Comments Add Comment

चिनी उद्योगीलाई उद्योग मन्त्रालयको २४ घण्टे अल्टिमेटम

२९ मंसिर, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले किसानलाई उखुको मुल्य भुक्तानी गरेको विवरण पेश गर्न चिनी उद्योगीलाई भोलिसम्मको समय दिएका छन् ।

उखुको भुक्तानी नपाएका सर्लाहीका किसानले काठमाडौंमा प्रदर्शन थालेको दोस्रो दिन सोमबार मन्त्रालयमा उद्योगीसँगको छलफलमा मन्त्री भट्टले यस्तो निर्देशन दिएका हुन ।

आन्दोलनरत किसानसँग गर्ने भनिएको वार्ता हुन नसकेपछि उद्योगीसँग वार्ता भएको र मंगलबार पुनः वार्ताका लागि आन्दोलनरत किसानलाई बोलाइएको मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले जानकारी दिए । उनका अनुसार १८ पुस २०७६ को सहमति अनुसार भएको भुक्तानीको प्रमाण पेश गर्न मन्त्रीले निर्देशन दिएका हुन् ।

‘किसानलाई भुक्तानी गर्ने विषयमा भएको बिलम्बबारे मन्त्रीज्यूले उद्योगीहरूसंग प्रष्टीकरण माग्नुभयो, उद्योगीहरू प्रमाण पेश गर्छौं भन्नुभएको छ,’ प्रवक्ता रेग्मीले भने ।

उद्योग मन्त्रालयले गरेको छलफलमा अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल र श्रीराम सुगर मिलका सञ्चालक विशाल अग्रवाल सहभागी थिए । राकेशको दुई मिलको २२ करोड र विशालको मिलको २७ करोड रुपैयाँ वक्यौता छ ।

मन्त्रीसँगको छलफलमा राकेश अग्रवालले गत वर्षको सम्झौतापछि आफूले १८ करोड रुपैयाँ तिरेको र बाँकी रकम पनि तिर्ने प्रतिबद्धता जनाएका थिए ।

विशाल अग्रवालले भने सरकारी कानुनकै कारण भुक्तानी गर्न नसकिएको दाबी गरेका थिए । उद्योगको जग्गा बिक्री गरेर किसानको पैसा तिर्न मन्त्रालयमा गत वर्ष नै निवेदन दिए पनि प्रक्रिया जहाँको त्यही रहेको उनको जवाफ थियो । मन्त्रालयले भने उक्त उद्योगको बक्यौता गत वर्षदेखि जस्ताको त्यस्तै रहेको जनाएको छ ।

लुम्बिनी चिनी मिलका सञ्चालकको निधन भएको र परिवारका अन्य सदस्य सम्पर्कमा नआएकाले भुक्तानीमा प्रगति नभएको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।

मंगलबार विहान ११ बजे उद्योग मन्त्रालयले आयोजना गर्ने छलफलमा कृषिमन्त्री र गृहमन्त्री पनि सहभागी हुने भएका छन् ।

यो पनि पढ्नुहोस किसान मार्न पाइँदैन, यो व्यवस्था चाहिँदैन ! यो पनि पढ्नुहोस सरकारलाई उखु किसानको जवाफ : हाम्रो पैसा बोकेर मन्त्री माइतीघर आउनुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment