Comments Add Comment

प्रकाश-अनिताको ‘फुटेका चुरा’ : गीत औसत, भिडियो भव्य

प्रकाश सपुत यस्ता गायक हुन् जो हरेक गीतमा नयाँ नयाँ प्रयोग गर्न रुचाउँछन् । अनि हरेक प्रयोगमा उनी सफल पनि छन् । त्यसैले न ‘मोस्ट डिमान्डेड’ गायकका रुपमा उनको चर्चा छ ।

गायक सपुतले गायिका अनिता चलाउनेसँग गाएको नयाँ गीत सार्वजनिक भएको छ । यसमा पनि फरक प्रयोग गर्न उनी चुकेका छैनन् । तर, यसपाली गीतमा भन्दा उनको सिर्जनसिलता भिडियोमा बढी पोखिएको छ ।

‘फुटेका चुरा’ बोलको गीत बुधबार यूट्यूबमा अपलोड भएको हो । सपुतका अघिल्ला भिडियोजस्तै यो पनि नम्बर एक ट्रेन्डिङतर्फ लम्किसकेको छ । २० घन्टाभित्र ३ लाख भ्यूज बटुलेको गीतमा प्रतिक्रियाको पनि ओइरो छ । अहिलेसम्म आएका चार हजार प्रतिक्रियामा अधिकांसले भिडियोको तारिफ गरेका छन् ।

यो गीतको भिडियो अहिलेसम्म नेपालमा बनेका भिडियोहरुमध्ये खर्चिलोभित्र पर्छ । गीतमा कोरस डान्सरहरु अत्यधिक संख्यामा प्रयोग गरिएको छ भने उनीहरुको भेषभुषा तथा सुटिङस्थलको साजसज्जामा पनि निकै मिहिनेत परेको छ । गीतमा लगानी अनिताले गरेकी हुन् । उनले भिडियोमा मन फुकाएर खर्च गरेकी छन् । सपुतसँग सहकार्य गर्न पाएर हौसिएकी उनले भिडियो मेकिङमा कुनै सम्झौता नगरेको बताउँछिन् ।

‘प्रकाश सपुत दाइले सुनाउनुभएको कन्सेप्टले म प्रभावित भएँ, त्यसै अनुसार हामीले भिडियोलाई स्तरीय बनाउने प्रयास गरेका छौं र दर्शकले दिनुभएको प्रतिक्रियाले हामीलाई उत्साहित बनाएको छ,’ उनले भनिन् ।

तर, यूट्यूवबाट गीतले लगानी उठाउन सक्छ त ? भन्ने प्रश्नमा अनिताले भनिन्, ‘त्यसमा कुनै शंका छैन ।’

गीतमा अभिनेत्री नम्रता श्रेष्ठ र नृत्यांगना कविता नेपाली फिचर भएका छन् । नम्रता रानीको भूमिकामा छिन् भने प्रकाश स्वयमले सेनापतिको भूमिका निभाएका छन् । उनले कवितासँग मज्जैले कम्मर मर्काएका छन् । संगीतमा मात्र नभएर प्रकाश नृत्यमा पनि प्रकाशको खुबी देखिएको छ ।

अनिताका अनुसार २४ घन्टाभन्दा बढी समय अनवरत काम गरेर गीतको सुटिङ सिध्याइएको थियो ।

‘बिहान ७ बजेदेखि सुटिङ थालेको भोलिपल्ट बिहान ८ बजे सकियो, रातभरि कोही पनि नसुति काम गरेका थियौं,’ उनले भनिन् ।

यो गीतको शब्द र संगीत प्रकाश सपुतको हो । गीतका शब्द र भिडियोका ‘थिम’ बीच खासै तालमेल छैन । गीत कर्णप्रिय छ, तर प्रकाश सपुतको स्तरमा चाहिँ यो औसत मात्रै हो । सपुत र अनिताको आवाजको केमेस्ट्री मिलेको छ । अनिता आफ्नो अघिल्ला गीतहरुमा भन्दा निखारिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment