Comments Add Comment

कहिल्यै पुराना नहुने पाँच कविताकृति

काठमाडौं । रमेश क्षितिज कवि एवं गीतकारका रुपमा परिचित छन् । ‘आँखाभरि हिउँचुली छङछङ बग्ने खोला’ तथा ‘परेलीको वर्षातले छातिभित्र पहिरो गयो’जस्ता गीतका सर्जक क्षितिजको ‘अर्को साँझ पर्खेर साँझमा’ तथा ‘घर फर्किरहेको मानिस’ दुई कवितासंग्रह प्रकाशित छन् ।

कविता लेखनसँगै काव्य विधाको गहन अध्ययन रमेशको रुची हो । सरकारी सेवामा रहँदारहँदै पनि उनी अध्यात्म, दर्शन र साहित्यको गम्भीर अध्ययनमा समय दिइरहेका हुन्छन् ।

क्षितिजले आफूलाई मनपर्ने पाँच कविताकृति पाठकलाई सिफारिस गरेका छन् । काव्यकृति छान्दा उनले भनेका थिए– ‘यी कविताकृति म जहिले पनि दोहोर्‍याइरहन्छु । यिनको पठनबाट म काव्यको अनुपम स्वाद पाउँछु ।’

१. मुनामदन खण्डकाव्य

सम्भवतः मेरो बाल्यकालमा कवितासँग साक्षात्कार भएको पुस्तक मुनामदन नै हो । मैले अत्यन्त सानो उमेरमा लक्ष्मीप्रसाद देवकोटाको मुनामदन पढें । ममात्र होइन, धेरैका लागि कविताको पठन मुनामदनबाटै सुरु हुने गर्छ । यसले कविताको रस बसाइदिने गर्छ । मलाई के लाग्छ भने, सम्भवतः रामायणपछि भाषिक एकरूपता दिने कृतिमा मुनामदन पर्छ । यसर्थ, योगदानको हिसाबले पनि मलाई यो कृति विशेष लाग्छ ।

निख्खर नेपाली मौलिकता, यसको कथावस्तु, झ्याउरे लयको राग आदि सबै दृष्टिकोणले मलाई मुनामदन मन पर्छ । मनपर्ने मात्र होइन, यो विशेष पनि छ । अनि साधारण भाषामा असाधारण कृतिको दृष्टान्त दिँदा ‘मुनामदन’ खण्डकाव्यलाई सधैं लिइन्छ ।

२. आमाको सपना

गोपालप्रसाद रिमालका कविताले नेपाली कविताको गोरेटोको निर्माण गर्‍यो । जुन गोरेटो आज फैलिँदै–फैलिँदै गएर राजमार्ग बनेको छ । रिमालका जीवनका प्रतिनिधि कविताहरूको संगालो रहेको ‘आमाको सपना’ कृतिले कविताको शिलान्यास गर्‍यो ।

रिमालका कविताले क्रान्ति र परिवर्तनका कुरा बोलेको छ । तर, त्यसमा पनि उहाँको भाषा काव्यमय भएकाले मार्धुयता झल्किन्छ । यो समय अनुसारको कृति पनि हो । जुनबेलामा यो कृति प्रकाशित भयो, त्यतिबेलाको राजनीतिक–सामाजिक समय यसमा पोखिएको छ । ‘आमाको सपना’ यो नेपाली कविताको बिहान हो । यसले थुप्रै अरू कविहरू जन्माउन योगदान गरेको छ ।

३. मोहन कोइरालाका कविता

मोहन कोइरालाका धेरै कवितासंग्रह भए पनि यो उहाँको प्रतिनिधि कविताहरूको संगालो हो । यसमा बिम्ब र कलाको सघन प्रयोग गरिएको छ । यसले आधुनिक नेपाली कविताको स्वर उद्घोष गर्छ । यी कविताहरूले आधुनिक नेपाली कविताको शिल्यान्यास गरेकाले विशेष महत्त्वका छन् ।

मोहन कोइरालाले कहिल्यै पनि पाठकलाई हेरेर, बजारलाई हेरेर मौसमी कविता लेख्नुभएन । उहाँले सार्वकालीक कविताहरू लेखेर नै आफ्नोपनलाई निरन्तरता दिइरहनुभयो । कतिले यो कविता कसका लागि भने, दुरुह छ भने तर, मोहन कोइराला कविताको जीवन हिँडिरहनुभयो । त्यसकारण मलाई कोइरालाका कविता पृथक लाग्छन्, विशेष लाग्छन् ।

४. आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन्

ईश्वरवल्भवका कवितामा भावको व्यापक विस्तार पाइन्छ । यो संग्रहमा पनि भाव विस्तार भएको छ । बल्लभका कविताको दार्शनिक पक्ष बलियो छ । उहाँले त्यही दार्शनिक पक्ष, चिन्तनको पक्ष कवितामा समेटेर कविताको विशिष्ट वजन जोगाउनुभयो ।

२०२९ सालमा प्रकाशित कवितासंग्रह ‘आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन्’मा ईश्वरवल्लभका परिस्कृत कविताहरू समेटिएका छन् । यी कविता हदय छुने मार्मिक अभिव्यक्तिसहित विद्रोही भावका छन् । झट्ट हेर्दा मोहन कोइराला र ईश्वरवल्लभ उही धारको भएपनि उहाँहरूमा फरकपन छ । भावको फरकपन छ । दुई कविको आ–आफ्नै विशिष्टता छ ।

५. तुलसी दिवसका कविता

तुलसी दिवसले अत्यन्त थोरै कविता लेखर पनि कालजयी कविताहरू लेख्नुभयो । उहाँको जीवनको एकमात्र कवितासंग्रह ‘तुलसी दिवसका कविता’ २०४० मा चिन्तन प्रधान कविता बढी छन् । ती कविता गहिरा छन्, यसैले आफ्नै मौलिकता भएका देखिन्छन् । अर्को कुरा, थोरै लेख्ने बढी चिन्तन गर्ने कविको रुपमा हामी तुलसी दिवसलाई पाउँछौं ।

उहाँले उही भाव दोहोर्‍याउनेभन्दा बरू विशिष्ट भावका कविताका जीवनमा एकैपटक लेख्दा हुन्छ भन्ने प्रमाणित गरिदिनुभयो । दोहोर्‍याउनुभन्दा एउटै कविता मजबुत तवरले लेख्नुपर्छ भन्ने सन्देश दिनुभयो । नेपाली जनजीवनबाटै टिपेर गहकिला कविता लेख्ने बाटो देखाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment