Comments Add Comment

अतिकम विकसित मुलुकबाट नेपालको स्तरोन्नती हुन कोभिड बाधक

१६ मंसिर, काठमाडौं । सन् २०२२ सम्म अतिकम विकसित मुलुकबाट स्तरोन्नती हुने नेपालको राष्ट्रिय लक्ष्य छ । नेपाललाई यो मौका २०१८ मै आएको थियो तर प्रतिव्यक्ति आय, मानव सम्पत्ति र आर्थिक जोखिमसम्बन्धी सुूचकांकमध्ये प्रतिव्यक्ति आय तोकिए अनुसार नपुग्दा २०२२ सम्ममा विकासशील मुलुकमा स्तरोन्नती हुने लक्ष्य तय गरिएको थियो । यद्यपि, कोरोना महामारीका कारण विकासशील मुलुकमा स्तरोन्नती हुने राष्ट्रिय लक्ष्यसमेत प्रभावित हुने भएको छ ।

राष्ट्रिय योजना आयोगको अध्ययन प्रतिवेदनले २०२२ मा पनि स्तरोन्नतीका मापदण्ड पूरा नहुने देखाएको छ । कोरोना भाइरसको महामारी र यसको नियन्त्रणका लागि लिइएका उपायहरुकै कारण लक्ष्य पूरा नहुने सम्भावना बढेको आयोगको भनाइ छ ।

आयोगले यो प्रतिवेदन सार्वजनिक भने गरेको छैन । कोरोना संक्रमण कायमै रहेकाले अधुरो प्रतिवेदन सार्वजनिक नगरी अद्यावधिक गर्न लागिएको आयोगका एक अधिकारीले बताए ।

अतिकम विकसित मुलुकबाट विकासशिलमा स्तरोन्नती प्रतिव्यक्ति आय १२३० भन्दा माथि पुग्नुपर्छ । त्यस्तै, मानव विकास सूचकांक ६६ भन्दा माथि र आर्थिक जोखिम सूचकांक : ३२ भन्दा तल हुनपर्ने मापदण्ड छ ।

योजना आयोगका अनुसार २०१७ मा नेपालको प्रतिव्यक्ति आय ८७७ डलर, मानव विकास सूचकांक ६८.७ र आर्थिक जोखिम सम्बन्धी सूचकांक २६ थियो । यस आधारमा नेपालले कम्तिमा दुई क्षेत्रमा गरेको प्रगतिका आधारमा २०१८ मै स्तरोन्नतीको मौका थियो । तर, सरकारले प्रतिव्यक्ति आय नबढेको भन्दै तत्काल स्तरोन्नती नहुने निर्णय लिएको थियो । २०२२ सम्ममा प्रतिव्यक्ति आयकै कारण नेपालले लक्ष्य फेला पार्न नसक्ने अनुमान आयोगले गरेको छ ।

आयोग स्रोतबाट प्राप्त आंकडा अनुसार आर्थिक वर्ष २०७५/०७६ मा प्रतिव्यक्ति आय १०३९ डलर थियो । आव ०७६/७७ मा यसमा सामान्य वृद्धि भएर १०६७ पुगेको देखिन्छ । कोरोना महामारी पछि १५ लाख नेपालीले देशविदेशमा रोजगारी गुमाएको अनुमान छ । यसले गर्दा चालु आवमा प्रतिव्यक्ति आयमा सुधार देखिने छैन ।

नेपालले ११ चैतबाट देशव्यापी लकडाउन सुरु गरेपछि असारसम्म अर्थतन्त्रका गतिविधि ठप्प भयो । अहिले पनि ठूलो आर्थिक कारोबार हुने कतिपय क्षेत्र बन्द छन् । यसले समग्र अर्थतन्त्रमा गहिरो प्रभाव पर्ने देखिएको छ । मूल्यमा चाप पर्ने, कुल गार्हस्थ उत्पादन कम हुने, लाखौंले रोजगारी गुमाउने अवस्था अद्यापी कायम छ ।

सन् २०३० सम्म मध्यम र २०४३ सम्म उच्च आय भएको मुलुकमा स्तरोन्नती हुने नेपालको राष्ट्रिय लक्ष्य छ । उच्च आय भएको मुलुक बन्न प्रतिव्यक्ति आय १२ हजार २३६ डलर हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment