+
+
WC Series
Won Nepal
147/9 (20)
VS
Nepal won by 5 runs
Qatar
142/10 (20)
Shares

धरापमा अष्ट्रेलिया–चीन सम्बन्ध

प्रतीक सिग्देल प्रतीक सिग्देल
२०७७ मंसिर २६ गते ११:२५

२६ मंसिर, तास्मानिया । विगत केही महिनायता संसारका दुई विकसित मुलुकहरु अष्ट्रेलिया र चीनबीचको भाइचारा सम्बन्धमा दरार उत्पन्न हुन थालेको छ । चाहे त्यो दरार राजनैतिक होस् वा व्यापारिक, दुवै मुलुकले एक अर्काप्रति पेचिलो आरोप प्रत्यारोप लगाइरहेका छन् ।

विश्लेषकहरुका अनुसार कोभिड–१९ महामारीको उत्पत्ति र नियन्त्रण गर्ने सवालमा चीन असफल भएको विषयलाई लिएर अष्ट्रेलियाले चीनविरुद्ध औंला ठड्याएपछि उक्त आरोपको जवाफमा चीनले अष्ट्रेलियाबाट निर्यात हुने केही उत्पादनहरुमा सीमा शुल्क भारी मात्रामा वृद्धि गराएर व्यापार युद्धको सुरुवात गर्यो ।

चीनले यही वर्षको १९ मेबाट अष्ट्रेलियाबाट आफ्नो देशमा निर्यात हुने जौ र गाईको मासुमा भारी मात्रामा सीमा शुल्क लगायो । हालसम्म चीनले अष्ट्रेलियाका करिब १० किसिमका उत्पादनहरुमध्ये कुनैमा पूर्णरुपमा प्रतिवन्ध लगाएको छ भने कुनैमा भारी मात्रामा सीमा शुल्क वृद्धि गरेको छ ।

व्यापार युद्धको सुरुवात

कोभिड–१९ महामारीको उत्पत्ति चीनको वुहान शहरबाट भएको र चीन सरकार उक्त महामारी रोक्न असफल भएको भन्दै गत अप्रिल महिनामा अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले विश्व स्वास्थ्य संगठनसमक्ष निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका थिए । उक्त आरोपलाई चीनले अझैसम्म नकार्दै आएको छ ।

विश्लेषकहरुका अनुसार अष्ट्रेलियाको यही आरोपका कारण चीन अष्ट्रेलियासँग रिसायो र उक्त भनाइ फिर्ता नलिए ‘नकारात्मक नतिजा’ भोग्न अष्ट्रेलियालाई धम्की दियो । अष्ट्रेलिया आफ्नो भनाइमा अडिग देखिएपछि यही वर्षको मे महिनाबाट चीनले अष्ट्रेलियामा उत्पादन हुने जौको निर्यातमा ८० प्रतिशत सीमा शुल्क वृद्धि गर्यो ।

जौ रोप्ने सिजनताका लिइएको उक्त निर्णयले अष्ट्रेलियाका किसानहरुमा निराशा छायो, जसका कारण यी दुई देशको करिब १५ अर्ब डलरको जौ व्यापार संकटमा फर्यो । यसले अष्ट्रेलियाको अर्थतन्त्रमा धेरै ठूलो घाटा लागेको विश्लेषकहरु बताउँछन् ।  यहीँबाट यी दुई देशको व्यापार युद्ध सतहमा आयो ।

यसपछि पनि अष्ट्रेलियाले आफ्नो भनाइबाट पछि नहट्ने हठ लियो भने चीनले अष्ट्रेलियाबाट निर्यात हुने अन्य उत्पादनहरुमा पनि प्रतिवन्ध लगाउँदै गयो ।

जौको निर्यातमा भारी मात्रामा सीमा शुल्क लगाएको चार दिनपछि चीनले अष्ट्रेलियाका चार वटा मासु प्रशोधन केन्द्रबाट उत्पादन हुने गाईको मासु खरिदमा एक्कासी प्रतिबन्ध लगायो । त्यसपछि ७ वटा मासु प्रशोधन केन्द्रबाट उत्पादन हुने मासुको आयातमा चीनले पूर्णरुपमा प्रतिबन्ध लगायो ।

त्यति मात्र होइन, विभिन्न कारणहरु देखाउँदै अष्ट्रेलियाबाट उत्पादन हुने वाइन, काठ, कोइला लगायतका करिब १३ वटा उत्पादनहरुमा हालसम्म चीनले पूर्णरुपमा प्रतिवन्ध लगाएको छ ।

महामारीका कारण पहिल्यैदेखि नै धरापमा परेको अष्ट्रेलियाको अर्थतन्त्र चीनको एक पछि अर्को प्रतिवन्धका कारण झन् लथालिंग भयो ।

महामारीका कारण बन्द भएको व्यापार व्यवसाय र धेरथोर उत्पादित वस्तु निर्यातमा चीनले प्रतिबन्ध लगाएका कारण जुन महिनामा अष्ट्रेलियाका अर्थमन्त्रीले देशमा आर्थिक संकट आएको आधिकारिक रुपमै घोषणा गरे ।

…त्यसपछि झन् चिसियो सम्बन्ध

गत महिनासम्म अष्ट्रेलिया र चीनको सम्बन्धलाई गहिरिएर अध्ययन गर्ने हो भने यी दुई देशको सम्बन्ध विशुद्ध व्यापारिक युद्धमा मात्र केन्द्रित थियो । जसमा चीनले एकोहोरो अष्ट्रेलियाबाट उत्पादन हुने सामानहरुलाई लक्षित गरी प्रतिवन्ध लगाइरहेको थियो भने अस्ट्रेलियाले मौखिक रुपमा मात्र विरोध जनाइरहेको थियो ।

अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा अध्ययन गर्ने जो कोइले हालसम्मको स्थितीलाई केलाउँदा यी दुईको युद्धमा चीन आक्रामक तथा अस्ट्रेलिया रक्षात्मक अवस्थामा रहेको निष्कर्ष निकालेका थिए ।

तर गत महिनामा चीनका अर्थमन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जालमा अष्ट्रेलियन सैनिकले अफगानिस्तानका एक बालकको घाँटीमा चक्कु राखेको जस्तो देखिने तस्विर पोस्ट गरेपछि यी दुई देशबीचको द्वन्द्वको आगोमा घ्यु थप्ने काम गर्यो । उक्त तस्वीरलाई अस्ट्रेलियाले नक्कली भनेको छ ।

अस्ट्रेलियन डिफेन्स फोर्स रिपोर्टका अनुसार २००५ को अफगानिस्तान युद्धमा अष्ट्रेलियाका सैनिकले अफगानिस्तानका ३९ जना युद्ध बन्दी, नागरिकहरु र बालबालिकालाई क्रुरतापूरर्वक हत्या गरेका थिए ।

उक्त तस्वीरले अन्तर्राष्ट्रिय जगतमा आफ्नो ‘अपमान’ भएको भन्दै अष्ट्रेलियाले चीनलाई माफी माग्न अनुरोध गरेको थियो, जसलाई चीनले ठाडै अस्वीकार गर्यो । यी दुई देशको सम्बन्ध अझै चिसिनुमा यही कारणले बल पुर्यायो ।

यति मात्रै होइन, अष्ट्रेलियाकी एक नेतृले चीनको हेपाई अपाच्य भन्दै अष्ट्रेलियन नागरिकहरुले चीनियाँ सामान वहिष्कार गन आह्वान गरेकी छन् ।

अब के हुन्छ ?

चीन अष्ट्रेलियाको सबैभन्दा ठूलो ‘ट्रेडिङ्ग पार्टनर’ हो । अष्ट्रेलियामा उत्पादित सामाग्रीको निर्यातको कुल ३२ दशमलब ६ प्रतिशत चीनमा निर्यात हुन्छ । अर्थशास्त्रीहरु तथा विश्लेषकहरु यी दुई देशको सम्बन्ध झन् चिसिएमा भविष्यमा यी दुवै देशलाई घाटा हुने कुरा औल्याउँदै आएका छन् ।

वर्तमान अवस्थामा यी दुई मुलुकबीच देखिएको व्यापारिक तथा कूटनीतिक तनावले कुन मोड लिन्छ भन्ने आगामी दिनले देखाउँछ । तर विश्लेषकहरुका अनुसार दुवै देशले आ–आफ्नो राष्ट्रिय हितलाई नोक्सान नहुने गरी साझा प्रोजेक्टहरुमा काम गर्नु पर्ने सुझाव दिएका छन् ।

हालसम्मको स्थिति हेर्ने हो भने, यी दुई मलुकबीचको सम्बन्ध चाँडै नै सुध्रिने अवस्था देखिँदैन । अब हेरौं, सम्बन्ध सुधारका निम्ति कुन मुलुकले कस्तो कदम चाल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?