Comments Add Comment

माधव नेपालका ६ शर्त, ओलीले पूरा गर्लान् र !

२५ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालको साथ पाउने आशा मारिसकेका छैनन् ।

तिक्ततापूर्ण सम्बन्धमा रहेका नेपालको मन लामो समयका सहयोद्धाको अनुनयले पग्लिहाल्ला कि भन्ने आशाले ओलीले स्वयं र आफू निकट नेताहरुमार्फत सहकार्यको प्रस्ताव राखिरहेकै छन् ।

तत्कालीन एमालेको नवौं महाधिवेशनयता लगातार किनारमा पारिँदै आएका नेपालसँग (२०७५ जेठ ३ मा माओवादी र एमालेबीच) पार्टी एकतापछि लगभग संवादहीनताकै अवस्था थियो । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहकार्य गरेर अगाडि बढेका उनले वरिष्ठ नेताको वरियता हेरफेर गरेर ‘अपमानित’ गर्ने, फरक मतलाई बहुमतले पेलेर जाने काम गरेका थिए ।

तर प्रचण्डसँग दुरी बढ्यो, पार्टीमा संकटमा पर्न थाले, लगातार नेपाललाई फकाउने प्रयासमा छन्, ओली । गत वैशाखमा अध्यादेश प्रकरणका कारण संकटमा परेका ओलीले प्रधानमन्त्री पद छोड्नु परे पूर्वएमाले (माधव नेपाल)लाई नै छोड्छु भनेर वरिष्ठ नेता नेपालको मन फर्काउने कोशिस गरेका थिए । त्यसबेला नेता नेपाललाई नेकपाको तेस्रो अध्यक्ष बन्न प्रस्ताव गरेका थिए ।

पछिल्लो विवादित राजनीतिक कोर्समा माधव नेपालले मुलतः ६ शर्त राखेका छन्, जसले ओलीका फकाउने प्रयासलाई निस्फल बनाइरहेको छ । नेपाल आफ्नो अडानमा कठोर भइरहे प्रचण्डतिरै हात बढाउने मनसाय देखिन्छ, ओलीमा ।

तर त्यतिबेला बामदेव गौतमको साथ पाएपछि प्रधानमन्त्री एवं नेकपा ओलीको सत्ता संकट टर्‍यो । १० असारबाट शुरु भएको स्थायी कमिटी बैठकमा फेरि अल्पमतमा परेपछि ९ साउनमा नेपालसँग लामै कुराकानी गरेका थिए । प्रचण्डसँग गठबन्धन गरिरहेका नेता नेपाललाई मिल्न प्रस्ताव गर्दै उनले आगामी महाधिवेशनपछि पार्टी अध्यक्ष र आम चुनावपछि प्रधानमन्त्री बन्ने अफर गरे ।

प्रचण्डसँगै सहमति भएपछि ओलीको सत्ता संकट दोस्रो पटक टर्‍यो । र, २६ भदौमा स्थायी कमिटीले ओली र प्रचण्डबीच भएको सहमतिअनुसार नै निर्णय गर्‍यो ।

तर स्थायी कमिटीको निर्णय सुक्न नपाउँदै फेरि ओली र प्रचण्डबीच खटपट सुरु भयो । अहिले प्रधानमन्त्री समेत रहेका ओली नेकपाभित्र गम्भीर संकटमा परेका छन् ।

यो पटक पनि उनले फेरि कहिले प्रचण्डलाई त कहिले नेता नेपाललाई फकाउने प्रयास गरेका छन् । ओलीले कात्तिकमा मात्र ४, ११ र २३ गते तीनपटक नेपालसँग संवाद गरे । एक साता अगाडि मात्र ओलीले विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ, भानुभक्त ढकाल, कर्ण थापालगायत नेताहरूलाई  नेता नेपालको निवास कोटेश्वर पठाएर सहकार्यको प्रस्ताव राखेका थिए । तर, नेता नेपालको मन पग्लिएको छैन ।

नेपालले पुरानै अडान सुनाउँदै आएका छन्– जे गर्ने हो, पार्टी कमिटीको निर्णयबाट हुन्छ ।

पछिल्लो विवादित राजनीतिक कोर्समा माधव नेपालले मुलतः ६ शर्त राखेका छन्, जसले ओलीका फकाउने प्रयासलाई निस्फल बनाइरहेको छ । नेपाल आफ्नो अडानमा कठोर भइरहे प्रचण्डतिरै हात बढाउने मनसाय देखिन्छ, ओलीमा ।

उनले बुधबार प्रचण्डलाई भेटेर ‘माधव नेपालले धोका दिन्छन्, हामी मिलौं’’ भन्ने प्रस्ताव राखे । तर यो पटक माधव नेपाल जस्तै प्रचण्ड पनि पग्लिने छाँट देखिएको छैन ।

नेपाल निकट नेता जगनाथ खतिवडा ओलीकै कारण यस्तो परिस्थिति बनेको बताउँछन् । ‘एक होइन, अनेक पटक यस्ता मिठा प्रतिबद्धता आएका छन्, तर कुनै पनि कार्यान्वयन भएको छैन’, उनी भन्छन्, ‘नेतृत्वको रुपमा ओलीमा सधैं पूर्वाग्रही, अहंकारी र स्वच्छेचारी प्रवृत्ति रहेकाले पार्टीमा नयाँ–नयाँ संकट आएको हो भन्नेमा माधव कमरेड प्रष्ट हुनुहुन्छ ।’

नेताहरुका अनुसार ओली लक्षित माधव नेपालको ६ शर्तमध्ये पहिलो हो– पार्टी फुटाउने उद्देश्यले राखिएको प्रस्ताव अस्वीकार्य छ । अध्यक्ष वा प्रधानमन्त्री पदको प्रस्ताव पार्टी विभाजनको उद्देश्यले आउनु हुन्न । पूर्वएमाले मिलेर पूर्वमाओवादीलाई पेल्ने नियत राख्नै हुन्न ।

जनताको बहुदलीय जनवाद (जबज) को कार्ड फालेर पूर्वमाओवादीलाई पेल्ने रणनीति कार्यान्वयन गर्न ओलीले पदको लोभ देखाएको नेपालको निष्कर्ष छ । नेता नेपालले पार्टी एकता प्रक्रिया पूरा नभइसकेको अवस्थामा प्रचण्डलाई अप्ठ्यारोमा पारेर आफू प्रधानमन्त्री बन्न नसक्ने निकटस्थहरुलाई बताउने गरेका छन् । सबै पक्षलाई समेटेर पार्टी एकता कायम गर्नेगरी प्रस्ताव आउनुपर्ने उनको अडान छ ।

दोस्रो– हाताहाती गरौं, उधारो सहमति हुँदैन । सत्तामा शक्ति सन्तुलन मिलाउनेदेखि पार्टीलाई क्रियाशील बनाउनेसम्मका विषयका सहमति उधारो हुन नहुने नेपालको अडान छ । उनले भनेका छन्–जे गर्ने हो, अहिले नै गर्नुपर्छ । उधारो हुँदैन ।

तेस्रो– मौखिक हुन्न, लिखित हुनुपर्छ । विगतका लिखित सहमतिहरु नै अलपत्र पारेर पार्टीलाई संकटतिर धकेल्ने काम भएकाले अबको सहमति लिखित हुनुपर्ने नेपालको अडान छ । उनका अनुसार, यो शर्त माने मात्र थप छलफल हुन्छ । अब अनौपचारिक हैन, पार्टी कमिटीको लिखतमा निर्णय हुनुपर्छ र त्यो कार्यान्वयनमा जानुपर्छ ।

चौथो– न्यायको प्रत्याभूति, पूर्वाग्रहको अन्त्य । तत्कालीन एमालेको नवौं महाधिवेशनयता लगातार पार्टीको नेतृत्वबाट पूर्वाग्राही निर्णय भएको नेपालको धारणा छ । पार्टी जिम्मेवारी र राजकीय भूमिकामा ओलीले इतर समूहलाई लगातार किनारा पार्ने र नामै सुन्न नचाहने प्रवृत्ति देखाएको नेता नेपालको निष्कर्ष छ ।

उनको भनाइ छ, पार्टीमा गुट छ । कुनै गुट नजिक भएकै कारण कसैले संरक्षण नपाउने भन्ने हुँदैन । केपी ओलीलाई साथ दिनेमध्ये पनि सवैले संरक्षण नपाएकाले न्यायको प्रत्याभूति र पूर्वाग्रहको अन्त्य हुनपर्छ ।

पाँचौं– सहमति/निर्णय नमान्नेको विपक्षमा उभिनुपर्छ । सहमतिको प्रस्ताव लिएर आउने नेताहरुलाई नेपालले सोध्ने गरेका छन्–ओलीले सहमति पालना गरेनन् भने तपाईंहरु मेरो एजेण्डाको पक्षमा सार्वजनिक रुपमा बोल्नुहुन्छ ? त्यो सकिँदैन भने पहिले केपीजीको विश्वास जितेर आउनुहोस् ।

नेता नेपालको भनाइ छ– सहमति/निर्णय नमान्ने जुनसुकै नेताको विपक्षमा बोल्न सक्नुपर्छ । जुनसुकै खेमामा संलग्न भएपनि पार्टी निर्णय उल्लङ्घन गर्नेविरुद्व बोल्न तयार हुनुपर्छ ।

माधव नेपालको अन्तिम शर्त छ– सहकर्मी कमरेडहरुलाई धोका दिन्न । आफ्नो एजेण्डा, कार्यक्रम र अडानको पक्षमा रहेका नेताहरुलाई धोका दिएर अर्को कुनै प्रस्ताव स्वीकार गर्दिनँ । उनले भन्ने गरेका छन्, ‘पार्टीलाई विधि–पद्दतिमा चलाउनुपर्छ, गतिशील बनाउनुपर्छ भन्ने एजेण्डामा साथ दिने कमरेडहरुलाई धोका दिएर कुनै सहमति गर्दिनँ । कसैलाई अन्याय हुन दिन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment