Comments Add Comment

२०२२ को टी-२० विश्वकप : नेपालले सिधै ग्लोबल क्वालिफायर खेल्ने

२९ मंसिर, काठमाडौं । सन् २०२२ मा अष्ट्रेलियामा हुने आईसीसी टी-२० विश्वकपमा नेपालले सिधै ग्लोबल क्वालिफायरमा खेल्न पाउने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सोमबार सार्वजनिक गरेको २०२२ को टी-२० विश्वकप रोडम्याप अनुसार नेपालसहित जिम्बावे, युएई र सिंगापुरले सिधै ग्लोबल छनोट खेल्न पाउने भएको हो । टी-२० वरियतामा अगाडि रहेको आधारमा नेपालसहित चार टिमले सिधै ग्लोबल क्वालिफार खेल्न पाउने भएका हुन् ।

ग्लोबल क्वालिफायरमा कूल १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसबाट शीर्ष चार टिमले मात्र विश्वकपमा स्थान बनाउनेछन् । २०२२ को विश्वकपका लागि बयोजकको रुपमा अष्ट्रेलिया सिधै छनोट भइसकेको छ । यस्तै सन् २०२१ मा भारतमा हुने टी-२० विश्वकपमा शीर्ष ११ स्थानमा रहने टिम पनि सिधै २०२२ को टी-२० विश्वकपमा छनोट हुनेछन् ।

बाँकी चार स्थानको लागि ग्लोबल क्वालिफायर हुनेछ । ग्लोबल क्वालिफायरमा नेपाल, जिम्बावे युएई र सिंगापुरसहित २०२१ को विश्वकपको अन्तिम चार टिम र रिजनल क्वालिफायरबाट आउने ८ टिमले खेल्नेछन् ।

आईसीसीले सन् २०२० अक्टोबर नोभेम्बरमा हुने टी-२० विश्वकपका लागि चार चरणमा छनोट प्रतियोगिता गर्ने गरी रोडम्याप सार्वजनिक गरेको हो ।

रिजनल क्वालिफायर अन्तर्गत इस्ट एसिया र अफ्रिकाबाट समान एउटा टिम ग्लोबल क्वालिफायरमा छनोट हुनेछन् । यस्तै अमेरिका र र युरोपबाट २-२ टिम ग्लोबल क्वालिफायरमा पुग्नेछन् भने एसियन रिजनमा दुई समूहमा क्वालिफायर हुनेछ र दुवै समूहबाट १-१ टिम ग्लोबल क्वालिफायरमा पुग्नेछन् ।

ग्लोबल क्वालिफायरमा १६ टिमलाई दुई समूहमा विभाजन गरिनेछ र दुई समूहको शीर्ष २-२ टिम अष्ट्रेलियामा हुने टी-२० विश्वकपका लागि छनोट हुनेछन् । जहाँ १६ टिमले टी-२० विश्वकप उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् ।

अष्ट्रेलियामा हुने विश्वकपसम्म पुग्नका लागि १३ महिनाको अन्तरालमा कूल २२५ टी-२० अन्तर्राष्ट्रिय खेल हुने आईसीसीले जनाएको छ । जसबाट उनीहरुले टी-२० वरीयतामा फड्को मार्ने अवसर पाउनेछन् । रिजनल क्वालिफायरमा कूल ६७ टिमले प्रतिस्पर्धा गर्ने र हंगेरी रोमानिया र सर्बियाले पहिलो पटक टी-२० विश्वकप क्वालिफायर खेल्ने आईसीसीले जनाएको छ ।

यसअघि सन् २०२० मा अष्ट्रेलियामा विश्वकप हुने तय थियो र त्यसका लागि १६ टिमको टुङ्गो लागिसकेको थियो । यस्तै २०२१ मा भारतमा अर्को टी-२० विश्वकप आयोजना गर्ने तयारी थियो ।

तर कोरोना महामारीले गर्दा लामो समय अन्तर्राष्ट्रिय क्रिकेट प्रभावित भएकोले अब २०२० को लागि छनोट भएका टिमहरुले सन् २०२१ मा भारतमा टी-२० विश्वकप खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment