Comments Add Comment

४ महिनामा ऊर्जा र सिँचाइ आयोजनाको प्रगति ७७ प्रतिशत

१९ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षमा ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय र अन्तर्गतका निकायबाट निर्माणाधीन विकास आयोजनाहरु समीक्षा भएको छ । यस्ता आयोजनाको प्रगति सन्तोषजनक देखिएको मन्त्रालयले बताएको छ ।

मन्त्रालयको आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति -एम्ड्याक) बैठकमा विभिन्न विभाग तथा कम्पनीले प्रतिवेदनहरु प्रस्तुत गरे । उनीहरुले विकास आयोजनाका काममा सन्तोषजनक प्रगति औंल्याएका छन् ।

शुक्रबार मन्त्रालयमा आयोजित बैठकमा ऊर्जातर्फका ९, जलश्रोत तथा सिँचाइतर्फका ४ निकायका प्रमुख तथा प्रतिनिधिले योजनाको प्रगतिबारे जानकारी गराए ।

जल तथा ऊर्जा आयोगको सचिवालय, विद्युत विकास विभाग, विद्युत विकास दशक कार्यायोजना आयोजना, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल विद्युत प्राधिकरण, जलविद्युत लगानी तथा विकास कम्पनी, विद्युत उत्पादन कम्पनी लिमिटेड, राष्ट्रि्रय प्रसारण गि्रड कम्पनी, जलश्रोत तथा सिँचाइ विभाग, जल तथा मौसम विज्ञान विभाग, जलश्रोत  अनुसन्धान तथा विकास केन्द्र, भूमिगत जलश्रोत विकास समिति र जल तथा ऊर्जा आयोगको सचिवालयले प्रगति विवरण पेस गरेका हुन् ।

ऊर्जातर्फ पछिल्लो चार महिनामा ७८ प्रतिशत वित्तिय र ७७.८८ प्रतिशत भौतिक प्रगति हासिल भएको मन्त्रालयले बताएको छ । यस्तै सिँचाइतर्फको वित्तिय प्रगति ४२. ६६ र भौतिक प्रगति ७३. ६४ छ ।

मन्त्रालयको समष्टिगत वित्तिय प्रगति ६८.७३ प्रतिशत र भौतिक प्रगति ७६. ७४ प्रतशित छ ।

मन्त्रालयको आर्थिक वर्ष २०७७/७८ का लागि कूल बजेट ९९ अर्ब २९ करोड ४८ लाखमध्ये पहिलो चौमासिकका लागि २० अर्ब ४२ करोड २६ लाख विनियोजन गरिएको थियो । जसमा १४ अर्ब ३ करोड ७४ लाख रुपैयाँ खर्च भएको छ । यो कूल चौमासिक बजेटको ६८.७३ प्रतिशत हो ।

ऊर्जातर्फका ४० मध्ये ११ आयोजनाको प्रगति ८० देखि १ सय प्रतिशतसम्म देखिएको छ । यस्तै १२ वटा आयोजनाको प्रगति ५० देखि ८० प्रतशितसम्म छ । यस्तै ५० प्रतिशत वा सोभन्दा कम प्रगति भएका आयोजनाको संख्या १७ छ ।

यस्तै कूल ३३ आयोजना रहेका सिँचाइतर्फका १९ आयोजनाको प्रगति ८० देखि १ सय प्रतिशत छ । ५० देखि ८० प्रतिशतसम्म प्रगति भएका आयोजनाको संख्या ७ छ । यस्तै ७ वटा आयोजनाको प्रगति भने ५० प्रतिशतभन्दा कम छ ।

अवरोध भए मलाई भन्नूस्: मन्त्री पुन

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले कोभिड-१९ महामारीको समयमा समेत मन्त्रालयको प्रगति सन्तोषजनक देखिएको भन्दै खुसी व्यक्त गरे ।

उनले प्रथम चौमासिकमा देखिएको कमजोरी आगामी चौमासिकमा नदोहोरिने गरी काम गर्न मातहतका सबैलाई निर्देशन दिए ।

‘कोरोना महामारीको संवेदनशील अवस्थामा समेत ७८ प्रतिशत वित्तिय र झण्डै ७८ प्रतिशत नै भौतिक प्रगति हुनु खुसीको कुरा हो’, मन्त्री पुनले भने, ‘आगामी दिनहरुमा मन्त्री, सचिव, विभागीय प्रमुख सबै मिलेर यो भन्दा राम्रो प्रगति देखिने गरी काम गरौं ।’

मन्त्री पुनले विकास निर्माणका काम गर्दा भरसक स्थानीय र प्रभावितलाई लाभ हुने मिल्ने गरी काम गर्न निर्देशन दिए ।

मुआब्जा वितरण अगावै ठेक्काको सूचना निकाल्ने, शिलान्यास गरिहाल्ने र कोठाभित्रै बसेर आयोजना बनाउने काम अब बन्द हुनुपर्ने उनको भनाइ थियो ।

‘विगतमा ईआईए नगरी, जमिनको मुआब्जा टुंगो नलगाई ठेक्का दिने, शिलान्यास गरिहाल्ने र कोठामा बसेर योजना बनाउने गर्दा धेरै आयोजना अघि बढ्न सकेनन्’, मन्त्री पुनले भने भने ।

उनले अघि भने, ‘तपाईं कर्मचारीको जागिर छ । बाबुबाजेको खेतबारी गए पनि मतलब हुँदैन । तर, २/४ गरा खेत भएका किसानको भएको जमिन सबै विकास आयोजनाले खाँदा ऊ भोकै पर्ने अवस्था हुन्छ, अनि ढुंगा हान्न आउन बाध्य हुन्छ । त्यसैले जमिन गएपनि विकास आयोजनाको लाभ किसानले पनि पाउने अवस्थामा कसैको अवरोध हुँदैन ।’

मन्त्री पुनले विकास आयोजनाको काममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र प्रभावित जनताका कुरा अधिकतम सुन्ने र समस्या सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

तर, समस्याप्रति गम्भीर भएर समाधान दिँदादिँदै नियतबस अवरोध भए बल प्रयोग गरेरै भए पनि काम अगाडि बढाउनुपर्ने उनले स्पष्ट गरे ।

उनले विकासका काममा अवरोध भए समयमै आफूलाई खबर गर्न आग्रह गर्दै समाधान निकाल्न लागिपर्ने बताए ।

‘कसैले विकासका काममा अवरोध सिर्जना गरेको अवस्थामा मलाई भन्नूस्’, मन्त्री पुनले भन्नुभयो, ‘कोसँग कुरा गरेर समस्या समाधान गर्नुपर्ने हो म आफैं गएर समाधान गर्छु ।’

वर्तमान सरकार विगतको जस्तो संक्रमणकालीन नभएकाले विकासका काममा कुनै अप्ठेरो महसुस गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ थियो ।

‘यो विगतको जस्तो संक्रमणकालीन सरकार होइन, तीन वर्षदेखि प्रधानमन्त्री, अधिकांश मन्त्री र सचिवहरु हामी एउटै छौं’, उनले भने, ‘विगतका समस्या तेस्र्याएर भाग्ने छुट कसैलाई छैन ।’

कार्यक्रममा राष्ट्रि्रय योजना आयोगका ऊर्जा र वन मन्त्रालय हेर्ने सदस्य डा. कृष्णप्रसाद ओलीले कोभिड-१९ महामारीमा समेत मन्त्रालयले काममा राम्रो प्रगति गरेकामा प्रशंसा गरे । ऊर्जा सचिव दिनेशकुमार घिमिरे, जलश्रोत सचिव मधुसूदन अधिकारी र जल तथा ऊर्जा आयोजका सचिव सागरकुमार राईले विकास आयोजनामा विगतमा देखिने गरेका समस्या नदोहोरिने गरी काम गर्न निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment