Comments Add Comment

कलंकी–नागढुंगा सडक : हराभरा हुनुपर्ने ठाउँमा फोहोरको थुप्रो (भिडियो)

२३ मंसिर, काठमाडौं । माइतीघर–तीनकुने नमूना सडक जस्तै बनाउने योजनासहित विस्तार भएको हो, कलंकी–नागढुंगा सडक ।

राजधानी काठमाडौंको मुख्य नाका जोड्ने यो सडकको हरियालीयुक्त आकर्षक डिजाइन (पुरानो ग्राफिक फोटो छ) सार्वजनिक गर्दा धेरैले सरकारको प्रशंसा गरेका थिए । तर, देखाइएका ग्राफिक र यथार्थ चित्रबीच ठूलो फरक छ ।

अहिले यो खण्ड भएर यात्रा गर्ने जोसुकैलाई सडकको अवस्था देखेर लाज लाग्छ । लक्ष्यभन्दा करिब ३ वर्ष ढिला गरी बनेको यो सडक तयार भएको घोषणा भइनसक्दै भत्किन थालेको थियो ।

ठेकेदार शैलुङ कन्स्ट्रक्सनले निर्माण ‘सम्पन्न भयो’ भनेपनि सडक विभागलाई हस्तान्तरण हुन बाँकी छ । टालटुल पारेर चलाइँदै गरेको यो सडकको विभिन्न खण्डमा विरुवा रोप्न बीचमा बनाइएको डिभाइडर (मेडियन) को हालत झन् खराब छ ।

स्थानीयबासीले डेढ वर्षअघि दिएको दबावबाट पिचको काम सकिएपनि मेडियन अलपत्र छाडिएका छन् । मेडियनलाई व्यवस्थित बनाउने काममा न सडक विभागको चासो छ न त वातावरण सम्बद्ध अरु निकायलाई नै । चन्द्रागिरी नगरपालिकाले संघीय सरकारको कार्यक्षेत्र भन्दै यो अस्तव्यस्त सडकमा चासो दिएको छैन ।

हरियालीयुक्त सडकको ग्राफिक्स देखाएर भद्रगोल सडक बनाएको स्थानीय दिक्क छन् । केही खण्डका स्थानीयले मेडियन सुधारका लागि दबाव दिएपनि अधिकांश क्षेत्रका स्थानीयले मेडियनमा फोहोर थुपारेका छन् । गाडीका धुवाँले मेडियनको क्रंक्रिट कालो भएको छ ।

विरुवा रोपेर मारियो

वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले नागढुंगादेखि कलंकीसम्मको सडकलाई हराभरा बनाउने भन्दै २०७६ साउन २७ गते वृक्षारोपण अभियान थालेका थिए । त्यसबेला तामझमसहित मेडियनहरुमा रोपिएका विरुवा मरिसके ।

कतैकतै जोगिएका विरुवा भुइँबाट माथि उठ्न सकेका छैनन् । हुर्किएका एकाध विरुवा भाँचिए, निमोठिएका छन् । मेरिडियनको कतिपय ठाउँमा स्थानीयले तरकारी रोपेको पनि देखियो ।

थानकोटकी वासिन्दा सुमिना घनाल मेडियनको सफाइमा कसैले चासो नदिएको बताउँछिन् । ‘त्रिभुवन पार्क आसपासको खण्डमा विरुवा हुर्किएका छन्,’ उनी भन्छिन्, ‘सबैतिर यसैगरी संरक्षण गर्न सकेको भए सडक निकै राम्रो हुन्थ्यो ।’

थानकोटकै रामरोशन थापा गाडीले फ्याँकेको कालो र तातो धुँवा नै विरुवाले थेग्न नसकेको बताए । ‘यस्तो सकडमा कस्तो विरुवा उपयोगी हुन्छ भनेर ध्यान दिनुपर्थ्यो,’ उनी भन्छन्, ‘तर, नर्सरीमा जुन भेट्यो, त्यही प्रजातिका विरुवा ल्याएर रोपिएकाले बाँच्न र हुर्कन सकेनन् ।’

उनका अनुसार, रोपिएका विरुवा जोगाउन राम्ररी बारबेर गरिएन । बार लगाइएको ठाउँमा पनि रोपिएका विरुवाभन्दा झाडी फस्टाएको छ । भद्रगोल सडक र मेडियनका कारण बरु दुर्घनाको जोखिम बढेको छ ।

मेडियनहरुमा जताततै असरल्ल फोहोर छ । धेरै ठाउँमा मेडियनका लागि राखिएका क्रंक्रिट पनि भताभुंग भएका छन् । एकपटक विरुवा रोपेपछि त्यसलाई फर्किएर नहेर्ने सरकारी प्रवृत्तिले मेडियनहरुलाई हेरिनसक्नु बनाएको छ ।

सडकको दायाँबाया रोपिएका विरुवा पनि अस्तित्वमा छैनन् । सडक विभागका महानिर्देशक केशवकुमार शर्मा ठेकदार कम्पनीले सडकको फुटपाथ, मेडियन लगायतका काम अलपत्र छाडेको बताउँछन् । उनी भन्छन्, ‘ठेकदारले मेडियन लगायतका भागको व्यवस्थापन गरेको छैन ।’

तस्वीर र भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment