
२८ मंसिर, माडी । चितवनको माडीस्थित देवेन्द्रपुरमा बसोबास गर्दै आएका ५६ चेपाङ घरपरिवारलाई आइतबार जाडोबाट बच्नका लागि न्यानो कपडा वितरण गरिएको छ ।
माडी नगरपालिका-७ देवेन्द्रपुरको परुइ नदी किनारमा सुकुमबासीको रुपमा बसोवास गर्दै आएका ५६ चेपाङ घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको हो ।
चिसो बढेसँगै परुइ किनारका सुकुमबासी चेपाङ परिवारलाई समस्या परेको जानकारी पाएपछि चितवन समाज जापानको सहयोगमा प्रति परिवार एक एक थान ब्लाङ्केट, तकिया र म्याट वितरण गरिएको हो ।
नगर प्रमुख ठाकुरप्रसाद ढकालले सुकुम्बासी चेपाङ परिवारलाई न्यानो कपडा वितरण गरेका हुन् । न्यानो कपडा वितरण गर्दै उनले सहयोग गर्ने संस्थालाई धन्यवाद समेत दिए ।
कार्यक्रममा सुकुम्बासीवस्ती व्यवस्थापन समितिका अध्यक्ष छवि चेपाङले विपत्तिको बेलामा सहयोग पुर्याएकोमा खुसी व्यक्त गरे ।
चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
पुरस्कारको रकमबाट बालबालिकालाई स्टेशनरी
पत्रकार नारायण सापकोटाले आफूले पाएको पुरस्कारको रकमबाट चेपाङ बालबालिकालाई स्टेशनरी वितरण गरेका छन् ।
सापकोटाले शनिबार स्व. तिलचन साँखी स्मृति पत्रकारिता पुरस्कारबापत ११ हजार ३ सय रुपैयाँ पाएका थिए ।
सोही पुरस्कार रकमबाट उनले माडी नगरपालिका-९ को राईडाँडामा बसोबास गरिरहेका सुकुमबासी चेपाङ परिवारका ६५ जना बालबालिकाहरुलाई आइतबार स्टेशनरी सामान वितरण गरेका हुन् ।
पढाइमा सहयोग होस् भन्ने उद्देश्यले चेपाङ परिवारका बालबालिकालाई सहयोग गरेको उनले बताए ।
प्रतिक्रिया 4