Comments Add Comment

९ महिनापछि खुले विराटनगरका विद्यालय

२ पुस, विराटनगर । कोरोना महामारीका कारण ९ महिनायता बन्द भएका विराटनगरका विद्यालयहरु बिहीबारबाट सञ्चालनमा आएका छन् । ६ चैतबाट बन्द भएका विद्यालय बिहीबारबाट खुलेका हुन् ।

समुदायस्तरमा महामारी फैलिएको विराटनगरमा संक्रमणको संख्या कम भएपछि सतर्कतासहित विद्यालय सञ्चालन गर्ने निर्णय अनुसार विद्यालय खुला भएको विराटनगर महानगरपालिकाका शिक्षा शाखा प्रमुद दुर्गाप्रसाद खतिवडाले जानकारी दिए ।

महानगरको शिक्षा समितिले २१ मंसिरमा बिहीबारबाट कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदबाट पारित कोभिड –१९ सन्दर्भमा विद्यालय सम्बन्धी कार्य ढाँचा–२०७७ को निर्देशिकाअनुसार महानगरले विद्यालय सञ्चालन गर्न अनुमति दिएको थियो ।

‘आजबाट विद्यालय खुले तर विद्यार्थीको संख्या कम छ,’ उनले भने, ‘ विद्यालयहरुले सतर्कता अपनाएका छन् । केही ठाउँमा एउटै बेञ्चमा तीनजनासम्म राखेकाले व्यवस्थापन गर्न निर्देशन दिएका छौं ।’

महानगरको अनुमतिसँगै विद्यालयले सुरक्षा सतर्कतासहित कक्षा सञ्चालन सुरु गरेको निजी तथा संस्थागत विद्यालय अर्गनाइजेशन प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले जानकारी दिए ।
एभरेष्ट स्कुलको प्रिन्सिपलसमेत रहेका पुरीका अनुसार विद्यालयहरुले अनलाइन र भौतिक रुपमै विद्यार्थीको उपस्थित गरएर कक्षा सञ्चालन गरेका छन् ।

शिक्षा मन्त्रालयले विद्यालय सञ्चालन गर्न अनुमति दिएको छ । तर स्वास्थ्य मन्त्रालयले तत्काल विद्यालय खोल्ने समय नभएको बताउँदै आएको छ । सरकारको दुई खाले वक्तब्यले समस्या पारेको बताउँदै उनले भने ‘सरकारले दुई खाले कुरा गरिरहेको छ । सतर्कता अपनाएर विद्यालय सञ्चालन गर्न दिइनुपर्छ ।’

महानगरले कोरोनाको जोखिमको अवस्था रहेकाले अनलाइन माध्ययमबाट र भौतिक रुपमा उपस्थित भएर कक्षा सञ्चालन गर्ने मोडालिटी अपनाएको छ । अधिकांश निजी विद्यालयले आधा विद्यार्थीलाई अनलाइन र आधा विद्यार्थीलाई कक्षा कोठामा अध्यापन गराइरहेको छ ।

‘हाम्रोमा आधा विद्यार्थीलाई कक्षा कोठामा र आधालाई अनलाइन माध्ययममा अध्यापन गराइरहेका छौं,’ प्याब्सन अध्यक्ष पुरीले भने, ‘ कक्षा कोठामा उपस्थीत हुनका लागि पालो सिस्टम बनाइएको छ ।’ बिहीबार पहिलो दिन भएकाले विद्यार्थी तुलनात्मक रुपमा कम उपस्थित भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment