Comments Add Comment

सेनाका रत्नजितलाई पराजित गर्दै प्रिन्स दाहाल फाइनलमा

फाइल फोटो

२५ मंसिर,काठमाडौं । नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल सेनाका रत्नजित तामाङ्गलाई पराजित गर्दै तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप-२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय स्तरिय पुरुष एकलको फाइनल प्रवेश गरेका छन् ।

बिहीबार सम्पन्न सेमिफाइनल खेलमा सिल्क ग्रुपका दाहालले तामाङ्गलाई २१-१९, २१-१६ को सोझो सेटमा पराजित गरे । निकैनै आक्रमक देखिएका प्रिन्सले रत्नलाई सम्हालिने मौकानै प्रदान गरेनन् । अब उपाधिका लागि प्रिन्सले सेनाका नविन श्रेष्ठको सामना गर्नेछन् ।

सोझो सेटमा रत्नजितलाई पराजित गरेका प्रिन्सले नम्बर वान खेलाडीविरुद्ध एकलमा ऐतिहासिक जित हात पारेका हुन् । यसअघि टिम इभेन्टमा रत्नजितलाई पराजित गरेपनि प्रिन्सले एकलमा रत्नजितलाई पहिलो पटक हराएका हुन् ।

पहिलो पटक एकलमा रत्नजितलाई हराएपछि प्रिन्सले खुशी लागेको बताए । ‘मैले राम्रो ट्रेनिङ गरेको थिएँ, जित्छु भनेर नै आएको थिएँ । सफलता हात लाग्यो खुशी छु,’ प्रिन्सले अनलाइनखबरसँग भने ।

प्रिन्सले आफ्नो खेल राम्रो भएकोले जित हात पारेको बताए । ‘मेरो खेल राम्रो भएर नै जित हात पारेको हो । नम्बर वान खेलाडीविरुद्ध जित हात परेपछि अझै राम्रो गर्ने चुनौती छ ।’ अब ट्रेनिङ राम्रो गर्ने र आफूलाई फिट राख्ने प्रयास गर्नेछ ।

प्रिन्सले अब उपाधि जित्ने लक्ष्य रहेको पनि बताए ।

यसअघि आठौं राष्ट्रिय खेलकुद अन्तरगत दाङ्गमा भएको ४०औं राष्ट्रिय प्रतियोगितामा पनि सुदूरपश्चिमबाट खेलेका प्रिन्सले मेन्स टिम इभेन्ट्समा रत्नलाई पराजित गरेका थिए । हालै निस्केको विश्व जुनियर वरीयतामा प्रिन्स ११औं स्थानमा रहेका छन् भने ब्याडमिन्टन एसियाले प्रिन्सलाई उत्कृष्ट जुनियर खेलाडी घोषित गरेको थियो ।

साँगाचोकगढी नगरपालिकाको प्रायोजन तथा तोप -२१ को आयोजनामा भएको प्रतियोगिताको अर्को सेमिफाइनलमा नवीनले सेनाकै रुकेश महर्जन माथि २१-१७, २१-१० को जित निकाल्दै फाइनलमा प्रिन्ससँगको भेट पक्का गरेका हुन् ।

आजै भएको क्वाटरफाइनलको खेलमा सेनाका रत्नजितले पुलिसका जीवन आचार्यलाई २१-१०, २१-१३ र प्रिन्सले सेनाका पविन लिनथेपलाई दुवै सेट २१-१७ को समान अंकले पराजित गर्दै सेमिमा भिडन्त पक्का गरेका थिए ।

यस्तै अर्को खेलमा नवीनले आफ्नै क्लबका प्रफुल महर्जन माथि २१-१२, १६-२१ र २१-१८ तथा सेनाका रुकेश महर्जनले एपीएफका साजन कृष्ण ताम्राकारलाई २१-१३, २१-१६ को सोझो सेटमा पराजित गर्दै सेमिमा स्थान पक्का गरेका थिए ।

कोरोनाका कारण प्रतियोगिताबाट बञ्चित रहेका राष्ट्रिय खेलाडीहरुले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाइरहेका छन् ।

राष्ट्रियस्तरका १६ खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भोली हुनेछ ।

राष्ट्रिय स्तरको पुरुष एकलका विजयी खेलाडीले नगद १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् ।

ब्याडमिन्टनको इतिहासमा यति ठूलो रकमको पुरस्कार रहेको यो पहिलो हो । यस्तै सेमिफाइनलिष्ट रत्नजित र रुकेशले जनही १०-१० हजार प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment