Comments Add Comment

टीयू मैदानमा क्रिकेट खेलाडीको म्याच प्राक्टिस

Photo Credit : क्यानको फेसबुकबाट

२० मंसिर, काठमाडौं । लामो समयपछि खेलाडीले पिचमा बलिङ र ब्याटिङ गर्दा कस्तो अनुभव होला ? ब्याटबाट निस्कने छक्का, चौका अनि बलरले लिने विकेट ।

झण्डै ९ महिनापछि मैदान फर्केर आधिकारिक रुपमा प्रशिक्षण गरेका नेपाली क्रिकेटरहरुले कीर्तिपुरस्थिती टीयू मैदानमा क्याम्पकै खेलाडीहरुको टीम बनाएर म्याच खेलेका छन् ।

नेपाल क्रिकेट संघ क्यानले दुई चरणमा गरेर कुल २७ खेलाडीलाई क्याम्पमा बोलाएको थियो । जसमा वसन्त रेग्मी र शरद भेषावकर बाहेक बाँकी खेलाडी अहिले क्याम्पमा उपस्थित भएर ट्रेनिङ गरिरहेका छन् ।

टीयू मैदानमा शुक्रबार र शनिबार भने खेलाडीले टु डे फर्म्याटमा म्याच प्राक्टिस गरेका छन् । क्याम्पमै भएका खेलाडीहरुको दुई टिम बनाएर म्याच प्राक्टिस गरेका हुन् ।

राष्ट्रिय टिमका व्यवस्थापक तथा फिजियो बिक्रम न्यौपानेका अनुसार खेलाडीहरुलाई टी२० फर्म्याटमा भन्दा पनि डेज फर्म्याटका लागि खेलाउन केन्द्रित गरिएको बताए ।

यस्तै क्याम्पमा रहेका अनुभवी र पुराना खेलाडीले जुनियर र नयाँ खेलाडीहरु सिकाउने मोटिभेट गर्ने काम समेत हुने न्यौपानेले बताए । यही मंसिर ११ देखि क्यानले सुरु गरेको क्याम्प राम्रो भइरहेको उनले बताए ।

जगत टमाटाको प्रशिक्षणमा खेलाडीहरुले प्रशिक्षण गरिरहेका छन् । यस्तै टमाटालाई राष्ट्रिय टिमका पूर्व विकेटकिपर तथा नेपाल पुलिसका प्रशिक्षक मनोज कटुवालले प्रशिक्षणमा सहयोग गरिरहेका छन् ।

खेलाडीले सुरुमा स्ट्रेचिङ गर्ने फिटनेस जिम लगायत ट्रेनिङ गरेपछि क्रिकेटको ट्रेनिङ सुरु गरेका हुन् ।

गत मार्चमा थाइल्याण्डमा भएको एसीसी टी२० इस्टर्न रिजन क्रिकेटपछि नेपाली क्रिकेट खेलाडीले आधिकारिक रुपमा पहिलो पटक क्लोज क्याम्पमा रहेर ट्रेनिङ गरिरहेका हुन् ।

क्यानले पुष दोस्रो साता प्रधानमन्त्री कप महिला र पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने योजनाले पनि क्रिकेट खेलाडीहरु अहिले उत्साहित छन् । क्यानसँग आवद्ध जिल्ला संघ र सबै प्रादेशिक क्रिकेट संघहरु अहिले जिल्ला छनोटदेखि प्रदेश छनोटसम्म लागिरहेका छन् । यसैबीच बागमती प्रदेश क्रिकेट संघले यही मंसिर २७ देखि ३० गतेसम्म चितवनमा गौतमबुद्धकप क्रिकेट आयोजना गर्दैछ । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको छेउमा रहेको नमुना क्रिकेट मैदानमा हुने चार दिने प्रतियोगितामा राष्ट्रिय टिमको क्याम्पमा रहेका सबै खेलाडीहरु खेल्न जाँदैछन् ।

क्याम्पमा रहेका खेलाडी मंसिर २५ वा २६ गते चितवन जाने विषयमा छलफल भइरहेको व्यवस्थापक न्यौपानेले जानकारी दिए ।

विश्वभर फैलिएको कोरोनाभाइरस महामारीले गर्दा विश्व खेलकुद प्रभावित हुँदा नेपाली खेलकुद पनि ६ महिना भन्दा बढी समय ठप्प नै बन्यो । अखिल नेपाल फुटबल संघ एन्फाले गत कात्तिकमा सरकरबाट अनुमति लिएर दशरथ रंगशालमा प्रशिक्षण गरेपछि नेपाली खेलकुद चलायमानको संकेत देखिएको थियो । फुटबल टिमले बंगलादेश गएर त्यहाँको राष्ट्रिय टिमसँग दुई मैत्रीपूर्ण खेल खेलेर आएको हो ।

सन् २०२१ मा हुने फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटका खेलहरुलाई मध्यनजर गर्दै यही मंसिर अन्तिम साता एन्फाले फुटबल टिमको क्लोज क्याम्प फेरि राख्दैछ । यस्तै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरुको लागि पनि एन्फाले पहल गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

ऊ… ऊ… सगरमाथा !

Advertisment