Comments Add Comment

महामारी साम्य नभएसम्म काठमाडौं–केरुङ रेलमार्गको काम नहुने

२ पुस, काठमाडौं । कोभिड–१९ महामारीको त्रास कायम रहेसम्म नेपाल–चीन रेल्वे लाइन निर्माणको विस्तृत सम्भाव्यता अध्ययनसहित परियोजना प्रतिवेदन (डीपीआर) बनाउन चिनियाँ टोली नआउने भएको छ ।

दुई हप्ताअघि भएको नेपाल–चीन रेल्वे मामिला हेर्ने सचिवस्तरीय ‘ज्वाइन्ट स्टेयरिङ कमिटी’ बैठकमा चीनले महामारीको त्रास रहँदासम्म नेपालमा प्राविधिक कामका लागि टिम आउन नसक्ने जनाउ दिएको हो । बैठकमा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठ र चीनको नेशनल रेल्वे एड्मिनिस्ट्रेसन (एनआरए)का महानिर्देशकले नेतृत्व गरेका थिए ।

सीमापार रेल्वे लाइन निर्माणका लागि चिनियाँ प्राविधिक टिम नेपाल आएर भौगर्भिक सर्वेका लागि ड्रिलिङ, म्यापिङलगायत काम गर्ने सहमति यसअघि भएको थियो । बैठकमा सहभागी एकजना नेपाली अधिकारीका अनुसार, गत वर्ष टोली आउने योजना चिनियाँ नयाँ वर्षका कारण पछाडि धकेलिएको थियो । त्यसपछि कोरोना महामारी आयो ।

नेपाल र चीनबीच काठमाडौं–केरुङ, काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने समझदारी भइसकेको छ । तीनवटै परियोजनाको सम्भाव्यता अध्ययन चीनले गरिदिने भएको छ । गत वर्ष मंसिर १० गते डीपीआर सम्बन्धी समझदारी भएको थियो ।

कसको भागमा के काम ?

१०७६ असोजको अन्तिम साता भएको चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका क्रममा सीमा वारपार रेलमार्गको सम्भाव्यता अध्ययनको समझदारीपत्रमा हस्ताक्षर भएको थियो । त्यो कार्यान्वयनका लागि कठमाडौंमा मंसिर दोस्रो सातामा भएको नेपाल र चिनियाँ अधिकारीहरुको बैठकले सम्भाव्यता अध्ययनको काम बाँडफाँट गरेको थियो ।

त्यसअनुसार चीनले आफ्नो खर्चमा म्यापिङ सर्भे, भौगर्भिक अध्ययनसहित विस्तृत सम्भाव्यता अध्ययन गर्नेछ । त्यस्तै, नेपालले वातावरणीय प्रभाव मल्यांकन (ईआईए)का साथै चिनियाँ टोलीलाई सुरक्षालगायतका सहयोग उपलब्ध गराउने छ । डीपीआरको लागि आवश्यक तथ्यांक उपलब्ध गराउने र सबै खालको सहजीकरण नेपालले गर्नुपर्नेछ ।

३ खण्डका रेलमार्गमा चीन

केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन भइसकेको छ । चिनियाँ परामर्शदाताले तयार गरेको पूर्वसम्भाव्यता अध्ययन रिपोर्टअनुसार केरुङ–काठमाडौं रेलमार्ग बनाउन ३ खर्ब  रुपैयाँभन्दा बढी खर्च हुने अनुमान छ ।

७३ किलोमिटर लामो केरुङ–काठमाडौं रेलमार्गमा सुरुङ र पुल ९८.५ प्रतिशत हुनेछ । यो रेलमार्ग निर्माणमा ९ वर्ष लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ ।

चीनले बनाइदिने काठमाडौं–पोखरा रेलमार्ग करिब १६८ किलोमिटरको हुनेछ । यो रेलमार्ग काठमाडौंबाट कुरिनटार हुँदै त्रिशुली नदीको किनारैकिनार पोखरासम्म बन्नेछ ।

पोखरा–लुम्बिनी रेलमार्ग कुरिनटारबाट भरतपुर हँदै बुटवल र त्यहाँबाट लुम्बिनीको मायादेवी मन्दिर परिसर पुग्नेछ । यो रेलमार्ग करिब १५७ किलोमटर लामो हुनेछ । यसमा भरतपुरबाट बुटवलसम्म पूर्वपश्चिम रेलमार्गमा जोडिने सम्भावना छ ।

यी तीन परियोजनामध्ये काठमाडौं–केरुङ रेलमार्ग निर्माण बढी कठिन मानिन्छ । केरुङ– काठमाडौं रेल ४ हजार मिटरबाट १४ सय मिटरमा झर्नुपर्छ । काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्गमा यति ठुलो भौगोलिक चुनौती छैन । यी दुई रेलमार्गमा १० देखि १२ किलोमिटर सुरुङ भने निर्माण गर्नपर्छ ।

काठमाडौं–पोखरा रेलमार्गका लागि करिब ३ खर्ब ५० अर्ब र पोखरा–लुम्बिनी रेलमार्गका लागि करिब ३ खर्ब रुपैयाँ  लागत अनुमान गरिएको छ । नेपालले यी तीनवटै रेलमार्ग अनुदानमा बनाइदिन चीनसँग आग्रह गरेपनि लगानीको मोडालिटी टुंगिन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment