Comments Add Comment

पाटनको ऐतिहासिक अग्निशालाको स्वरूप फेरिँदै

१५ मंसिर, काठमाडौं । ललितपुरको ऐतिहासिक अग्निशालाको अब स्वरुप बदलिने भएको छ । विश्वसम्पदामा सुचीकृत गर्ने पहल अघि बढाउन समस्या भएपछि अहिले ललितपुर महानगरपालिकाले यसको पुनर्निमाण गर्न लागेको हो ।

वि.सं. १९९० सालसम्म झिँगटीको छानो रहेको यो अग्निशालामा १९९० मा गएको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको थियो । त्यसपछि बेलायत सरकारको सहयोगमा जस्ताको छानो लगाइएको थियो । तर जस्ताको छानो विस्थापन नगर्दासम्म विश्व सम्पदानमा सुचीकृत गर्न नसकिने भएपछि महानगरले पहल गरेको हो ।

महानगरले बजेट व्यवस्थापन गरेर जस्ताको ठाउँमा तामाको छानो छाउन सुरु गरिएको अग्निशाला व्यवस्थापन समितिका अध्यक्ष निगेन्द्रराज शर्माले बताए । चालु आर्थिक वर्षमा ललितपुर महानगरपालिकाले अग्निहोत्रमा तामाको छानो बनाउनको लागि ४० लाख रुपैयाँ छुटएको उनले जानकारी दिए ।

सोमबार अग्निशालामा नगरप्रमुख महर्जनको उपस्थितिमा क्षमापूजा गरी जस्ताको छानो हटाउने र तामाको छानो राख्ने कामको सुरुवात गर्न लागिएको हो ।

पाटन दरबार क्षेत्रबाट पुल्चोकतिर जाँदा गाबहालबाट देब्रेतिर छिर्ने एउटा सानो गल्ली छ । त्यहाँबाट ५ मिनेटजति हिँडेर पुग्न सकिन्छ ललितपुरको ऐतिहासिक अग्निशाला ।

काठमाडौं उपत्यकामा बस्ती बस्नुभन्दा पहिलेदेखि निरन्तर अग्निहोत्रको काम चलिरहेको स्थानीय किम्वदन्ती छ । अहिले पनि यो ठाउँमा चौबिसै घण्टा अटूट रुपमा अग्निहोत्रको काम चलिरहन्छ । काठमाडौंमा ग्यास र बिजुलीबाट खाना पकाउने विकल्प नआउन्ज्यालसम्म हरेक घरमा चुलो बाल्न यही अग्निशालाको भरपर्ने गरेको स्थानीय बताउँछन् ।

अध्यक्ष शर्मा पनि काठमाडौंमा बस्ती बस्नुभन्दा पहिलेदेखि यहाँ अग्निहोत्रको काम सुरु भएको किंवदन्ती सुनाउँछन् । त्यतिबेला बाग्मती र नख्खुको किनार अहिलेको कुमारीपाटीसम्म आइपुगेको थियो । यही दुई नदीको संगममा बसेर विद्याधर र यशोधरले यज्ञ सुरु गरेपछि निरन्तर यो ठाउँमा अग्निहोत्र चल्न थालेको उनी बताउँछन् ।

५ प्रकारका अग्निको संयोजन

पूर्वीय संस्कृतिले पाँच प्रकारको आगोको व्याख्या गरेको छ । दुई वटा ढुंगालाई एक आपसमा जुधाएर निस्किएको आगोलाई पाषाणाग्नि भनिन्छ । त्यस्तै, दुई वटा काठलाई रगडेर निस्किएको आगोलाई कासाग्नि भन्ने गरिन्छ ।

यसबाहेक सूर्यको किरणबाट निस्किएको अग्निलाई सूर्याग्नि, पानीबाट निस्किएको आगोलाई जलाग्नि र मान्छेको पेटमा हुने अग्निलाई जठराग्नि भनिन्छ । यो अग्निशालामा रहेका पाँचै अग्निकुण्डमा भिन्दाभिन्दै किसिमले स्थापना गरिएको अग्नि स्थित रहेको शर्मा बताउँछन् । अहिले पाँचै किसिमको अग्निलाई अटूट किसिमले बालेर होम गर्ने गरिएको उनले जानकारी दिए ।

यो अग्निशालाको बारेमा स्थानीयस्तरमा चलेका रोचक किंवदन्तीलाई शर्मा यसरी सुनाउँछन्ः

काठमाडौंमा बस्ती बस्नभन्दा पहिले वाग्मती नदीको एउटा किनारा यही अग्निशालासम्म आइपुगेको थियो । काठमाडौं उपत्यका बाहिर विशालनगर भन्ने ठाउँबाट आएका विद्याधर र यशोधर भन्ने साधकले वाग्मति र नख्खु खोलाको दोभानमा आएर यज्ञ गर्ने सोच बनाए ।

विशालनगरका सबै ब्राह्मणहरुले सुनको लोभमा अग्निमाथि अपमान गर्न थालेपछि ती दुई ब्राह्मण गाउँ छाडेर अहिलेको कुमारीपाटीमा आएका थिए । यहाँ आएको पहिलो दिन उनीहरुले यही ठाउँमा एउटा लौरो गाडेर सुते । सो लौरोबाटै भोलिपल्ट पातहरु पलाएपछि विद्याधर र यशोधर अचम्मित भए । सोही ठाउँमा उनीहरुले अटूट यज्ञ सुरु गर्न थाले । अहिले अग्निशालाको छेउमा रहेका आधादर्जन जति रुखहरू तिनै विद्याधर र यशोधरले गाढेको लौरोबाट उम्रिएका रुख हुन् भन्ने स्थानीयको विश्वास छ ।

बिस्तारै काठमाडौंको पानी बग्दै गयो । यो अटूट यज्ञ पनि जारी रहँदै गयो । दाउराबाट आगो बाल्नेहरुको लागि यसको महत्व बढ्दै गयो । लिच्छविकालसम्म आइसकेको यो परम्परालाई त राज्यले समेत विशेष प्रोत्साहन गरेर गुठीको व्यवस्था गर्ने, आर्थिक सहयोग गर्ने जस्ता काम गर्न थाल्यो ।

त्यसपछि राज्यस्तरमा नै अग्निशालालाई प्रोत्साहन गर्न थालियो भने स्थानीयले पनि नियमित घरमा आवश्यक पर्ने आगोको जोहो गर्नको लागि यसैको भर पर्न थाले । मध्यकालमा त अन्य विभिन्न ठाउँमा पनि यस्ता अग्निशाला स्थापना गर्ने लहर नै चल्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment