
२० मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन स्थायी कमिटीमा पेश हुने भएको छ ।
नेकपा सचिवालयको शनिबार बसेको बैठकले पूर्वनिर्धारित समय भोलि आइतबार १ बजे स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने निर्णय गरेको छ । ‘पार्टीको संकट र त्यसको निवारणबारे स्थायी कमिटीमा नै छलफल गर्छौं’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘यसका लागि अहिलेसम्म सचिवालयमा पेश भएका प्रस्तावहरुमाथि सार्थक छलफल गरी निष्कर्ष निकालिनेछ ।’
सचिवालयको बैठक अगाडि दुई अध्यक्ष ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो ।
स्थायी कमिटी सदस्यहरुलाई बैठकको सूचना
यसैबीच नेकपाका स्थायी कमिटी सदस्यहरुलाई भोलि आइतबार बस्ने बैठकबारे औपचारिक जानकारी पठाइएको छ । शनिबार साँझ केन्द्रीय कार्यालयबाट स्थायी कमिटी सदस्यहरुलाई बैठकबारे जानकारी दिइएको हो ।
केन्द्रीय कार्यालयबाट बैठक बस्नेबारे औपचारिक जानकारी आएको स्थायी कमिटी सदस्य एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।
यसअघि मंसिर ३ को सचिवालय बैठकले मंसिर १८ मा स्थायी कमिटी बैठक बस्ने निर्णय गरेको थियो । तर मंसिर १७ सम्म पनि स्थायी कमिटी सदस्यहरुलाई औपचारिक जानकारी दिइएको थिएन भने बैठक बस्ने विषयमै नेताहरुबीच सहमति जुट्न नसकेपछि स्थगित भएको थियो ।
प्रतिक्रिया 4