Comments Add Comment

मुख्य आर्थिक परिसूचकको वर्तमान अवस्था

कुनै पनि देशको वर्तमान अवस्था कस्तो छ भनी निर्धारण गर्नका लागि विश्वव्यापी मान्यताअनुरुप केही आर्थिक परिसूचकहरु हुन्छन् । प्रमुख आर्थिक परिसूचकहरु र नेपालको वर्तमान आर्थिक स्थितिका सम्बन्धमा यहाँ चर्चा गर्न खोजिएको छ।

प्रमुख आर्थिक परिसूचकहरुमा कुल ग्राहस्थ उत्पादन, आर्थिक बृद्धिदर पूँजीबजार, रोजगारको अबस्था, उपभोक्ता मुल्य सूचांक, उत्पादक मुल्य सूचांक, ब्यापार संतुलन, ब्याजदर, मुद्रास्फीति दर, तलब तथा ज्याला दर, सोधनान्तर स्थिति, आयात, निर्यात, कूल विदेशी विनिमय संचिति, विप्रेषण, राजश्व परिचालन तथा खर्च, मुद्राप्रदाय, निक्षेप परिचालन तथा कर्जा प्रवाह, वैदेशिक ब्यापार, विनिमय दर, नगद माैज्दात, कुल आन्तरिक कर्जा, तरलता ब्यबस्थापन, अन्तर बैंक कारोबार, वित्तीय पहुँचआदि हुन्।

कोभिड-१९ का कारण सन् २०२० मा बिश्व अर्थतन्त्रमा करिब ५ प्रतिशतको गिरावटको आकलन गरिरहेको अबस्थामा चीन तथा जापानको अर्थतन्त्रमा आएको बृद्धिले चुनोति दिइरहेको छ। त्यस्तै गरि नेपालमा समेत कोभिड-१९ को प्रभाव जुन रुपमा आकलन गरिएको थियो त्यही रुपमा परिसकेको अवस्था छैन ।

मुख्यगरी विप्रेषण आयमा जुन किसिमको गिरावटको आकलन गरिएको थियो त्यो अवस्था आएको छैन तर यो अवस्था नै रहिरहन्छ भन्नु चाँहि अलिक हतार भने हुने देखिन्छ। बिश्वका करीब १५० भन्दा बढी देशमा संगठित तथा असंगठित रुपमा ५० लाख भन्दा बढी रहेका नेपालीहरु मध्ये करीव १०/१२ लाख नेपाली कोभिड-१९ का कारण स्वदेश फिर्तीको आकलन गरिएकोमा सरकारी तथ्यांक अनुसार कार्तिक मसान्त सम्ममा करिब १ लाख ५० हजार मात्र फिर्ता आएको तथ्यांक छ। विप्रेषण र आयातमा आधारित अर्थतन्त्र भएका कारण पनि अपेक्षित नकरात्मक प्रभाव नेपाली अर्थतन्त्रमा हालसम्म परेको पाईंदैन्।

कुल ग्राहस्थ उत्पादन: नेपालको कूल ग्राहस्थ उत्पादन सम्बन्धमा सरकारी र गैरसरकारी निकायहरुको फरक फरक तथ्यांक रहेपनि करीब ३८ खर्ब रहेको छ। कोभिड-१९ का कारण नेपालको कूल ग्राहस्थ उत्पादनमा पनि नकरात्मक प्रभाव परेको छ। तथापि अन्य मुलुकको तुलनामा नेपालमा कम प्रभाव परेको छ।

आर्थिक वृद्धिदर: आ व २०७७/७८ का लागि पेश गरेको बजेटमा नेपालको आर्थिक बृद्धिदर ७.५ प्रतिशतको लक्ष्य लिएकोमा कोभिड-१९ का कारण यो बृद्धिदरलाई समायोजन गरि करीब २.२८ प्रतिशतमा संकुजन हुने प्रक्षेपण गरीएको छ। तर लकडाउन खुलेपछिका आर्थिक क्रियाकलाप अवलोकन गर्दा पुँजीगत खर्च र नीजि क्षेत्रमा प्रवाहित कर्जा प्रवाह  बजेटमा उल्लेखित गरे जस्तै गर्न सकेको अबस्थामा आर्थिक बृद्धिदर ३ प्रतिशत भन्दा माथि हुने प्रक्षेपण पनि गर्न थालिएको छ ।

पुँजीबजार:बिश्वब्यापीरुपमा पूँजीबजारलाई त्यो देशको अर्थब्यबस्थाको ऐनाको रुपमा लिइन्छ। नेपालमा भने यस मान्यतामा एकवध्यता पाउन सकिदैन। हालै मात्र नेपालको पूँजीबजारको आकार कूल ग्राहस्थ उत्पादनको ६० प्रतिशत भन्दा बढी अर्थात रु २३ खर्ब भन्दा बढी भएको छ। बैंकको ब्याजदर, तरलता, कोभद-१९ का लागि खोपको हल्ला, अनलाइन कारोबार, अन्य क्षेत्रमा लगानीको वातावरण नहुन जस्ता कारणले हाल नेपालको पूँजीबजारको कारोबार र आकार बढीरहेको पाइन्छ।फलस्वरुप नेप्से परिसूचक १७०० बिन्दु पार गरिसकेको छ। तथापि नेपालको पूँजीबजारमा जोखिम भने कायमै देखिन्छ भने रियल सेक्टरलाई पूँजीबजारको नेटवर्कमा ल्याउन भने चुनोती रहेको छ। जसको कारण नेपालका उद्यमी तथा ब्यबसायीहरुमा रहेको संकुचित धारणा हो ।

रोजगारीको अवस्था:हाल नेपालको कूल जनसख्याको करीव २३ प्रतिशत जनसख्या आंशिक तथा पूर्ण बेरोजगार रहेको अनुमान गर्न सकिन्छ। झन कोभिद-१९ का कारण असंगठित क्षेत्रमा काम गर्न करीब १५ लाख नेपाली बेरोजगार भएका छन भने प्रधानमन्त्री रोजगार कार्यक्रमबाट यस आर्थिक बर्षमा करीव २ लाख नेपालीलाई कम्तिमा पनि १०० दिनको रोजगारको ग्यारेण्टीका साथ हालै मात्र स्थानीय निकायमा रु ३ अर्व निकासा गरिएको छ। यस आ. व. को असोज मसान्त सम्ममा यस कार्यक्रम अन्तर्गत स्थानीय निकायमा जम्मा सूचीकृतको सख्या ६ लाख ८२ हजार १ सय १५ जना विपन्न वर्गका रहेका छन्।

यस आ. व. मा विनियोजित रकम रु ११ अर्व ६० करोड रहेकोमा हाल सम्म ५६९ स्थानीय तहमा ५८ हजार २७ जनालाई सामुदायिक निर्माण आयोजना तथा मर्मत कार्यमा मात्र रोजगार दिइएको छ। बजेटको निकासा भने स्थानीय तहमा सूचीकृत बेरोजगारको आधारमा गरिएको छ। अझ महत्वपूर्ण पक्ष युवा तथा खेलकुद मंत्रालय अन्तर्गत रहेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको प्रभावकारी कार्वान्वयन रहेको छ जसको स्थापना प्रत्येक बर्ष ५० हजार बेरोजगार युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ गरिएको थियो। वर्तमान देशको अवस्थालाई मध्यनजर गर्दा बेरोजगार समस्यालाई कम आकलन गर्न सकिदैन।

मुद्रास्फीतिवार्षिक विन्दुगत आधारमा उपभोक्त्ता मूल्य सूचांक तथा उत्पादक मूल्य सूचांकमा आधारीत मुद्रास्फीति ४ प्रतिशत भन्दा बढी रहेको छ। देशको आर्थिक बृद्धिदर तथा निक्षेपको ब्याजदर भन्दा मुद्रास्फीति दर बढी हुनु राम्रो मानिदैन/हुँदैन।तर मुद्रास्फीति दर नियन्त्रण भित्र नै रहेको सरकारी निकायबाट आइरहेको छ।

तलब तथा ज्यालादर सूचचांक: यस आ. व. को पहिलो तीन महिनामा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचांक १.२० प्रतिशतले सामान्य बढेको छ। समीक्षा महिनामा तलब सूचांक ०.०१ प्रतिशत र ज्यालादर सूचांक १.५५ प्रतिशतले बढेको छ।

आयात/निर्यात: देशमा हाल निर्यातमा बृद्धिदरतथा एक आर्थिक बर्षमा करीव रु १ खर्व ५० अर्वको पेट्रोलियम पदार्थको आयात गरिदा पनि कूल आयातमा सामान्य रुपमा कमी आएको छ। जसको मुल कारण कोभिद-१९ हुन गएको छ, जुन कोभिद-१९ को सकारात्मक पक्ष हो। यो अवस्था विप्रेषण आयमा आधारीत अर्थतन्त्रलाई उत्पादनमा आधारित अर्थतन्त्रमा रुपान्तरण गर्ने सहि समय हो ।

विप्रेषण: सबैले अनुमान गरेको भन्दा ठिक विपरीत विप्रेषण आप्रवाह बढेको छ।गत आ. व. को समिक्षा अबधिमा विप्रेषण आप्रवाह घटेको थियो। विप्रेषण आप्रवाह बढ्नुको मुख्य कारण स्वदेश फर्कदा झिटी गुण्टा सहित सबै कारोबार फरफारक गरी आउनु र अमेरेकी मुद्राको मूल्यमा आएको बृद्धि हो। तर समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सख्या करीव ९९ प्रतिशतले घटेको छ त्यस्तै वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति  लिने नेपालीको सख्या यस अवधिमा ८६ प्रतिशतले घटेको छ जसका कारण निकट भविष्यमा विप्रेषण आप्रवाहमा कमी आउने निश्चित छ।

शोधनान्तर स्थिति: हाल देशको शोधनान्तर स्थिति सकारात्मक वा वचतमा रहेको छ। हाल देशको कुल विदेशी विनिमय संचिति उल्लेखनीय रुपमा बृद्धि भएको छ।

तरलताको अवस्था:चालू आ. व. को कार्तिक मसान्त सम्ममा पनि नेपालको बैंकिङ उद्योगमा रु २०० अर्ब भन्दा बढी तरलता रहेको छ। नेपाल राष्ट्र बैंकले समय समयमा तरलता प्रशोचन गर्दा समेत अधिक तरलता रहनु आर्थिक बृद्धिका लागि राम्रो पक्ष होइन्। कोभिद-१९ का कारण ब्यबसायी तथा उदोगपतिहरु थप ब्यापार बिस्तारका लागि अनिच्छुक हुनु, नेपाल राष्ट्र बैंकको अनुकुल मोद्रिक नीति-२०७७ तथा एकिकृत निर्देशिका -२०७७ पनि अधिक तरलताको कारक तत्व हुन्। कोभिद-१९ का कारण लगानीयोग्य पूँजीको अभाव हुन सक्ने आकलनका साथ तरलता बढाउन नेपाल राष्ट्र बैंकले जुन औजारहरुको प्रयोग गरेको छ यसको निरन्तरता आवश्यक देखिन्छ।

मौद्रिक स्थिति:चालू आ. व. को पहिलो चार महिनामा कुल आन्तरिक कर्जामा सामान्य बृद्धि देखिन्छ। नेपाल सरकारले आफुलाई आवश्यक पर्ने रकमको जोहो गर्नका लागि समेत आन्तरिक कर्जा  उपयोग गरेको छ। समिक्षा अबधिमा निक्षेप परिचालनमा बृद्धि देखिन्छ भने नीजि क्षेत्र तर्फको कर्जाको बृद्धिदर घटेको छ। यस परिस्थितिमा कोभिड महामारीका कारण उद्योगव्यवसाय शिथिल बनेको अवस्थामा ऋणीलाई कालोसूचीमा राख्ने, धितो लिलाम गर्ने जस्ता कार्य नगर्न नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय सस्थालाई निर्देशन नै दिएको अवस्थामा समेत बैंक तथा वित्तीय सस्थाहरुले सो कार्य गरिरहेको गुनासो आइरहेको छ।

चाडवाडको समय भर्खर सकिएको हुँदा नेपालको बैंकिङ क्षेत्रबाट अब भने कर्जाको माग बढ्ने अनुमान गर्न सकिन्छ।कोभिद-१९ का कारण विदुतीय भुक्त्तानी पूर्वाधारमा भएको विकास र विदुतीय भुक्त्तानी कारोबारका लागि गरिएको प्रोत्साहनको परिणामस्वरुप सर्वसाधरणले विदुतीय भुक्त्तानी उपरणको प्रयोग बढाउँदै कारोबारमा उल्लेखनीय बृद्धि भएको छ। यसै सन्दर्भमा सार्कफाइनान्स ग्रुप मिटिङमा  सार्कफाइनान्स अन्तर्गतका केन्द्रीय बैंकहरुले ‘डिजिटल कमन करेन्सी’ अवलम्बन गर्न सार्कफाइनान्स स्तरमा एक अध्ययन गर्नुपर्ने धारणा समेत नेपाल राष्ट्र बैकका गभर्नर श्री महाप्रसाद अधिकारीले राख्नुभएको छ।

पुनर्कर्जा तथा सहुलियतपूर्ण कर्जा:कोभिड-१९ को कारण नेपालको उद्योग ब्यबसायमा परेको नकरात्मक प्रभावका कारण आफ्नो ब्यापार ब्यबसाय बन्द नै गर्न नपरोस भनि नेपाल राष्ट्र बैंकले नेपाल सरकार अर्थ मन्त्रालयसँगको समन्वयमा बार्षिक बजेट २०७७/७८ को लक्ष्य बमोजिम नेपाल राष्ट्र बैंकले बिभिन्न निर्देशिका तथा मोद्रिक नीति २०७७/७८ बाट रु २०० अर्वको पुनर्कर्जा तथा रु ५० अर्वको सहुलियतपूर्ण कर्जा सुविधा घोषणा गरि सो कार्वान्वयनको अवस्थामा रहेको छ।

यसैगरी घोषणाको ६ महिना पछि सहुलियत कर्जा कार्यविधि-२०७७ पनि बनिसकेको छ भने आगामी २ महिना भित्र यसको कार्वान्वयनमा जान सक्ने देखिन्छ। जनस्तरबाट समेत निकै सकरात्मक रुपमा स्वीकार गरिएको पुनर्कर्जा तथा सहुलियतपूर्ण कर्जा कार्वान्वयनमा केही ढिलो भएको गुनासो आइसकेको छ। विगतमा यस्ता किसिमका सुविधाहरु केही ठुलाबढाले मात्र उपयोग गरेका कारण निकै सावधानीपूर्वक यसको कार्वान्वयन गरिनु पर्ने देखिन्छ।

ब्याजदर:यस आर्थिक बर्षको प्रथम चार महिनामा नेपालको बैंकिङ उद्योगमा ब्याज दर घट्दो क्रममा रहेको छ। हाल बैंक तथा वित्तीय संस्थाबाट एकल बिन्दुमा कर्जा तथा सापटको सुविधा रहेको अवस्था छ। कोभिद-१९ का कारण लकडाउनको अबस्था, लकडाउन पछि पनि उद्योग/ब्यापार पूर्णरुपमा संचालन हुन नसक्नु, अधिक तरलता, विप्रेषण आयमा अनपेक्षित बृदि,  अनिश्चित अन्तर्राष्ट्रिय वातावरण आदिका कारण इतिहासकै न्यून बिन्दुमा ब्याजदर रहेको छ।

जसका कारण १२/१५ लाख ऋणीहरु लाभान्वित भएका छन भने करीब १ करोड ५० लाख निक्षेपकर्ता मारमा परेका छन्। जसका कारण मुद्रास्फिती दर भन्दा कम वचतमा ब्याजदर रहि उल्टो गतिमा हाम्रो अर्थतन्त्र अगाडी गइरहेको छ जसमा तुरून्त सुधारका लागि पाइला चाल्नुपर्ने देखिन्छ।

वित्तीय पहुँच: वित्तीय पहुँचका हिसाबले नेपालले पछिल्लो पाँच बर्षमाठूलो फडको मारेको पाइन्छ। एक अध्ययन अनुसार नेपालमा ६० प्रतिशत नेपालीमा वित्तीय पहुँच छ जुन सार्क राष्ट्रमा मात्र नभई बिश्वमा नै राम्रो सूचांकका रुपमा लिने गरिन्छ।

कोभिड-१९ संक्रमणका कारण अर्थतन्त्र प्रभावित भएको छ। महामारीको असर वाह्य ब्यापार, सरकारको पूँजीगत खर्च, बैकिङ क्षेत्रको कर्जा लगानी र पर्यटन उद्योगमा बढी देखिएको छ। साथै आर्थिक गतिविधि प्रभावित हुँदा औद्योगिक कच्चा पदार्थ, ईन्धन, पूँजीगत वस्तु, यातायातका साधन तथा पार्ट्स लगायतका वस्तुहरुको आयात अघिल्लो बर्षको तुलनामा घटेको छ।

(अधिकारी बैंकिङ विज्ञ तथा त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापकहुन् ।)

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment