Comments Add Comment

सेभियाको पोष्टमा जिरुडको चार गोल

१८ मंसिरऽ काठमाडौं । ओलिभर जिरुडले चार गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग अन्तगर्त समूह ई को खेलमा लण्डन क्लब चेल्सीले स्पानिस क्लब सेभियालाई ४-० ले पराजित गरेको छ ।

गएराती भएको खेलमा चेल्सीले सेभियाको मैदानमा शानदार जित हात पारेको हो । खेलको आठौं मिनेटमै जिरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । जिरुडले तीन दोस्रो हाफमा गरे । ५४औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका जिरुडले ७४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । ८३औं मिनेटमा जिरुडले पेनाल्टीमार्फत चौथो गोल गरे ।

यसअघि नै अन्तिम १६ मा स्थान पक्का गरिसकेकोले चेल्सीले आइतबार टोटनहमविरुद्ध खेलेको टिममा ९ खेलाडी परिवर्तन गरेको थियो । जितपछि ५ खेलबाट १३ अंकसहित चेल्सी शीर्ष स्थानमा छ भने समान खेलबाट १० अंकसहित सेभिया दोस्रो स्थानमा छ ।

जिरुडको ह्याट्रिक १४ वर्षपछि चेल्सीका कुनैपनि खेलाडी च्याम्पियन्स लिगमा गरेको पहिलो ह्याट्रिक हो । पछिल्लो पटक सन् २००६ मा डिडिएर ड्रोग्वाले चेल्सीको लागि ह्याट्रिक गरेका थिए । यस्तै जिरुड सन् १९६५ पछि च्याम्पियन्स लिग/युरोपियन कपमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडी बनेका छन् । जिरुडले ३४ वर्ष ६३ दिन हुँदा ह्याट्रिक गरेका हुन् ।

यसअघि सन् १९६५ मा फेरेन्स पुस्काले ३८ वर्ष १७३ दिन हुँदा रियल मड्रिडका लागि फेयेनुर्ड विरुद्ध ह्याट्रिक गरेका थिए ।

यस्तै माइकल ओवेनपछि जिरुड दुई इंग्लिस क्लबका लागि च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने । ओवेनले लिभरपुल र म्यानचेष्टर युनाइटेडका लागि ह्याट्रिक गरेका थिए ।

यस्तै यसै समूहमा अर्को खेलमा एफसी क्रास्नोडरले रेन्सलाई १-० ले पराजित गर्दै पहिलो जित हात पारेको छ । जितपछि फ्रास्नोडर ४ अंकसहित तेस्रो स्थानमा छ भने १ अंक रहेको रेन्स अन्तिम स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment