Comments Add Comment

टुकुचाको पानी प्रशोधन गर्ने प्लान्ट बनाउन टेन्डर

२२ मंसिर, काठमाडौं । सरकारले काठमाडौंको टुकुचा (इचु) खोलाको पानीलाई बाग्मतीमा मिसिनुअघि नै प्रशोधन गर्नका लागि छुट्टै प्रशोधन केन्द्र बनाउने भएको छ । बागमती सफाइ गर्ने अभियान अनुरुप सरकारले टुकुचाको ढल प्रशोधन गर्न निर्माण हुने प्रशोधन केन्द्रका लागि टेन्डर आह्वान गरेको छ ।

खोला आसपास बसेका बस्तीबाट निस्कने ढललाई व्यवस्थित गर्न पाइपलाइन बिछ्याउन सम्भव नदेखिएपछि खोलाको ढललाई नै सीधै प्रशोधन गर्ने गरी पानी उपचार केन्द्र बनाउन लागिएको हो ।

काठमाडौंमा अन्य नदीहरुको किनारमा दायाँ-बाँया ढलको पाइप बिछ्याउने काम भइरहँदा टुकुचाको अधिकांश क्षेत्रमा भने यो काम सम्भव नदेखिएको हो । बाग्मती सभ्यता एकीकृत विकास समितिका सिनियर डिभिजनल इन्जिनियर रवीन्द्र रायका अनुसार टुकुचा खोलाबाट बग्ने फोहोर पानीलाई प्रशोधन गर्ने गरी टुकुचा क्षेत्रमै प्रशोधन प्लान्ट बनाउन टेन्डर आहृवान भएको हो । उनका अनुसार हिँउदमा लेदो भएर बेग्ने टुकुचा खोलाको ढललाई बाग्मतीमा मिसिनुभन्दा अघि नै शद्धीकरण गर्ने योजना अनुरुप यो टेन्डर भएको हो ।

टुकुचासँगैका घरहरुलाई मुआब्जा दिएर ढल बिछ्याउने काम गर्न खर्चिलो हुने भएपछि खेलाको सबै पानीलाई प्रशोधन गरेर बागमतीमा छाड्ने गरी यसको प्रारम्भिक अध्ययन भएको छ । अब टेन्डरबाट छानिने कम्पनीले आफैं प्रशोधन केन्द्रको डिजाइन गरेर निर्माण गर्ने रायले बताए ।

टुकुचामा बन्ने प्रशोधन केन्द्र अन्यत्रको भन्दा निकै आधुनिक हुनेछ । यसको निर्माण गर्न करिब साढे ३ अर्ब रुपैयाँ लाग्ने अनुमान  छ ।

टुकुचामा बर्षाबाहेकको अधिकांश समयमा ढल मात्रै बग्छ । यसलाई ढलरहित बनाउन नसकिएपनि बागमतीमा मिसिनुअघि कालमोचन घाटभन्दा मुनि खोला किनार क्षेत्रमा प्रशोधन गर्ने योजना बनाइएको हो ।

अब बन्ने प्रशोधन केन्द्रबाट दिनमा १ करोड ६३ लाख लिटर पानी प्रशेधन भएर बागमतीमा खसालिनेछ । यो प्लान्टलाई दुर्गन्धरहित र व्यवस्थित रुपमा सञ्चालन गरिने समितिले जनाएको  छ ।

टुकुचा खेाला काठमाडौंको सबैभन्दा प्रदुषित मानिन्छ । खेालसँगै बसेका बस्तीबाट सीधै यहाँ ढल मिसाइन्छ । जसले गर्दा टुकुचाको सभ्यता संकटमा परेको  छ ।

हाल काठमाडौं उपत्यकाका सबै नदी, खोला र नालालाई ढलमुक्त बनाउन ह्युमपाइपहरु बिछ्याउने काम भइरहेको छ । यसरी खोला किनारमा बिछ्याइएका ढललाई प्रशोधन केन्द्रसम्म पुर्‍याएर प्रशोधनपछि मात्रै नदीमा सफा पानी मिसाउने योजना छ ।

उपत्यकाका नदीको फोहोर पानी सफा पार्न गुह्येश्वरीमा एउटा प्रशोधन केन्द्र सञ्चालनमा आइसकेको छ भने थप तीन वटा प्रशोधन केन्द्र बन्ने गरी शिलान्यास भइसकेको  छ ।

ललितपुरको बालकुमारीस्थित कोड्कु, भक्तपुरको सल्लाघारी, सुन्दरीघाटमा बन्ने प्रशोधन युनिटको गत वर्ष नै प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

यी प्लान्टबाट प्रशोधित पानी पिउन नमिले पनि खोलामा मिसाउन योग्य हुनेछ । स्वचालित यी आयोजनाबाट पानी मात्रै सफा हुने छैन, उर्जा, बायोग्यास, मलसमेत निकाल्ने योजना छ ।

सबै फोहर पानी प्रशोधन केन्द्रबाट ढल प्रशोधन गरी नदीमा सफा पानी बिसर्जन गर्ने लक्ष्य छ । यसबाट नदीको प्रवाह र गुणस्तरमा सुधार आउने अपेक्षा छ । फोहर पानी प्रशोधन प्रक्रियामा उत्पन्न हुने मिथेन ग्यासबाट केही प्रशोधन केन्द्रमा बिजुली निकाल्ने योजना छ । प्रशोधनका क्रममा निस्किने लेदोलाई थप प्रशोधन गरी मलको रुपमा प्रयोग गर्न सकिने बताइएको छ ।

यी आयोजनाबाट उपत्यकाका सम्पूर्ण नदीहरुको वातावरणीय अवस्थामा सुधार आई जैविक विविधता, मनोरञ्जनात्मक क्रियाकलाप र पर्यटन उद्योगको विकासमा समेत सकारात्मक प्रभाव पर्ने सरकारले बताउँदै आएको छ । आधुनिक प्रशोधन केन्द्रहरुमा दुर्गन्ध फैलिने भाग छोपिने र अत्याधुनिक प्रविधियुक्त फिल्टरहरु समेत जडान गरिने हुँदा वरपर दुर्गन्ध नफैलिने दाबी गरिएको छ ।

प्रशोधन केन्द्रमा ढल पुगेपछि त्यसलाई विभिन्न चरणमा प्रशोधन गरिनेछ । ढल प्रशोधन गर्दा निस्कने ग्यासलाई प्रयोग गरेर बिजुली निकालिने छ । र, उत्पादित बिजुली प्रशोधन केन्द्रको सञ्चालनमा नै उपयोग गर्ने योजना बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment