Comments Add Comment

एसियन गेम्स आयोजनामा कतारले माग्यो नेपालको समर्थन

१८ मंसिर, काठमाडौं । सन् २०३० मा हुने एसियन गेम्स आयोजनाको दाबेदारीमा रहेको कतारले नेपाल ओलम्पिक कमिटीसँग सहयोगका लागि आग्रह गरेको छ ।

कतार ओलम्पिक कमिटीको प्रतिनिधिमण्डलले बिहीबार नेपाल ओलम्पिक कमिटीसँग सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबेदारीका लागि बिहीबार औपचारिक रूपमा सहयोग र समर्थनका लागि आग्रह गरेको हो ।

नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थित कार्यालयमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसहितको टोलीसँग कतार ओलम्पिक कमिटीका महासचिव रसिद जे ए अल्बुनइन नेतृत्वको टोलीले भेट गर्‍यो ।

टोलीले सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि कतारले प्रस्तुत गरेको दावेदारीको विशेष कार्यक्रम पनि प्रस्तुत गरेको छ । कार्यक्रममा अध्यक्ष श्रेष्ठले कतारी टोलीलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै सन् २०३० को एसियाली खेलकुद आयोजनाको कतारी दावेदारीको सफलताको कामना पनि गरे ।

‘कतारले यसअघि पनि सन् २००६ मा एसियाली खेलकुदको सफलतापूर्वक आयोजना गरिसकेको छ । खेलकुद विकासमा कतार र नेपाल आपसी सहयोगका लागि वचनबद्ध रहेका छन्’ अध्यक्ष श्रेष्ठले अगाडि भने, ‘नेपाल र कतारको दुई पक्षीय सम्बन्ध पनि सुमधुर रहेको छ र यसले हामीबीचको खेल सम्बन्ध बलियो बनाउन मद्दत मिलेको छ ।’

कार्यक्रममा कतारी टोलीका प्रमुख अल्बुनइनले नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै आफ्नो देशको दावेदारीमा नेपालको सहयोग र समर्थनका लागि अनुरोध गरे ।

कतारी टोलीमा एसियाली एथलेटिक्स संघका अध्यक्ष डहलान जमन अल हमद र एसियाली भारोत्तोलन संघका अध्यक्ष मोहम्मद युसेफ अल मन पनि थिए ।

कतारसँगै साउदी अरबले पनि २०३० को एसियन गेम्स आयोजनाको लागि दाबेदारी पेस गरेको छ । यही डिसेम्बर १६ मा ओमानको मस्कटमा हुने ओलम्पिक काउन्सिल अफ एसियाको ३९औं साधारण सभाले २०३० को एसियन गेम्स आयोजक छनोट गर्नेछ ।

भोटिङमार्फत आयोजक छनोट गरिनेछ । जसमा एसियाका ४५ वटा ओलम्पिक कमिटीले भोट गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment