Comments Add Comment

रोनाल्डो पेनाल्टीमा चुक्दा युभेन्ट्स बराबरीमा रोकियो

२ पुस, काठमाडौं । क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा चुकेपछि युभेन्ट्सले इटालियन सिरी ए मा एटलान्टासँग बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले एटलान्टासँग १-१ को बराबरी खेलेको हो ।

फेडेरिको चिएसाले २९औं मिनेटमा गोल गर्दै युभेन्टसलाई पहिले अग्रता दिलाएका थिए । ५७औं मिनेटमा रेमो फ्रउलरले एटलान्टाको लागि बराबरी गोल फर्काए ।

६१औं मिनेटमा युभेन्ट्सले अग्रता लिने अवसर पाएको थियो । तर रोनाल्डोले पेनाल्टीमा गोल गर्न सकेनन् । एटलान्टाका हान्स हाटेबोरले युभेन्ट्सका फेडेरिको चिएसालाई फाउल गरेपछि युभेन्ट्सले पेनाल्टी पाएको थियो । तर रोनाल्डोको प्रहार एटलान्टाका गोलकिपर पेरलुइगी गोलिनीले बचाए ।

बराबरीपछि १२ खेलबाट २४ अंकसहित युभेन्ट्स तेस्रो स्थानमै यथावत छ । ११ खेलबाट १८अंक रहेको एटलान्टा आठौं स्थानमा छ ।

लिग लिडर मिलान रोकियो

यस्तै सिरी ए को लिगर एसी मिलान पनि बराबरीमा रोकिएको छ । मिलानले जेनोअले घरेलु मैदानमा २-२ को बराबरीमा रोकेको हो ।

खेलमा जेनोअले दुई पटक अग्रता बनाएपनि मिलानले पुनरागमन गर्दै अंक खोस्न सफल भयो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ४७औं मिनेटमा माटिअ डेस्ट्रोले गोल गर्दै जेनोअलाई अग्रता दिलाएका थिए । ५२औं मिनेटमा ढेभिड कालाब्रिअले मिलानका लागि बराबरी गोल फर्काए ।

६०औं मिनेटमा डेस्ट्रवले नै गोल गर्दै जेनोअलाई फेरि अग्रता दिलाए । तर ८३औं मिनेटमा पिएरे कालुलुले गोल गर्दै खेल २-२ को बराबरी गरे ।

बराबरीपछि पनि १२ खेलबाट २७ अंक जोडेको मिलान शीर्ष स्थानमा यथावत नै छ । रेलिगेसन जोनमा संघर्षरत जेनोअ १२ खेलबाट ७ अंकसहित पुछारबाट तेस्रो स्थानमै छ ।

इन्टरले नापोलीलाई हरायो

सिरी ए कै अर्को खेलमा दोस्रो स्थानको इन्टर मिलानले नापोलीलाई १-० ले पराजित गर्दै लिडर एसी मिलानलाई पछ्याइरहेको छ । घरेलु मैदानमा भएको खेलमा रोमेलु लुकाकुको एक मात्र पेनाल्टी गोल मद्दतमा इन्टरले १० खेलाडीमा समेटिएको नापोलीलाई पराजित गरेको हो । लुकाकुले ७३औं मिनेटमा पेनाल्टीबाट गोल गरे ।

७०औं मिनेटमा नापोलीका गोलकिपर ढेभिड ओस्पिनाले माटेओ मार्मिनलाई फाउल गरेपछि इन्टरले पेनाल्टी पाएको थियो । त्यसपछि खराब शब्द बोलेका नापोलीका लरेन्जो इनसिग्ने रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए ।

त्यही पेनाल्टीमा लुकाकुले गोल गर्दै इन्टरलाई अग्रता दिलाए र त्यही गोल निर्णायक हुँदा इन्टरले ३ अंक जोड्यो । जितपछि १२ खेलबाट २६ अंक जोड्दै इन्टर दोस्रो स्थानमा छ । नापोली १२ खेलबाट २३ अंकसहित चौथो स्थानमा यथावत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment