Comments Add Comment

मिर्गौलाको उपचार गर्ने खर्च अभावमा घरमै लडिरहेकी छन् पुष्पा

छोरी पुष्पा र बाबु सोमलाल

२ पुस, काठमाडौं । शिकारीबास खोला नजिकै रहेको सुकुमबासी स्याउली बस्ती । जस्ता र खरले छाएको सानो झुपडी । ५२ वर्षीय एक पुरुष आफ्नी बिरामी छोरीको स्याहारसुसारमा व्यस्त देखिन्छन् । १५ वर्षीय छोरी बिरामी परेपछि दैनिक ज्यालामजदुरी गरेर खाने मेसो नै उनले भुलिसकेका छन् । जसका कारण उनको घरको चुलोमा नियमित आगो बल्न पनि छाडेको छ ।

दुवै मिर्गौला फेल भएकी १५ वर्षीया छोरी पुष्पालाई घरभित्रै रुँगेर बस्नुको विकल्प उनीसँग छैन किनभने आर्थिक अवस्था नाजुक छ ।

पर्साको ठोरी गाउँपालिका–४ स्याउलीबस्ती भएर वीरगञ्ज–ठोरी हुलाकी सडकमा दैनिक थुप्रै गाडीहरु तछाडमछाड गरेर गुडिरहेका हुन्छन् । तर ती गाडीहरुमा बिरामी छोरीलाई राखेर उपचारका लागि सुविधासम्पन्न अस्पताल पुर्याउने सामर्थ्य उनीसँग छैन, किनभने उनीसँग गाडीभाडा समेत छैन  ।

दुवै मिर्गौला फेल भएका कारण पुष्पाको शरीर सुन्निएको छ । पीडाले पुष्पा छटपटाइरहन्छिन् । तर पनि आफू विवश बनेर हेर्नुको विकल्प नभएको ४ सन्तानका पिता सोमलाल बताउँछन् ।

कच्ची घरभित्र मुढाजस्तै लडिरहेकी पुष्पाको अवस्था देखेर सोमलाल आफैँ पनि कहिलेकाहिँ अचेत हुन्छन् । तर पनि आफूलाई सम्हाल्दै उनले छोरीलाई खाना खुवाउने प्रयास गर्छन् । खाना खुवाउनेबित्तिकै छोरीले बान्ता गरेको देख्दा उनी आफैँ सम्हालिन सक्दैनन् । यो जाडो मौसममा घरमा सुत्नका लागि खाटसमेत नभएकाले चिसो भुइँमा नै ओछ्यान लगाएर उनले बिरामी छोरीलाई राखेका छन् । शरीर सुन्निएका कारण पुष्पा आफैँ हिँडडुल गर्न सक्दिनन् । उठ्नेवित्तिकै चक्कर लाग्ने भएकाले अरुको सहारामा मात्र उठ्न सक्ने सोमलाल बताउँछन् ।

 

चिकित्सकले पुष्पाको दुवै मिर्गौला फेल भएको सुनाए । नियमित डाइलायसिस गर्नुपर्ने सुझाव दिए । तर उनीसँग छोरीको उपचार गर्न पैसा थिएन । बाध्य भएर सोमलालले बिरामी छोरी पुष्पालाई घर नै फर्काएर ल्याए

अढाइ वर्षअघि मात्रै सोमलालले आफ्नी माइली छोरी गुमाउनु परेको थियो । शरीर सुन्निएर अल्पायुमा उनले माइली छोरीलाई गुमाउनु परेको थियो । अहिले साहिँली छोरी पनि शरीर सुन्निएर थला परेपछि सोमलाललाई ठूलो पहाडले थिचेजस्तो भएको छ । माइली छोरीलाई उपचारका लागि भरतपुर अस्पतालमा लगेको भएपनि रोग पहिचान नहुँदै उनको ज्यान गएको थियो ।

जेनतेन खर्च जोहो गरेर सोमलालले पुष्पालाई पनि एकपटक भरतपुरस्थित चितवन मेडिकल कलेज नपुर्याएका होइन । उपचारको क्रममा चिकित्सकहरुले पुष्पाका दुवै मिर्गौलाले काम नगरेको बताएपछि उनी छाँगाबाट खसे झैँ भए ।

‘डाक्टरले पुष्पाको दुवै मिर्गौला फेल भएको छ, अब नियमित डाइलायसिस गर्नुपर्छ भन्नुभयो’, उनले भने, ‘ऋणधन गरेर लगेको १ लाख ६२ हजार सकिसकेको थियो, उपचार खर्च अभावमा बाध्य भएर बिरामी छोरीलाई घर फर्काएर ल्याउन बाध्य भयौं ।’  डाक्टरले बिरामीको अवस्था जटिल भन्दाभन्दै पनि पैसा नभएर घर ल्याउनुपरेको सोमलाल बताउँछन् ।

जंगल फँडानी गरेर बसेको सुकुमबासी बस्तीमा उनको १ कठ्ठा घडेरी र १० कठ्ठा ऐलानी जग्गा छ । सो ठाउँमा जग्गा किनबेच नै हुँदैन । छोरीको उपचार र घर खर्च चलाउन लिएको ऋणले २ लाख नाघेको रुम्बा सुनाउँछन् । ‘छोरीको उपचार गर्ने अब कुनै उपाय नै छैन, पाखुरा नबजारे खान पनि पुग्दैन,’ सोमलालले भने ।

सोमलाललाई १२ वर्ष र ६ वर्षका दुई छोरीहरु तथा ८ वर्षको एक्लो छोराको लालनपालनको जिम्मेवारी त छँदैछ । बिरामी छोरीलाई घरमा छोडेर काममा जान उनी सक्दैनन् । ज्याला मजदुरी नगरे हातमुख जोर्न धौधौ परेको उनको पत्नी गुनासो गर्छिन् ।

गत कात्तिक ११ गते सुर्ती रोप्न बारीमा गएकी पुष्पालाई एक्कासी पेट दुख्यो । त्यसअघि छरछिमेकमा समेत अर्मपर्म गर्न जाने मेहनती र स्वस्थ उनलाई त्यो दिनदेखि पखाला समेत चल्न थाल्यो । त्यसअघि कहिले पनि बिरामी नभएकी उनलाई एक्कासी पखाला चल्न थालेपछि उनको स्थानीय क्लिनिकमा उपचार र स्थानीय स्तरमा पाइने आयुर्वेदिक औषधि समेत खुवाइयो ।

तर पनि छोरीको अवस्था सुधार नभएपछि छिमेकमा नै ऋण गरेर गत मंसिर १९ गते हेटौंडामा उपचारका लागि लगेको सोमलालले बताए । हेटौंडामा उपचार सम्भव नभएपछि त्यहाँबाट सोही दिन पुष्पालाई चितवन मेडिकल कलेज भरतपुर पुर्याइएको सोमलालले बताए । तर चिकित्सकले पुष्पाको दुवै मिर्गौला फेल भएको सुनाए । नियमित डाइलायसिस गर्नुपर्ने सुझाव दिए । तर उनीसँग छोरीको उपचार गर्न पैसा थिएन । बाध्य भएर सोमलालले बिरामी छोरी पुष्पालाई घर नै फर्काएर ल्याए ।

आर्थिक अवस्था कमजोर रहेका सोमलाल पुष्पाको जीवन रक्षा गर्ने ठूलो इच्छा छ । तर आर्थिक अभावका कारण छोरीलाई कसरी बचाउने भन्ने विषयमा केही सोच्न नै सकेका छैनन् । रोगले थलिएकी छोरीको पीडा देखेर उनी आफैँ घरी रुने, घरी मुर्छा पर्ने हुन्छन् । भेट्न आउने जोकोहीलाई आफ्नो पीडा सुनाउँछन् । छोरीको उपचार गर्न आफूसँग पैसा नभएकाले मनकारी व्यक्तिहरुलाई आर्थिक सहयोग गरेर आफ्नो छोरीको जीवन रक्षा गरिदिन उनले सबैसँग अनुरोध गर्छन् । तर त्यस्तो दाता नपाएको उनी बताउँछन् ।

कलिलो उमेरमा नै रोगले थलिएकी छोरीले सबैको सहयोग पाएर बाँच्न सक्छे की भन्ने उनको आशा छ । ‘एउटा छोरी त मैले पैसा नभएर नै गुमाएँ, अब अर्को छोरी पनि पैसा नभएकै कारण थलामा छिन्,’ उनले भने, ‘सबैले सहयोग गरे मिर्गौला फेरेरै भए पनि बचाउन सकिन्छ कि ?

पुष्पा घर नजिकै रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन् । आफूसँगै पढ्ने साथीहरु अहिले ड्रेस लगाएर पढ्न गएको देख्दा पुष्पा रुने गरेको सोमलाल बताउँछन् । पुष्पाको आँखाबाट झर्ने आँशुले पनि उनी साथीहरुसँग विद्यालय पढ्न जाने इच्छा देखाएको हुन सक्ने सोमलालको भनाइ छ । ‘उनका साथीहरु स्कुल गएको देख्दा पुष्पा पनि छिट्टै निको भएर विद्यालय गएको हेर्ने इच्छा छ,’ सोमलाल भन्छन् ।

पुष्पा पढाइमा पनि राम्रो, मिलनसार र नियमित विद्यालय आउने छात्रा रहेको विद्यालयका प्रधानाध्यापक गोपीलाल श्रेष्ठ बताउँछन् ।

पुष्पालाई विद्यालय फर्काउँ अभियान

दुवै मिर्गौला फेल भएर थलिएकी पुष्पालाई पुनः विद्यालय फर्काउने अभियान सुरु गरिएको छ ।

उनको उपचारमा लाग्ने खर्च जुटाउन अभियान नै थालिएको नेपाल तामाङ घेदुङ पर्साका अध्यक्ष निमा लामाले बताए ।

घेदुङको पहलमा आर्थिक संकलनको काम भइरहेको र केही संकलित रकम पुष्पाको बुबालाई हस्तान्तरण गरी तत्काल पुष्पालाई अस्पताल पु¥याउन सुझाव दिइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment