Comments Add Comment

मौन आमा र निर्दाेष छोराहरू !

महिला हिंसा न्यूनीकरणका लागि आयोजित एक गोष्ठीमा वरिष्ठ पत्रकार बविता बस्नेतले भनेको सम्झन्छु- एउटा लोग्नेले सधैं श्रीमती कुट्नेरहेछ । न आमाले लोग्नेको कुटाइको प्रतिवाद गर्दिरहिछन् न त उसले जन्माएको छोराले नै रोक्दोरहेछ । उसले जन्मिएदेखि त्यही देखिरहृयो । बाबुले कुट्ने, आमा चुपचाप सहने ।

जन्मिएदेखि देखिरहेको कुरो छोरालाई सामान्य लाग्यो । तर, जब नाति बुझ्ने भयो, उसले हजुरबुबाको विरोध गर्‍यो । तर, हजुरआमाले नातिलाई भनिछन् ‘भो छोडी दे, यी बाँचेका छन् र त मलाई कुटेका छन् ।’

हामी स्रोता निःशब्द भयौं । तर, मनचाहिँ शब्दहीन हुनै सकेको छैन । कसले भन्ने आमाहरूको यही पतिभक्ति नै महिला हिंसाको जरा हो भनेर । पढेर परिवर्तन हुने भए अघिल्लो पुस्ताका प्रायः पुरुषहरूले पढ्ने अवसर पाएका थिए । देखेर परिवर्तन हुने भए उनीहरू नै घर बाहिर धेरै हुन्थे र छन् । तर, त्यसो हुँदै भएन ।

बाबुले आमालाई जस्तो व्यवहार गर्‍यो, छोराछोरी पुस्तामा त्यही हस्तान्तरण हुँदै गयो । महिलाहरू चुपचाप सहने, पुरुषहरू ठोकठाक गरिरहने । अनि घरेलु हिंसा कसरी कम हुनु ! शिक्षा र शक्तिमा पुरुषकै पहुँच रहने भयो ।

महिला भनेको ‘अबला’ र पुरुष भनेको ‘बलवान’ भनेर पाठ्यपुस्तकमै राखियो । त्यो पुस्तक पढिरहेको पुस्ताले एक अर्कोलाई कमजोर र बलिष्ठ भनेर बुझिरहेको छ । बलियोले निर्धाेलाई दबाउने प्रकृतिको नियम नै छ, अनि महिला हिंसा वा लैँगिक हिंसाका विरुद्ध सन्धि गरेर, खुल्ला मञ्चमा भाषण गरेर महिला हिंसा वा लैंगिक हिंसा कम हुने कुरै भएन ।

संयुक्त राष्ट्र संघको महासभाले सन् १९९९ मा ‘अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस’ को घोषणा गरेको पनि २१ वर्ष पूरा भएको छ । विगत २० वर्षदेखि १६ दिने महिला हिंसा विरुद्धका अभियानहरू चलिरहेका छन् । जति-जति अभियान र आवाजहरू उठ्दै जान्छन्, हिंसाका घटना उति-उति बढ्दै गैरहेका छन् ।

महिला हिंसा रोक्ने अभियानका लागि प्रहरीसँगको साझेदारी कार्यक्रम पनि नभएका होइनन् । सरकारले त शून्य सहनशीलताको नीति नै लियो तर परिणाम के आयो त खै ? खोज्न ढिलो हुँदै छैन र ? हामीले गरिरहेका अभियानको मूल्यांकन गर्नेबेला भएको हैन र ?

विश्वका एक तिहाइ महिला आफ्नै जीवनसाथीबाट पीडित भएको तथ्यांक सार्वजनिक भैरहँदा एक तिहाइ पुरुषहरूलाई पीडक घोषित गर्ने कि नगर्ने ? बिहान ऊभन्दा छिटो उठेर घर धन्दा, केटाकेटी, बुढाबुढीको रेखदेखमा तल्लीन गृहणी सबैभन्दा ढिला विस्तरामा पुग्छे । अझै बाँकी रहन्छ- उर्वसीको भुमिका । उफ ! अनि उ नै बेकम्बा ठहरिने ? उसमाथि भावनात्मक र सांघातिक हिंसा भैरहने ?

अझ कामकाजी महिलाका दुःखका कथा भनिसाध्य होलान् र ? सँगसँगै कामबाट फर्किएको लोग्ने सोफामा बसेर साथीसँग गफिइरहँदा ऊ खाजापानीको व्यवस्थापनमा भान्सातिर दगुर्छे । अफिसको हृयाङ्ग उत्तार्न नपाउँदै केटाकेटीका गुनासा सुरु हुन्छन् ।

अझ सासू-ससुरासाथमै हुनेको त के कुरा । बुहारी दुई खुट्टा टेकेर उभिन सक्दासम्म उसलाई सघाउने कोही हुँदैन । छोरो काम गरेर आउँदा थकित देख्ने बाबुआमा बुहारी काममा जानू भनेको मस्ती गर्न पाउनु हो । घर आएपछि त घरको काम पुराका पूरा गर्नुपर्‍यो भन्ने सोचाइ आउनु कति उचित र कति अनुचित हो ? छोराले बुहारीलाई यसो सघाउन खोज्यो भने जोईटिंग्रेमा दर्ज हुन्छ । हामी र हाम्रो सोच कति उदार छ, योभन्दा बढी भन्ने आवश्यकता नपर्ला ।

लोग्नेले गुड फ्राइडे मनाइरहँदा ऊ आफ्नै भाग्यलाई धिक्कारिरहेकी हुन्छे । उसका हरेक रहर, इच्छाहरू परिवारकै लागि सुरु हुन्छन् र अन्त्य पनि त्यहीँ हुन्छन् । खै त मूल्यांकन ?

छोरीहरूको मायाले छचल्किने मन बुहारीमा आएर किन यति कठोर हुन्छ होला ? बुहारी अर्कै ग्रहबाट आउने त होइन नि । आवाज उठायो भने मुखाले, चोथाले अनेक उपनामले विभुषित हुँदै जान्छन्, सरकारी अफिसका कर्मचारीहरू विभिन्न मानपदवीले विभूषित भएजसरी ।

यो अवस्थाको सृजना हामी महिलाहरूबाटै त हुँदै छैन ? आमा मौन बसेका कारण छोराले बाबुको हिंसा रोक्नुभन्दा श्रीमतीमाथि हात उठाउने । गलत काम गर्दा आफ्नै छोरा, आफ्नै भाइ, साख्खै दाइ, मामा, बाबु, सानाबाउ र ठूलोबाउहरूलाई जोगाउन महिलाहरू नै त लागेका छैनौं ? छोरीहरूलाई ‘घर राम्रोसँग खाएस्, माईतीको इज्जत् नफालेस’ भनेर घोकाइरहेका कारणले पनि हुन सक्छ महिलाहरू मौन रहेका । माइती र घरको इज्जत जोगाउने अभिभारा बोकेका महिलाहरू दुबैतिरको इज्जत जोगाउन र सन्तानको भविष्यको सुरक्षाका खातिर लोग्नेले गरेका हरेक करतुत ढाकछोप गरिरहेका त छैनौं ? जसका कारण पीडकको मनोबल झन् झन् बढ्दै गएको त हैन ?

पीडक जुनसुकै नाता र सम्वन्धको होस्, उसलाई उचित दण्ड दिनु तपाई हाम्रो प्रमुख दायित्व हो । तपाईंको मौनता नै हिंस्रक समाज निर्माणको आधार हो ।

पहिलो पाठशाला घर प्रथम गुरु आमा हुन् । कतिपय बच्चाहरू यस्ता हुन्छन् कि बाहिर साथीसँग केही भन्न नसक्ने । अरूसँग केही नबोल्ने अनि घरमा आएर झगडा गर्ने । उसको कमजोरीलाई सुधार्नुको सट्टा हामी उसलाई ‘घरको बाघ वनको स्याल’ भनेर जिस्क्याउँछौं । साथीको कुटाइ खाएर रुँदै आउँदा यसरी प्रतिरक्षा गर् भनेर कहिल्यै सिकाएनौं । यसैको प्रतिफल हुन सक्छ बाहिर साधु देखिने पुरुषहरू घरमा हिंस्रक देखिने । समाजमा वा अफिसमा हाकिम र सहकर्मीका गलत कर्मको प्रतिकार गर्न नसक्ने । अनि, घरभित्र छिर्नासाथ रिसाउने, चिड्चिडाउने हुने ।

बाहिर पखालेको सेतो मुलाजस्तै सफा देखिने पुरुष घरभित्र श्रीमतीको पीडक बनिरहेका छन् । जुन कुराको विश्वास गर्न बाहिरी मान्छेलाई हम्मेहम्मे पर्छ । हो, मान्छेभित्र देव र दानव दुबै प्रवृत्ति हुन्छन् । भित्र रहेको दानवलाई बाहिर निकाल्ने अनेकौं माध्यम हुन सक्छन्, लेखपढ, ध्यान, साधना, प्रवचन आदि-आदि । ती सबैलाई निषेध गरेर दानवत्व विसर्जन गर्ने ठाउँ श्रीमतीलाई बनाउनु कत्तिको जायज हो ? आमा तिमी मौन भएर यहीँनेर चुक्यौ कि ? मलाई ती कमजोरमाथि बलिष्ठ भएको ढोङ रच्ने ती निरीह छोराहरूप्रति गहिरो समवेदना छ ।

शिक्षालयभन्दा अर्को दह्रो पाठशाला परिवार र समाज हो । जसको आफ्नै नियम र कानुन छ । ‘ठूलाले जे गरे काम हुन्छ त्यो सर्वसम्वत’ भनेर ठूलाहरूलाई आदर गर्न प्रेरित गर्छ । तर, ठूलो उमेरले हुँदैन भन्ने कुरा समाजलाई नै थाहा छैन ।

हामीले हाम्रा सन्तानलाई न त उचित शिक्षा दियौं, न गलत कामलाई गलत भन्न सिकायौँ । न त मन नपरेको कुरामा ‘नो’ भन्न दियौं । समाज जहिले पनि बलेको आगो ताप्न तल्लीन भयो । निर्दाेषका विषयमा मौन बस्यो भनौं वा झन पीडक बन्यो ।

समाज सही र गलत छुट्याउन छोडेर सधैं परम्पराको निरन्तरताको पक्षमा रहृयो । उदाहरणका लागि छाउपडी, देउकी प्रथा, कम्लरी, बोक्सी, कुमारी, बालविवाह, अनमेल विवाह र बलात्कारजस्ता जघन्य अपराधमा मिलापत्र । यसैको खबरदारी गर्न सामाजिक कार्यकर्ताको जन्म भयो ।

भलै अहिले देखावटी गर्नेहरूको बाक्लो उपस्थितिले सामाजिक कार्यकर्ता बदनाम भएका छन् । असल कार्यकर्ता ओझेलमा परेका छन् । हामीले हाम्रा सन्तानलाई हाम्रै लयमा ढाल्ने प्रयत्न गर्‍यौं । बाबुआमा र परिवारका लागि प्रेमी र प्रेमिका छोड्यौँ । परिवारले छानेको जीवनसाथी स्वीकार गर्दा मन र शरीरलाई विभाजन गर्‍यौं । अनि आफ्नो जीवनमा आएकी नयाँ सदस्यलाई केवल शरीरसँग मात्रै सीमित गर्‍यौं । सम्पूर्ण कुरा छोडेर तिम्रा लागि आएकी त्यो निर्दाेष केटीको समर्पणलाई उपहास गर्यौं ।  भुल्यौं । महिलाहरू संवेदनशील हुन्छन् भन्ने कुरा र खेल्न थाल्यौं उसको शरीरसँग ।

हिंसामा छोरी मात्रै होइन, छोरा पनि परेका छन् । तिमी धरती भएर होइन आमा, सरस्वती र दुर्गा भएर बोल । अब आवाज बिस्तराबाटै निस्कनुपर्छ आमा । भान्साबाट, घरघरबाट र चोक चोकबाट निस्कनु पर्छ

आत्मीयताविहीन त्यो रूखो शरीरसँग खेल्न असमर्थ महिलाहरू लोग्नेको जबर्जस्ती सहन विवश र लाचार भए । यौन शरीरका लागि खाना, पानीजस्तै आवश्यक हो भनेर भनिरहँदा भुल्यौं कि यौन एउटा क्रीडा पनि हो र यसका लागि दुबै पक्षको बराबर साथ र समर्पणको आवश्यकता पर्छ भन्ने कुरा । अनि महिला पीडित बनिरहे ।

तैपनि समाजमा राम्रो देखाउन र देखिन सन्तानका लागि आमाहरू चुपचाप लोग्नेको हिँसालाई सहँदै आए । ती लोग्नेबाट यौन हिंसामा परेका विश्वका एक तिहाइ आमाहरूप्रति गहिरो सहानुभूति प्रकट गर्दै अझै मौन रहनु भनेको तिमीपछिको पुस्ता पनि तिमीजस्तै बनाउनु हो । यसैले परिवार र समाजले के भन्ला भनेर मौन नबसौं ।

अब अभियान न त खुलामञ्चबाट होस् न त तारे होटलबाट । फोनका रिङ्गटोनमा, रेडियोका धुनमा, टीभीका धुनमा आओस् र घरघरबाट अभियान सुरु होस् । छोरा, बाबु र लोग्नेमाथि कडा निगरानी होस् ।

यसो भनिरहँदा असल र इमानदार पुरुष वर्गलाई ठेस लाग्ने छैन । आउनुस् तपाईंहरूको इज्जतमा धावा भैरहँदा यो अभियानमा तपाईंको साथ पनि उत्तिकै जरुरी छ । तपाईंका लागि र हाम्रा लागि अनि सभ्य र भव्य समाज निर्माणका लागि हातेमालो गरौँ ।

छोरीहरूलाई सबल हुन सिकाएर मात्रै हाम्रो कर्तव्य पूरा हुँदैन । छोराहरूलाई अनुशासनको उचित पाठ सिकाऊँ । दिदीबहिनी र छोरीहरूलाई कमजोर अवला होइन, तिम्रो बराबरी हो भन्न सिकाऊँ । छोरीलाई घरको काम सिकाउँदा छोरालाई पनि सँगै सिकाउँ ।

न केटा, न केटी कोही पूर्ण छैन । लोग्नेमान्छे बलवान् र शक्तिशाली हो भने उ किन सक्दैन एक्लै बाँच्न ? किन निर्माण गर्नुपर्याे झञ्झटिला सम्बन्धहरू ! ‘पूर्णताको खोजी र सृष्टिको निरन्तरता नै विवाह हो । ‘यहाँ न ठूलो लोग्ने हुन्छ, न सानी स्वास्नी हुन्छे । सहअस्थित्वको स्वीकार नै घर र परिवार सुन्दर हुने आधार हो । आदर्श परिवार र आदर्श समाज निर्माण गर्ने दायित्व महिलाको मात्रै हो भनेर सोच्नु सरासर गलत हो ।

हामीले जे सिकायौं हाम्रा सन्ततिले त्यही सिक्ने हुन् । जीवनरुपी गाडीको चक्का एउटा चल्नु भनेको गाडीको धुरा भाँचिनु हो या यात्रा स्थिर हुनु हो । रोकिनु हो ।

एउटा सानो उदाहरण राख्न मन लाग्यो ।

यसपलिका चाडपर्व माहामारीका कारण खल्ला र निरस बने । अरु आफन्तीका त कुरै छोडौँ आफ्नै बाबुआमासँग टीका थाप्न जाने स्थिति रहेन । यस्तोबेला श्रीमान्/श्रीमतीवीच टीका आदान-प्रदान गरेका तस्वीरहरु सामाजिक सञ्जालमा देखिन थाले । त्यसमा अनेकन प्रतिक्रिया आए । धेरैले राम्रो भने पनि कतिमा संस्कृति र परम्पराको निरन्तरतामाथि चिन्ता छरपस्ट भयो ।

जन्मदाता उमा र महेश्वर । आमालाई महान मानेको ढोङ गर्ने छोराहरू, तिमीलाई फगत एउटा बाबुकी स्वास्नी मात्रै सोचिरह्यो । शिव र शक्तिको स्वरुप तिमी मौन बस्दा तिमीभन्दा तिमीले जन्माएको सन्तानको पनि सन्तानको मुल्य बढी भयो । यतिबेला आमा, तिम्रो मौनता र निर्दाेष छोराहरूको अघोरै माया लागेर आयो । यसैले आमा बोल ।

हिंसामा छोरी मात्रै होइन, छोरा पनि परेका छन् । तिमी धरती भएर होइन आमा, सरस्वती र दुर्गा भएर बोल । अब आवाज बिस्तराबाटै निस्कनुपर्छ आमा । भान्साबाट, घरघरबाट र चोक चोकबाट निस्कनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment