Comments Add Comment

रसुवामा ६ वर्षीया बालिकाको हत्या, ओढारमा भेटियो शव

२५ मंसिर, काठमाडौं । रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङ की ६ वर्षीया बालिका सुमिना तामाङको अपहरणपछि हत्या भएको छ । बालिकालाई हत्या गर्ने नुवाकोटको किस्पाङ गाउँपालिकाकी १९ वर्षीया सपना तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार बिहान विद्यालय गएकी सुमिना साँझसम्म पनि घर नफर्किएपछि खोजी सुरु गरिएको थियो । परिवारका सदस्यको निवेदनका आधारमा खोजी गर्दा कालिका गाउँपालिका–१ स्थित नागुर्दुङ भीरको ओढारमा घाँसले छोपिएको अवस्थामा मंगलबार बालिकाको शव भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी इन्द्र सुवेदीका अनुसार पक्राउ परेकी सपनाले सुमिनाको हत्या गरेको स्वीकार गरिसकेकी छन् । डिएसपी सुवेदीले अनलाइनखबरसँग भने, ‘सपनाले चाउचाउ दिएर फकाइछन् र अलि पर लगेर बालिकाको कानका मुद्रा निकालिछन् । अनि बालिकाले आमासँग भन्दिन्छु भनेपछि डोरीले घाँटी कसेर हत्या गरिछन् ।’

डिएसपी सुवेदीले भने, ‘म पनि घटनास्थलमा पुगेको थिएँ । अत्यन्त क्रूर ढंगले हत्या गरेको देखिन्छ । सपनासँग पहिलेदेखि नै डोरी साथमा रहेकाले बालिकाको हत्या गर्ने उद्देश्य नै देखिन्छ ।’

हत्यापछि सुमिनाले लगाएको स्कुलको ड्रेस फुकालेर उनकै झोलाभित्र राखेर झाडीमा फालिदिएको बयान सपनाले प्रहरीलाई दिएकी छन् । शव भेटिएको नजिकै बालिकाको झोला र चप्पल भेटिएको थियो । त्यहीँ नजिकै चाउचाउको प्याकेट पनि भेटिएको छ ।

हत्यामा संलग्न सपनामाथि सात दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको डिएसपी सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment