Comments Add Comment

जन्ती जान हिँडेका युवकको शव नहरमा भेटियो

१७ मंसिर, वीरगञ्ज । पर्साको धोबिनी गाउँपालिकामा एक युवकको शव फेला परेको छ । कालिकामाई गाउँपालिका–१ तीनडोबिया टोलका २६ वर्षीय एमामुल हुसैनको शव फेला परेको हो ।

नहरमा शव देखेपछि मंगलबार बिहान साढे ८ बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । धोबिनी गाउँपालिका–२ भिखमपुरस्थित नहरमा हुसैनको शव फेला परेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

तीन दिनअघि धोबिनी गाउँपालिका–१ भिखमपुर जन्ती जान भनी साथीसँगै निस्केका उनी बेहुलीको घरमा नपुगेको आफन्तहरुले बताएका छन् । उनी वेपत्ता भएपछि आफन्तले खोजी शुरु गरेका थिए ।

सँगै जन्ती जान निस्केका साथीहरुले नै उनको हत्या गरेको हुन सक्ने आशंका मृतकका आफन्तले गरेका छन् । प्रहरीले भने पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने जनाएको छ ।

‘घोप्टो परेको अवस्थामा नहरमा शव भेटिएको छ, मृतकको दाहिने आँखा निकालिएको रहेछ’ उनले भने, ‘घटनास्थल जाँच मुचुल्कापछि शव पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाएका छौं । घटनाबारे अनुसन्धान भइरहेको छ ।’

पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment