Comments Add Comment

कथाकार अविनाशको नजरमा पढ्नैपर्ने पाँच किताब

कथाकार अविनाश श्रेष्ठका पाँच कवितासंग्रह, एक कथा र दर्जनौं सम्पादन कृति प्रकाशित छन् । ‘तान्या, इन्द्रकमल र अन्धकार’ उनको चर्चित कथासंग्रह हो। लामो समय ‘समकालीन साहित्य’, ‘कविता’ तथा ‘गरिमा’जस्ता साहित्यिक पत्रिकाहरू सम्पादन तथा नेपाली भाषा अध्यापन गरेका अविनाश अध्ययनशील स्रष्टा मानिन्छन् ।

श्रेष्ठ भन्छन्, ‘मैले विगत दश–बाह्र वर्षयता प्रकाशित अनि आफूलाई विभिन्न कारणले मनपरेका उपन्यास, कथासंग्रह र जीवनवृत्त विधाका पाँच पुस्तक पाठकहरूलाई पढ्न सिफारिस गरेको छु ।’

श्रेष्ठकै शब्दमा ती पुस्तकको आधारभूत चिनारी यहाँ प्रस्तुत गरिएको छ ।

१. प्रेतकल्प

२०६५ सालको ‘साझा पुरस्कार’द्वारा सम्मानित उपन्यास ’प्रेतकल्प’ नारायण ढकालको पठनीय, संग्रहणीय एवं उल्लेख्य कृति हो । उपन्यासमा लगभग सय वर्षअघिको काल्पनिक दुःखपुरको आख्यानलाई लेखकले नवीन शैली–शिल्पमा पस्केका छन् ।

वास्तवमा दुःखपुर काठमाडौं उपत्यका भित्रकै सय वर्षअघिको चन्द्रशमशेरकालीन नेपाली समाजको स्वैरछवि हो । उपन्यासका अध्यायहरूको समाप्तिपछि केही ठाउँमा ‘कथाकारको टिप्पणी’का रूपमा उपन्यासको रचना–गर्भलाई प्रस्ट्याउने नयाँ तरिका अपनाएर नारायण ढकालले ‘प्रेतकल्प’लाई वास्तविकताको नजिक ल्याउने नौलो शिल्पमात्र दिएका छैनन्, यसलाई इतिहाससम्मत साथै रोचक पठनीय स्वरूप पनि प्रदान गरेका छन् ।

वास्तवमा ‘प्रेतकल्प’ उपन्यासको कलेवरमा काठमाडौं उपत्यकाको सामाजिक, सांस्कृतिक इतिहास चियाउने एउटा काल्पनिक पोर्टल वा आँखीझ्याल हो भन्न रुचाउँछु म ।

२. मोक्षान्त : काठमान्डु फिभर

जस्तो अनौठो कथासंग्रहको नाम त्यस्तै अनौठा र उदेकका अतिकल्पनाले भरिएका कथाहरू संग्रहीत छन्, ‘मोक्षान्त : काठमान्डु फिभर’ भित्र । २०५५ कात्तिक–मंसिर–पुसको ‘समकालीन साहित्य’को पूर्णाङ्क–३२ मा कुमार नगरकोटीको पहिलो कथा ‘निकास’ प्रकाशित भएको थियो । त्यसपछि ‘समकालीन साहित्य’मै उनका ‘माउसुली’, ‘मेटाफिजिक्स’ र ‘अन्धकार’ आदि कथाहरू प्रकाशित हुँदै गएका सम्झन्छु । पछि उनका ‘जन्मदिनको उपहार’, ‘तिम्रो मृत्युको समाचार’, ‘खप्पर’, ‘सिल्भिया’, ‘हेलो ज्याक्स डेरिडा’ र ‘मोक्षान्तः काठमान्डु फिभर’ आदि सशक्त कथा विभिन्न अवसरमा पढ्न पाइरहें मैले ।

कुमार नगरकोटीका आरम्भिक कथाहरू नै कति परिपक्वताका साथ आएका छन् भने नेपाली आख्यानमा उनको भविष्यलाई यस संग्रह भित्रका बाह्र शक्तिशाली कथाले सुनिश्चित गरिसकेको प्रष्ट हुन्छ । नेपाली कथाका पाठकहरूलाई स्वैरकल्पना र सर्रियल संसारको अद्भुत स्वाद चखाएर लठ्याउने कथासंग्रह ‘मोक्षान्त : काठमान्डु फिभर’ मेरो अल टाइम फेभरेट पुस्तकभित्र पर्दछ । यसको पहिलो प्रकाशन २०६७ सालमा रत्न पुस्तक भण्डारबाट भएको हो ।

३. लू

समकालीन आख्यानकारहरूमा आफ्नो यथार्थवादी तर अद्भूत कथावाचन शैलीका कारण मेरो हृदयको नजिक रहेका छन्, नयनराज पाण्डे । २०६८ सालमा सांग्रीला बुक्सबाट पहिलोपटक प्रकाशित उपन्यास ‘लू’ मलाई नयनजीका कृतिहरूमध्ये सर्वाधिक प्रिय छ ।

इलैया, टुटे पण्डित, रेडियोलाल, वृजलाल, नन्दु चिडिमार, हरदेइ, नुसरत, करिम, आसिफ, रजिया, रहिम, सलिम, मेहरुन्निसा, जमिल, चमेली, शिवकुमारी, दीनानाथ, गोवरी, देवकी, मुनिया, शम्भुराम, बजरङ्गी आदि र अन्य धेरै जीवनको सीमान्त साथै मुलुकको सीमान्तमा जीवनयापन गर्ने अत्यन्त जीवन्त पात्र–पात्रा छन् ‘लू’ भित्र ।

नेपालगञ्ज वरपरको पश्चिमी–दक्षिणी सीमान्तक्षेत्र (काल्पनिक पत्थरपुरवा)को नेपाली जनजीवन, जनजीविका र धर्म–संस्कृति, सामाजिक आदानप्रदानको बहुल स्वरूप र स्वरलाई साथै सीमान्तक्षेत्रका बासिन्दाहरूको दैननदिने जीवनयापन, बाँच्ने संघर्ष छिमेकी मुलुकको मिचाहा प्रवृति र देशपीडा आदिलाई उपन्यासको आयतनमा एउटा सामूहिक मोन्टाजभित्र आबद्ध गर्न खोजेको पाइन्छ उपन्यासकार नयनजीले ।

वास्तवमा उपन्यास ‘लू’ हाम्रो समाज र समयको प्रखर दस्तावेज हो र धेरैभन्दा धेरै पाठकहरूद्वारा पढिनुपर्ने कृति पनि हो यो ।

४. कठपुतला

आठवटा लामा कथा, आठवटै कथा नेपाली पारम्परिक कथावाचनको प्रचलित तरिकाभन्दा पृथक ढाँचा, सिप र शिल्पका । पहिलो कथासंग्रहमै यति धेरै विशेषताहरू पस्केर अगाडि आएकी देखिन्छिन् कथाकार अर्चना थापा ।

पहिलो कथासंग्रहमै यस्तो सूक्ष्म, दह्रो, भरोसालायक साथै पाठकलाई आश्वस्त तुल्याउन सक्ने (कन्भिन्सिङ) कौशल कथाकार अर्चना थापाको, कथासंग्रह ‘कठपुतला’ पढ्दा छक्क पर्दै आफू निकै प्रशन्नचित्त बनेको सम्झन्छु । शीर्षकथा ‘कठपुतला’ र ‘सत्य’ एक किसिमको विज्ञानआश्रित कथाशैलीमा रचिएका छन् र दुवै कथाका कथ्य नेपाली कथाका पाठकका लागि नयाँ र कुतूहल जगाउने खालका छन् । ‘कठपुतला’भित्रका आठवटै कथा मेरो मनपराइको आयतनभित्र परेका हुन् । पहिलो पठनमा तापनि यी आठवटै कथामध्ये मलाई सर्वाधिक मनपरेको कथा भने ‘सेतो बास्ना’ हो । ‘सेतो बास्ना’ किन विशेष छ त ? थाहा पाउन यो संग्रह तपाईं आफैंले पढ्न जरुरी छ ।

‘कठपुतला’ साउन, २०७४ मा अक्षर क्रियसनले प्रकाशित गरेको थियो ।

५. सर्जक–सन्दर्भ

‘भारतीय साहित्य अकादेमी’ पुरस्कार विजेता मोहन ठकुरी, भारतीय नेपाली साहित्यका क्षेत्रमा अत्यन्त आदरका साथ लिइने नाम हो । कविता, कथा, जीवनवृत्त र ग्रन्थ–सम्पादन विधामा उहाँको उल्लेख्य योगदान रहेको छ । ‘सर्जक–सन्दर्भ’ उनै मोहन ठकुरीको निकै चर्चामा रहेको पुस्तक हो ।

सर्जक–सन्दर्भ अर्थात् स्रष्टाहरूको जीवनबाँचाइ र लेखनको सन्दर्भ । प्रस्तुत पुस्तकमा मोहन ठकुरीले आफ्ना अग्रज, समकालीन र अनुज पुस्ताका भारतीय नेपाली लेखकहरू इन्द्रबहादुर राई, कुमार प्रधान, एमएम गुरूङ, कृष्णसिंह मोक्तान, राजनारायण प्रधान, सानु लामा, बिन्द्या सुब्बा, शरद छेत्री, मनप्रसाद सुब्बा र नोर्जाङ स्याङ्देनसँगका आफ्ना जीवन्त अनुभव र उनीहरूका लेखनबारे आफ्ना धारणा र दृष्टिकोणलाई आख्यानात्मक शैलीमा निकै रोचक ढंगबाट पस्कनुभएको छ । विशेष मोहन ठकुरीको पढुँ–पढुँ लाग्ने लेखनशैली र प्रस्तुतिशिल्पले ‘सर्जक–सन्दर्भ’लाई एउटा जीवन्त, पठनीय र सार्थक कृति बन्न सघाएको छ ।

यो पुस्तक जुलाई, २०१७ मा कालिम्पोङ, भारतको ‘उपमा प्रकाशन’बाट पहिलोपटक प्रकाशित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment