Comments Add Comment

के तपाईं बच्चालाई आफूले सोचेजस्तै बनाउनुहुन्छ ?

धेरै अभिभावक यस्ता हुन्छन्, जो बच्चालाई आफूले चाहे जस्तै बनाउन खोज्छन् । जस्तो कि हरेक कुरामा पोख्त होस् । परीक्षामा अरुले भन्दा राम्रो अंक प्राप्त गरोस् । खेलकुदमा पनि उत्कृष्टता हासिल गरोस् । पढाइलेखाइ, नाचगान सबैमा निपूर्ण होस् । समयमा खाने, उठ्ने, सुत्ने, दिसा–पिसाब गर्ने । सबै काम आफूले सोचेजस्तै पूर्ण होस् । तर यस्तो हुन्छ त ?

बुबाआमाले सोचेजस्तै बच्चाको प्रवृत्ति, खुबी, दक्षता, स्वभाव नहुन सक्छ । किनभने हरेक बच्चा आफ्नै जन्मजात गुण लिएर आउँछन् । त्यसैको आधारमा उनीहरुको क्षमता र रुचिहरु पनि निर्धारण हुँदै जान्छन् । हुन त पारिवारिक वातावरण, अभिभावकत्व, साथीसंगत, शिक्षा–दीक्षाले पनि यस कुरामा प्रभाव पार्छ । यद्यपि बच्चामा जन्मजात जुन गुण हुन्छ, सकेसम्म उनीहरुले त्यसै अनुरूप आफूलाई विकास गर्ने यत्न गर्छन् । त्यसैले त भनिन्छ हरेक बच्चा आफैँमा विशेष हुन्छ ।

तर हरेक बच्चालाई हामीले हेर्ने दृष्टिकोण फरक छ । अक्सर हामी अरु बच्चासँग तुलना गरेर वा आफँैले एउटा मानक बनाएर बच्चालाई हेर्ने गर्छौं । उनीहरुलाई त्यस्तै देख्न चाहन्छौं, जस्तो हामी सोच्छौं । यही कारण कुनैपनि बच्चाले आफ्नो गुण र क्षमता अनुरुप हुर्कने अनुकूलता पाइरहेका हुँदैनन् ।

बच्चाको गुण र क्षमता पहिचान गरेर सोही ढंगले उनीहरुलाई हुर्कने वातावरण तय गरिदिनुपर्ने हो । तर हामीले उनीहरुमाथि हस्तक्षेप गर्छौं र आफ्नो रुचि, सोच अनुरुप उनीहरुलाई डोहोर्‍याउने कोसिस गर्छौं । यसले बच्चाको क्षमता विकास हुने, रचनात्मकता बढ्ने होइन, बरु उनीहरुले दबाब महसुस गर्न थाल्छन् ।

प्रायःजसो अभिभावकहरु आफ्ना बच्चाहरुलाई आफ्ना अनेक गतिविधिहरुमा सहभागी गराउँछन् । कहिलेकाहीँ त बच्चाको रुचि हुँदा–नहुँदै पनि उसले आमाबुबाको रुचि अनुरुपका गतिविधिमा सहभागी हुनु पर्ने बाध्यता नै हुन्छ ।

यदि तपाईं कुनै कुरा सिक्ने गतिविधिमा सहभागी हुनुहुन्छ र आफ्ना बच्चालाई पनि सहभागी गराउँदै हुनुहुन्छ भने उनीहरुको यसप्रति रुचि छ छैन बुझ्नु आवश्यक छ । यदि रुचि छैन भने बच्चालाई जबर्जस्ती सिकाउनु हुँदैन ।

तपाईं घरको ठूलो व्यक्ति भएका कारण सबै निर्णय तपाईं स्वयं लिने अधिकार तपाईंलाई छ । तर आफूले लिएको निर्णयले आफ्ना बच्चाहरुलाई कुनै गुनासो छ कि त्यो पनि बुझ्नु आवश्यक छ । यदि तपाईंको बच्चा क्रिकेट खेल्न चाहन्छ र तपाईं उसलाई टेनिस खेल्न दबाब दिनुहुन्छ भने तपाईंको यो दबाबले ऊभित्र भित्रै निस्सासिएको अनुभव गर्न थाल्छ ।

तपाईं आफ्ना बच्चालाई दबाब दिने कुरा गर्नुहुन्छ ? क्रिकेट म्याचमा यदि तिमीले धेरै रन ल्याएनौं भने कोचले तिमीलाई अर्को म्याचमा राख्दैन ? साधारण हिसाब त गर्न सकेनौं, गाह्रो झन् कसरी गर्छौं ? जस्ता कुराहरुले तपाईंको बच्चालाई कुनै पनि कुराको लागि एक मात्र मौका छ भन्ने अनुभव गराउनु हो । जुन गलत हो ।

तपाईंले आफ्ना बच्चालाई कुनै कुरामा पछि परे अथवा गर्न सकेनन् भने चिन्ता नगर, जीवनमा अगाडि बढ्न अरु पनि धेरै मौकाहरु आउँछन् भनेर सम्झाउनुपर्छ । आफ्ना बच्चालाई अरुसँग तुलना गरेर तपाईं आफ्नो बच्चाको उपलब्धिहरुलाई कम महत्व दिँदै हुनुहुन्छ र उनीहरुमा प्रतियोगिताको भावना उत्पन्न गराउँदै हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment