Comments Add Comment

किम्फ सुरू, घरमै बसेर निःशुल्क चलचित्र हेर्न सकिने

२५ मंसिर, काठमाडौं । काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को १८ औं संस्करण सुरू भएको छ । बिहीबारदेखि सुरू भएको महोत्सवका सबै चलचित्र घरैबाट हेर्न सकिने किम्फका अध्यक्ष बसन्त थापाले जानकारी दिए ।

महोत्सवमा प्रदर्शन गरिने फिल्महरू भीमीओमा किम्फको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

थापाका अनुसार महोत्सवमा प्रदर्शन गरिने चलचित्र पाँच दिनसम्म वेबसाइटमा रहन्छ । दर्शकले कुनै पनि शुल्क तिर्नुपर्दैन ।

चलचित्र विकास बोर्डको सभाहलमा समाजिक दुरी कायम गर्दै भएको एक समारोहमा महोत्सवका अध्यक्ष थापाले पहिलोपटक भर्चुअल फिल्म महोत्सव सुरु भएको घोषणा गरे ।

२९ मंसिरसम्म चल्ने यो वर्षको किम्फमा ३० वटा चलचित्र देखाइनेछ । जसमा १५ मुलुकका १८ वटा चलचित्र प्रदर्शनका लागि छानिएका छन् ।

नेपाल पानोरातर्फ कथानक र डकुमेन्ट्री गरी थप १२ वटा चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

फेस्टिभलको क्रममा सिनेकर्मी र वक्ताहरूसित ‘भर्चुअल’ अन्तरक्रिया र परिसंवादको कार्यक्रम पनि सञ्चालन हुने बताइएको छ ।

महोत्सवको तीन सदस्यीय निर्णायक मण्डलमा अमेरिकी डकुमेन्ट्री फिल्ममेकर जुली ब्रिजह्याम, स्वीस पत्रकार एवं फिल्ममेकर लिजा रुस्ली र नेपालका लेखक नयनराज पाण्डे रहेका छन् । अन्तर्राष्ट्रिय खण्डतर्फ पहिलो, दोस्रो र तेस्रो हुने चलचित्रले क्रमशः रू. २ लाख, रू. १ लाख ५० हजार र रू.१ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

उक्त पुरस्कार राशि क्रमशः नेपाल पर्वतारोहण संघ, हिमालयन इन्टरनेसनल माउन्टेन फिल्म अफ चाइना (हिम्फ) र स्वीट्जरल्यान्डका व्यवसायी उर्सला तथा फ्रेडी ओहल्यान्डद्वारा उपलब्ध गराइएको हो ।

१८ औं संस्करणसम्म आइपुग्दा किम्फको सन्देश ‘तमसोमा ज्योतिर्गमय’ र अंग्रेजीमा ‘अगेन्स्ट डिस्पेयर, टुवार्डस् होप’ भन्ने रहेको छ ।

किम्फको प्रत्येक संस्करणमा विश्वभरिबाट छानिएका फिल्म देखाइने गर्छ । त्यससँगै डकुमेन्ट्री र फिक्सन फिल्मबारे नेपाली युवा फिल्ममेकरहरू माझ परिसंवाद कार्यक्रम र अन्य बहसका कार्यक्रम पनि हुने गर्छ । १८ औं संस्करण अन्तर्गत यस वर्ष विश्व महामारी कोभिड–१९ र बन्दाबन्दीबारे बनाइएका विशेष डकुमेन्ट्रीहरूको प्रदर्शनपछि तिनबारे विशेषज्ञहरूमाझ छलफल र विमर्श गरिने छ ।

किम्फ इन्टरनेसनल अलायन्स फर माउन्टेन फिल्म नामक विश्व संस्थाको सक्रिय सदस्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment