Comments Add Comment

‘महानायक’ भटाभट भिडियोमा, तर भ्यूजकै खडेरी

कोरोनाका कारण चलचित्र क्षेत्र ठप्प भएपछि कलाकारहरुको एउटै सहारा बनेको छ, म्युजिक भिडियो । दयाहाङ राईदेखि पल शाहसम्मका फिल्म स्टारहरु म्युजिक भिडियोमै रमाइरहेका छन् । हुँदा–हुँदा ‘महानायक’ राजेश हमाल पनि यसबाट टाढा रहन सकेनन् ।

त्यसो त कोरोना सुरु हुनु अगाडि पनि हमाल चलचित्रमा खासै व्यस्त थिएनन् । देश–विदेशका स्टेज शो तथा टिभी रियालिटी शोहरुमा उपस्थिति जनाइरहेका उनी निर्देशक बन्ने सुरसार गर्दै थिए । तर, कोरोनाले गर्दा उनको सो योजना भने पछि धकेलियो । अहिले उनी भटाभट म्युजिक भिडियोमा देखिन थालेका छन् ।

दुई महिना यता हमालले अभिनय गरेका चारवटा भिडियो यूट्यूवमा आए । यी भिडियोहरु हेर्दा उनले आफूलाई प्राप्त ‘महानायक’ पदवीको ओज र आफ्नो ‘लिजेन्ड’ छवि भुलेको प्रतित हुन्छ । उनले छोरी–नातिनी उमेरका सुन्दरीहरुसँग जोडी बाँधेर कम्मर मर्काएको सहज लाग्दैन । न उनले गीतको छनोटमा ध्यान दिएका छन्, न सहकर्मी कलाकारको स्तर हेरेका छन् । मागेको पैसा पाएपछि हमालले जेमा पनि खेल्छन् भन्ने आरोप लगाउनेहरुलाई बल मिलिरहेको छ । फिल्ममा अभिनय गर्दा पनि उनलाई यही आरोप थियो ।

हमालले खेलेका भिडियोहरुको भ्यूज पनि सन्तोषजनक छैन । महानायकलाई खेलाएपछि भिडियोमा बबाल भ्यूज आउनुपर्ने हो । भिडियो निर्माताहरुले पनि उनको अनुहार देखाएपछि गीत भाइरल हुने सोचेका थिए होलान् । तर, त्यस्तो भएको छैन । चारवटामध्ये एउटा गीत औसत चलेको छ भने अरु तीनवटा ‘फ्लप’ छन् ।

गत असोज २६ गते राजेशले अभिनय गरेको ‘मञ्जरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको थियो । देवी घर्ति र प्रकाश पराजुलीले गाएको लोकदोरीमा हमाल नायिका वर्षा शिवाकोटीसँग नाचेका छन् । उक्त भिडियोमा अहिलेका ‘हटकेक प्रकाश सपुतको पनि उपस्थिति छ । तर, पनि गीतले सोचेजस्तो गति लिएन ।

राम्रै खर्च गरेर बनाइएको गीतको भिडियो झण्डै दुई महिनामा २८ लाखपटक हेरिएको छ ।  गीतमा गरिएको लगानी उठ्न कठिन छ । भिडियोलाई ६५ हजारले लाइक र २३ सयले डिसलाइक गरेका छन् ।

हमालले अभिनय गरेको अर्को भिडियो कात्तिक २८ गते सार्वजनिक भएको छ । यो भिडियोले पनि कुनै चर्चा कमाउन सकेको छैन । हमालले यसमा आफ्नै पुस्ताकी नायिका करिश्मा मानन्धरसँग अभिनय गरेका छन् । अञ्जु पन्तको स्वर र दुई लिजेन्ड कलाकारहरुको अभिनय भएर पनि गीतको भ्यूज निराशाजनक छ । २० दिनमा यो गीत ३ लाख १३ हजारपटक हेरिएको छ । १६ हजारले लाइक गरेका छन् । गीत आफैंमा कमजोर भएकाले पनि भ्यूज माथि उठ्न नसकेको हो ।

गत मंसिर ४ गते हमालले स्मिता दाहालसँग अभिनय गरेको ‘मलिंगो’ बोलको म्युजिक भिडियो आएको छ । यो गीतले चाहिँ राम्रै पिकअप लिइरहेको छ । दुई सातामा १६ लाखपटक हेरिएको गीतमा आठ हजारभन्दा बढिले कमेन्ट पनि गरेका छन् ।

तर, भिडियोमा हमाललाई ‘हकर ब्वाई’ बनेको सुहाएको छैन । न त भर्खरको उमेरकी स्मितासँग बुढयौली लागेका हमालको कुनै केमिस्ट्री नै मिलेको छ । नेकपा अध्यक्ष प्रचण्डकी नातिनी स्मिता अहिले चलेकै गायिकामध्ये पर्छिन् । गीतमा चर्चित संगीतकार, गायक राजनराज शिवाकोटीले उनलाई गायनमा साथ दिएका छन् । गीतका शब्दहरु सुनीता नेपाल सुबेदीले लेखेकी हुन् भने संगीत राजनकै हो । गीत आफैंमा मिठो छ ।

एक साताअघि हमालले अभिनय गरेको नयाँ म्युजिक भिडियो ‘सल्लैको धुप राम्रो’ यूट्यूवमा रिलिज गरिएको छ । विष्णु माझी र आरसी सापकोटाले गाएको यस गीतको भिडियोमा हमालले टिकटक स्टारहरु शिक्षा संग्रौला र गरिमा शर्मासँग कम्मर मर्काएका छन् । साथमा छन्, प्राय विवादमा आइरहने गायक तथा दुर्गेश थापा । ६ दिनमा साढे ४ लाख भ्यूज मात्र बटुलेको यो गीतले अहिलेसम्म ट्रेन्डिङमा प्रवेश पाएको छैन ।

फिल्म र म्युजिक भिडियो मनोरञ्जनका अलग–अलग विधा हुन् । चलचित्रमा अभिनय गर्नेलाई कलाकार र म्युजिक भिडियोमा अभिनय गर्नेलाई मोडल भन्ने गरिन्छ । नेपालमा चाहिँ मोडल र कलाकारहरु छ्यासमिस भइरहेका छन् । चलचित्रमा व्यस्त रहँदासम्म नायक–नायिकाहरु प्रायः म्युजिक भिडियोलाई अजरअन्दाज गर्छन् । अनि खाली हात भएपछि म्युजिक भिडियोतिर आँखा डुलाउँछन् ।

चलचित्रका स्थापित कलाकारले म्युजिक भिडियो खेल्नै हुँदैन भन्ने छैन । त्यसैले राजेश हमालले भिडियो खेल्दैमा त्यो आलोचित भइहाल्दैन । तर, उनीजत्तिको हस्तिले भिडियो खेल्दा अरुको भन्दा केही फरक त हुनैपर्छ । हमालले खेल्ने भिडियोले दर्शकलाई प्रभाव पार्ने कथा बोल्नुपर्छ । गीतको स्तर र सहकर्मी कलाकारको विषयमा उनले निकै ध्यान दिनुपर्छ । राम्रो पारिश्रमिक पाएपछ जस्तो पनि भिडियो खेलेर हमालले आफ्नो क्रेजलाई स्खलित तुल्याइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment