा परे । मेरा आँखाबाट आँसु झरझर बगे । अनि मैले बुझें, उनीसँग बिताएको एक-एक क्षण कति बहुमुल्य रहेछ । (पेज नं २४)

किताबको शुरुवात गर्दा शुभेच्छाले किन मैले यो किताब लेखें भनेर दर्शाएकी छिन् ।

उनले आफ्ना बुबालाई क्यान्सर भएको खबर सुनाउँदा कसरी रुनुभयो भनेर लेखेको पढ्दा मन थाम्न सकिन्न । त्यही दिन उनकी बज्यैको आँखाको शल्यक्रिया गरेर घर ल्याइएको थियो । शुभेच्छाले बाबालाई भनिन् ँतपाई नै यो खबर मामु-आमा) र बज्यैलाई भन्दिनुस् ।’

शुभेच्छाको स्तन क्यान्सरको उपचार गर्दा उनका आँखिभौं, कपाल, रौंहरु मात्र झरेनन् कि उनका हातका औंलाका नङहरू पनि खसे । उनले औंलामा टेप बेरिन् र त्यसरी नै अस्पताल पनि गइन् ।

शुभेच्छाले उपचार गर्दा उनले अनलाइनबाट समेत त्यस्ता धेरै मानिसहरुसँग भेटिन्, जो उनीजस्तै पीडाबाट गुजि्रएका थिए । उनीहरुसँग छलफल गरेर ‘उनको मनमा केही शान्ति मिले जस्तो भयो ।’

शुभेच्छा एक स्वस्थ्य युवती थिइन् । चुरोट, रक्सी नखाने । मासु एकदमै कम खाने । कुनै स्वास्थ्य समस्या नभएको मानिसलाई स्तन क्यान्सर भएको सुन्दा उनलाई ‘बज्रपात’ परेको जस्तो भयो । उनका आमा, बा र बज्यैलाई भएको पीडा पढ्दा मैले एकछिन किताब पढ्ने साहस हराएँ ।

यो किताब पढ्दा मैले उनको साहसको प्रशंसा बारम्बार गरेँ । किनभने, ‘महिलाको लागि स्तन सुन्दरता र मातृत्वका लागि चाहिन्छ’ भन्ने मान्यता त हाम्रो समाजमा छ । एउटा स्तन गुमाएर ‘नक्कली स्तन’ राखेको अनुभव उनले लेखेकी छिन् । ‘शायद मानव शरीरले विस्तारै आफूलाई ढाल्छ ।’

मैले ‘नक्कली स्तन’ का बारेमा पढेँ, ‘मान्छेहरुलाई आफ्नो शरीरका बारेमा, यसको रोगका बारेमा, आकारका बारेमा लिएर कति असुरक्षा हुन्छ, मलाई त्यो चाँहि थाहा थिएन । तर, ‘स्तन शल्यक्रिया’ गरेपछि मेरा दुई स्तन दुई थरिका जस्ता भए ।’

आफैँलाई ‘मजाक’ गर्न सक्ने उनको स्वभावले शायद उनलाई स्तन क्यान्सरको उपचार गर्दा हुने असिम बेदनासँग लड्न मद्दत गर्‍यो ।

उनले उपचार गर्दा कस्तो-कस्तो किसिमको खानाले उनी तंगि्रन् भनेर पनि यो किताबमा लेखेकी छिन् । । हजुरआमा र आमाले बनाएको खानाले उनलाई तंगि्रन मद्दत गरेको भनेर पनि लेखेकी छिन् । उनको दुःखले भरिपूर्ण कथा पढेपछि खानाको कुरा पढ्दा मेरो मनमा केही खुशी आयो । जाउलो, खिचडी, जिम्बु, टिमुर, थरिथरिका दाल, इमली, बेसार, बीरेनुन, लसुन, प्याज आदिका बारेमा लेखेकी छिन् । यही कारणले उनले पुस्तकको शीर्षकमै तरकारी (करी) उल्लेख गरेकी हुन् ।

नेपालीहरूका लागि सामान्य लाग्ने यस्ता खानेकुराले उनलाई कति मद्दत गरेछन् भन्ने पढ्दा नेपाली भोजन र आयुर्वेदको महत्वको बारेमा विदेशीहरूले सहजै सिक्न सक्छन् । उनलाई उपचार गर्ने डाक्टरले पनि उनलाई ‘बेसार, मरिच र दूध’ खान सल्लाह दिएको कुरा उनले मलाई नै सुनाएकी थिइन् ।

उपचार सफल भएपछि तीन वर्षपछि जब उनी र उनका श्रीमानले बच्चा पाउने निधो गरे, शुभेच्छा गर्भवती त भइन्, तर उनको गर्भ पाठेघर बाहिर ‘नलीमा’ बसेपछि आकस्मिक शल्यक्रिया गर्नुपर्‍यो ।

‘त्यसको केही महिनापछि हामीले टेष्टट्युबबाट जन्माउन निधो गर्यौं । डाक्टरकहाँ गयौं । डाक्टरले मेरो जाँच गरे । लौ म त फेरि गर्भवती भइसकेकी रहेछु । यसपालि त सबै नै ठीक रहृयो । अनि सेप्टेम्बर २०२० मा सामान्य रुपमा प्राकृतिक तरिकाले मेरी छोरी जन्मिइन् ।’

शुभेच्छाले लेखेका यी शब्द पढेपछि मलाई लाग्यो, ३२ वर्षको उमेरमा क्यान्सरसँग लडेर ३६ वर्षमा क्यान्सरलाई जितेर उनी आमा बनिन् । उनी खुशी छिन् । अहिले उनी स्वास्थ, भोजन र क्यान्सरका बारेमा जनचेतना फैलाउने विचार गर्दैछिन् । अहिलेचाहिँ उनी श्रीमान र छोरीसँग प्रेममा लुटपुटिएर बसेकी छिन् ।

शुभेच्छाको भोगाइमा आधारित यो किताब कसैले नेपालीमा अनुवाद गर्न सके कति राम्रो हुने थियो, मैले किताब सिध्याएपछि सोचें ।

लेखकको बारेमा
डा. अरुणा उप्रेती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?