Comments Add Comment

शिलान्यासको १४ महिनासम्म नागढुंगा सुरुङमा अलमल (भिडियो)

२२ मंसिर, काठमाडौं । २०७६ कात्तिक ४ मा सिस्नेखोला–दहचोक (नागढुंगा) सुरुङमार्गको दहचोकमा शिलान्यास गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘काठमाडौंबाट यसो छिरेर उता हेटौंडा निकालेको गीत हामीले हेरेको हौंला । अब यता (दहचोक)बाट छिरेर उता (सिस्नेखोला) निक्लिएको त अब ४२ महिनापछि भइहाल्छ ।’

प्रधानमन्त्रीले भनेझैं २.६६८ किलोमिटर लामो यो सुरुङमार्ग ४२ महिनामा निर्माण गरिसक्ने योजना थियो । तर ४२ मध्ये १४ महिना बितिसक्दा पनि सुरुङ खन्न थालिएको छैन । सुरुङमार्गको मुखमा मेसिनको चहलपहल देखिएपनि मुख्य मानिएको सुरुङ खन्ने र फ्लाइओभर निर्माणको काम सुरु हुन बाँकी छ ।

सुरुङ खन्ने काम वैशाख २०७७ बाट सुरु गर्ने योजना थियो, तर त्यसअनुसार काम भएन । सुरुमा मेसिन आइपुगेन । सुरुङको मुखको जग्गाको मुआब्जाको विवाद अझै सल्टिएको छैन । आयोजनाका अनुसार दहचोक र सिस्नेखोला दुबैतर्फ मुआब्जा विवाद सल्टिन बाँकी छन् । आयोजनाले अधिग्रहण गर्ने जग्गाबारे केही स्थानीयको अझै असहमति छ ।

धादिङको सिस्नेखोलातर्फ सुरुमा सरकारी भनिएका जग्गाको लालपूर्जा पाँच जनासँग भेटिएको छ । जग्गाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ । अख्तियारले गर्ने छिनोफानोको आधारमा मुआब्जा दिने, नदिने टुंगो लाग्नेछ ।

काठमाडौंको दहचोक क्षेत्रका स्थानीयले निःशुल्क खानेपानी आयोजना र खेल मैदान बनाउनुपर्ने, आफूहरुलाई रोजगारी पाउनुपर्ने लगायतका माग राखेका छन् । उनीहरुसँग चन्द्रागिरी नगरपालिकामार्फत छलफल गरिरहेको आयोनजना प्रमुख नरेशमान शाक्य बताउँछन् । ‘स्थानीयको माग सम्बोधन गर्न पनि पहल गरेका छौं,’ उनले भने ।

मुआब्जा विवाद र स्थानीयको माग मात्र होइन, आयोजनामा प्रयोग हुने विष्फोटक पदार्थ आयातबारे सुरुङमार्ग निर्माणको ठेक्का पाएको जापानिज कम्पनी हाज्मा आन्दो कर्पोरेसन र सरकारकै मत बाझिएको छ । सरकारले नेपाली सेनाले उत्पादन गरेको विष्फोटक पदार्थ प्रयोग गर्न भनेको थियो, तर ठेकदार कम्पनीले गुणस्तरको प्रश्न उठाउँदै यो प्रयोग गर्न नसकिने जनाउ दिएको छ ।

ठेकदार कम्पनीले सुरुङ खन्न आवश्यक यन्त्र उपकरण आयात र जडानमा पनि ढिलाइ गर्‍यो । मेसिन आयातमा भन्सार छुटलगायतको प्रक्रियामा ढिलाइ भयो ।

अहिले उपकरण निर्माणस्थलमा आइपुगेपनि सुरुङ खन्न चाहिने फ्रेम तयार भएको छैन । ‘फ्रेम बनाउने बुटवलको उद्योगमा कोरोना देखिएपछि ढिलाइ भयो,’ आयोजना प्रमुख शाक्य भन्छन्, ‘केही दिनमा डेलिभरी हुन्छ ।’

सुरुङ खन्नुअघि दुईतिरको मुखमा गर्नुपर्ने तयारीका कामहरु भने अहिले भइरहेको छ । तर सुरुङ कुन मितिबाट खन्न थालिन्छ भन्ने अझै अन्योल छ । पुसको पहिलो साताबाट खन्ने काम थाल्न सकिने अनुमान आयोजना प्रमुख शाक्यको छ ।

गर्नुपर्ने काम धेरै

यो सुरुङमार्ग २.६८ किलोमिटर (२६८८ मिटर) लामो हुनेछ । कोटेश्वर–सूर्यविनायक खण्ड र बीपी राजमार्गलाई ८ लेनमा विस्तार गर्ने काम हाज्मा कम्पनीले पाएकाले आयोजना निर्माणमा ढिलाइ नहुने दाबी सरकारले गर्दै आएको छ ।

तर आयोजनाको करिब ५० प्रतिशत काम सुरुङ बाहिरै गर्नुपर्ने छ । सुरुङसँग राजमार्गलाई जोड्न पहुँच सडक र फ्लाइओभर पनि निर्माण गर्नुपर्ने छ । यो काम गर्न करबाहेक साढे १३ अर्बमा आयोजना ठेक्का लागेको थियो ।

सुरुङमार्गलाई त्रिभुवन राजपथसँग जोड्न २.८७ किलोमिटर (२ हजार ८७२) को पहुँचमार्ग पनि बनाउनुपर्छ । पहुँचमार्गका लागि गुर्जुधाराचोक र सुरुङको मुखभन्दा मुनि दुईवटा फ्लाइओभर बनाउनुपर्छ । गुर्जुधारामा बन्ने फ्लाइओभर ६१० मिटरको हुनेछ ।

कलंकीबाट बलम्बु हुँदै नागढुंगा जोड्ने सडक क्रस गराउन करिब १५० मिटर लामो अर्को फ्लाइओभर बनाउनुपर्छ । २ लेनको सुरुङमार्गमा १० मिटर चौडाइको भेन्टिलेसन र जेट फ्यान जडान पनि गर्नुपर्छ ।

कुनै दुर्घटना भए आकस्मिक उद्धारका लागि अर्को एक लेन (४ मिटर) को सहायक सुरुङ पनि बनाउनुपर्नेछ । अष्ट्रेलियन टनेलिङ मेथडबाट बिष्फोटक प्रयोग गरेर यो सुरुङमार्ग बन्नेछ । यस अन्तर्गत ठूला ड्रिलिङ मेसिनहरु प्रयोग हुनेछन् । सुरुङमार्ग बनाउन ५ सयदेखि ६ सय मेट्रिक टन विष्फोटक पदार्थ चाहिने अनुमान छ ।

सुरुङमार्ग र पहुँचमार्गमा करिब २२ अर्ब खर्च हुने अनुमान छ । यसमध्ये १६ अर्ब ६० करोड जापान सरकारले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ भने नेपाल सरकारको ५ अर्ब ५३ करोड रुपैयाँ खर्च गरिँदैछ ।

सुरुङमार्ग निर्माण भएपछि नौबिसेबाट २० मिनेटमा काठमाडौं आइपुगिनेछ र उपत्यका प्रवेश गर्न नागढुंगा नाकामै घण्टौं जाममा बस्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास गरिएको छ । यही राजधानी प्रवेशलाई सहज बनाउने महत्वपूर्ण आयोजना पूर्वतयारी नसकी हतारमा ठेक्का लगाएर शिलान्यास गरिहाल्ने प्रवृत्तिको शिकार बनेको छ ।

तस्वीर र भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment