Comments Add Comment

बंगलादेशमा शरणार्थी व्यवस्थापनः न सहज, न जस

२० मंसिर, काठमाडौं । शरणार्थी व्यवस्थापन बंगलादेशका लागि टाउको दुखाईको विषय बनेको छ ।

पछिल्ला बर्षहरुमा म्यानमारबाट ठूलो संख्यामा रोहिंगा शरणार्थीहरु बंगलादेश आएका छन् तर उनीहरुलाई फर्काउने सम्बन्धमा केही प्रगति भएको छैन ।

बंगलादेशको कोक्स बजारमा रहेको क्याम्पमा ठूलो संख्यामा रहेका शरणार्थीका कारण विभिन्न खाले समस्या देखिन थालेका छन् । उक्त क्याम्पमा हिंसा, लागु औषध र मानव तस्करी लगायतका घटनाहरु बढेसँगै बंगलादेश सरकारले नयाँ योजना ल्याएको छ ।

बंगलादेशको कोक्स बजारको शरणार्थी शिविरमा अत्यधिक भिड बढेसँगै बंगालको खाडी नजिकैको एक टापुमा शरणार्थीलाई सार्न थालिएको छ । उक्त टापुमा एक लाखभन्दा धेरै शरणार्थीहरु सार्ने तयारीमा बंगलादेशको सरकार छ ।

भसन चार नाम गरेको उक्त टापुमा ६ महिनादेखि नै बंगलादेशले शरणार्थीहरुलाई राख्न थालिसकेको छ । ६ महिनाअघि बंगालको खाडीबाट उद्धार गरिएका शरणार्थीहरुलाई उक्त टापुमा राख्न थालिएको थियो । अहिले उक्त टापुमा कोक्स बजारबाट पनि शरणार्थीहरु लग्ने क्रम जारी छ ।
शुक्रबार १६ सयभन्दा धेरै शरणार्थीहरु भसन चार टापुका लागि कोक्स बजारबाट प्रस्थान गरेका छन् । बंगलादेशले भिडभाडयुक्त, कोक्स बजारबाट उक्त टापुमा जान चाहने शरणार्थीहरुलाई मात्र सारिने बताउँदै आएको छ ।

कस्तो छ नयाँ टापु ?

भसन चार टापु शरणार्थीहरुको बसोबासका लागि निकै उपयुक्त रहेको बंगलादेश सरकारले दाबी गर्दै आएको छ । पछिल्लो तीन वर्षमा सरकारले उक्त टापुमा बसोबासका लागि एक सानो सहर बनाएको छ ।
जसका लागि सरकारले ३५ करोड डलर खर्च गरेको छ । यो टापुमा एक लाखभन्दा धेरै शरणार्थीलाई राख्दा कोक्स बजार शरणार्थी क्याम्पको तनाव कम हुने बंगलादेशको विश्वास छ ।

बंगलादेशको सरकारले उक्त टापुमा बनाएको शरणार्थीहरुको घरहरु देख्नमा निकै आकर्ष देखिन्छन् । सबै संरचनाहरु पर्यावरणमैत्री रहेको सरकारले बताएको छ । साथै सरकारले उक्त टापुमा रोहिंग्याका लागि विद्यालयको पनि निर्माण गरेको बंगलादेशको दाबी छ ।

अलजाजिराका अनुसार भसन चार टापुमा शरणार्थीहरुका लागि बसोबासको अवस्था निकै राम्रो छ । टापुमा २० बेडका दुई अस्पतालहरु र एक प्रहरी चौकी पनि राखिएको छ । उक्त टापुमा १२० प्लटहरु छन्, प्रत्येक प्लटमा १२ भवनहरु छन् ।

एउटा भवनमा ६४ जना मानिसहरु बस्न सक्ने बंगलादेश सरकारले बताएको छ । सरकारी अधिकारीहरुका अनुसार उक्त भवनहरुमा बत्ती, पंखा र पावर प्वइन्टको व्यवस्था गरिएको छ । एउटा भवनमा चारजनाको १६ परिवार बस्न सक्छन् । एउटा कोठा चारजना बस्न सकिने किसिमको छ । प्रत्येक भवनमा ६ ओटा ट्वाइलेट र आठओटा बाथरुमको व्यवस्था गरिएको छ । भवनमा दुई ठूला किचन छ भने १० ओटा ग्यासचुलो छन् । ठूलो सौर्य प्यानल राखिएको छ ।

बस्ती हुने क्षेत्रमा १२ देखि २२ फिटका ठूला पक्की सडक निर्माण गरिएको छ । ठूलो समुद्री आँधी आए त्यसबाट बच्नका लागि पनि उपयुक्त हुने भवनको व्यवस्था गरिएको छ ।

विवाद के छ ?

यद्यपि बंगलादेशको यो कदम विवादरहित भने छैन । भसन चार टापु बंगलादेशको मुख्य भागभन्दा ६० किलोमिटर टाढा छ । त्यसैले केही समस्या परेको समयमा बंगलादेशबाट आवश्यक सहयोग यहाँ पुर्‍याउन निकै कठिन हुने मानव अधिकारीवादीहरुले बताउँदै आएका छन् ।

यो टापु केवल २० वर्षअघि देखिएको हो । नत्र टापु भएको स्थानमा समुद्र नै थियो र अहिले पनि यो टापु समुद्री सतहभन्दा केवल दुई मिटर (६ फिट) मात्र अग्लो छ । त्यसैले पानीको सतह केही बढ्नेबित्तिकै यो टापुमा बाढीको जोखिम बढी हुन्छ । संयुक्त राष्ट्रसंघले पनि यस विषयमा चासो व्यक्त गर्दै आएको छ ।

त्यस्तै यो टापुमा बंगलादेशले शरणार्थीहरुलाई विभिन्न डर तथा प्रलोभन देखाएर उक्त टापुमा सार्न खोजेको आरोप संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्ले लगाउँदै आएको छ । त्यसको भ्रम चिर्न बंगलादेश सरकारले विश्वका प्रमुख सञ्चारमाध्यमहरुलाई भसन चारको शरणार्थी बसोबास स्थल भ्रमणसमेत गराएको थियो ।

साथै भसन चारमा पुगेका शरणार्थीहरुले पनि आफूहरुका लागि उक्त स्थान खुला जेलजस्तो भएको प्रतिक्रिया दिएका छन् । उनीहरुले आफूहरुलाई उक्त टापुबाट बाहिर घुम्न जानका लागि प्रतिबन्ध लगाइएको आरोप लगाएका छन् । यहाँका शरणार्थीहरु बंगलादेशको जलसेनाको कडा निगरानीमा हुनेछन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment