
२५ मंसिर, काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले चीन–भारत सम्बन्ध पछिल्लो तीनदेखि चार दशकयताकै सबैभन्दा कठिन स्थितिमा रहेको बताएका छन् ।
चीनसँग लद्दाख क्षेत्रमा पछिल्लो केही महिनादेखि तनाव जारी रहेको अवस्थामा भारतीय विदेशमन्त्रीले यस्तो बताएका हुन् ।
चीन र भारतबीचको तनाव गत जुनयता उल्लेख्य रुपमा बढेको हो । गत जुनमा सीमा क्षेत्रमा भएको झडपको क्रममा कम्तीमा २० भारतीय सेनाको मृत्यु भएको थियो ।
यद्यपि चीनतर्फ भएको क्षतिको विषयमा भने अहिलेसम्म कुनै विवरण सार्वजनिक गरिएको छैन । दुवै मुलुकले एकअर्कालाई सीमा पार गरेको आरोप लगाउँदै आएका छन् ।
बुधबार अष्ट्रेलियन थिंकट्यांक लोवी इन्ष्टिच्युटको भर्चुअल सेसनमा बोल्दै जयशंकरले यो अवस्थामा चीन–भारतबीचको तनाव अझै बढ्न सक्ने बताएका छन् ।
उनले यसअघि सन् १९७५ मा मात्र सीमाक्षेत्रमा सैनिकको मृत्यु भएको स्मरण गर्दै अहिले समयको संवेदनशीलतालाई बुझ्नु जरुरी रहेको बताए । जयशंकरले सन् १९८८ यता भारतको चीनसँगको सम्बन्ध तनावपूर्ण रहे पनि सही दिशामा अघि बढ्दै आएको बताए ।
जयशंकरले भारत र चीनबीच सीमाक्षेत्रमा शान्ति स्थापनाको लागि धेरै वार्ता र सम्झौता भए पनि चीनले यसअघिका सम्झौता उल्लंघन गर्दै आएको आरोप लगाए ।
चीनले विभिन्न पाँच कारण देखाउँदै सीमाक्षेत्रमा हजारौं सेना उतारेको जयशंकरको भनाइ छ । चीनको यस्तो कामले गर्दा दुई मुलुकबीचको सम्बन्ध कमजोर बनेको जयशंकरको भनाइ छ ।
स्रोत : अलजजिरा
प्रतिक्रिया 4