Comments Add Comment
पार्टी एकता, नेपाली क्रान्ति र नेकपाको कार्यभार–३ :

आजको संकट र अबको हाम्रो कार्यभार

हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यतिबेला पार्टी एकताको क्रान्तिकारी उद्देश्य एंव मर्मलाई आत्मसात गर्दै र विचारधारात्मक एंव राजनीतिक कार्यदिशालाई कार्यान्वयन गर्दै निम्न कार्य सम्पादन गर्नुपर्ने थियो । संगठनात्मक एकीकरणलाई पूर्णता दिनु । सामाजिक न्यायसहितको समृद्धि हासिल गर्दै समाजवादको आधार निर्माण गर्नु र सरकारलाई सफल पार्नु । पार्टी एकताको संक्रमणकाल अन्त्य गर्न र वैचारिक राजनीतिक कार्यदिशा एंव नेतृत्वको निरुपण गर्न उत्साहका साथ एकता महाधिवेशनको आयोजना गर्नु । तर, त्यसको विपरीत दुःखद् यथार्थ हाम्रो अगाडि छ ।

पार्टीभित्रको समस्यालाई बुझ्ने र समाधान निकाल्ने सम्बन्धमा तीव्र मतभेद देखा परेका छन् र त्यसले गम्भीर अन्तरसंघर्षको रुप लिएको छ । अनि अन्तरसंघर्षलाई पार्टी जीवनको स्वाभाविक प्रक्रियाका रुपमा ग्रहण गरेर मैत्रीपूर्ण, स्वस्थ एंव रुपान्तरणमुखी ढंगले परिचालन गर्न र सकारात्मक निष्कर्ष निकाल्न तयार हुनुको सट्टा शत्रुतापूर्ण रुपमा लिँदै निकासलाई असहज बनाउने गलत कोशिस एवं क्रियाकलापहरु देखा परिरहेका छन् । तर, हामीले अन्तरसंघर्षलाई पार्टी रुपान्तरणको साधन बनाउँदै संकटको सकारात्मक निकास निकाल्न सम्पूर्ण प्रयत्न गर्नुपर्ने आवश्यकता छ ।

एकातिर हामीले अहिले पार्टीभित्रको मतभेद र अन्तरविरोधलाई लामो समयसम्म पालिराखेर पार्टी संगठनलाई अकर्मण्यता एवं विसर्जनको दिशामा धकेल्ने प्रवृतिबाट बच्नुपर्दछ भने अर्कोतिर पार्टीलाई यथास्थितिमै कैद हुनबाट बचाई संकटको वास्तविक निकास निकाल्न सफल हुनु पर्दछ । त्यसरी मात्र पार्टी एकताको रक्षा गर्दै इतिहासले हाम्रो पार्टीमाथि सुम्पेको क्रान्तिकारी कार्यभार पूरा गर्ने दिशामा अघि बढ्न सफल हुन सकिने छ ।

सुरुमै हामी कहाँ चुक्यौँ ?

एक– पार्टी एकता हुनासाथ सुरुमै पार्टी एकताको लक्ष्य, उद्देश्य, अर्थ एवं औचित्य र पार्टीको विचारधारात्मक तथा राजनीतिक कार्यदिशाका बारेमा पार्टीव्यापीरुपमा एकरुप समझदारीको विकास गर्न प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नु पर्दथ्यो । त्यसमा पहिलो समस्या त कार्यदल र कमिटीले अन्तिम रुप दिइसकेपछि पनि एक वर्षसम्म राजनीतिक प्रतिवेदन प्रकाशित हुन सकेन । पार्टी एकतापछि प्रदेश स्तरमा प्रशिक्षण कार्यक्रम राखियो, तर औपचारिकरुपमा राजनीतिक प्रतिवेदनमार्फत कार्यदिशा संस्थागत नभइसकेका कारणले त्यो अधुरो वा अपूर्ण रह्यो । पार्टी एकताको उद्देश्य र मर्मका बारेमा मोटोरुपमा चर्चा गरिए पनि नेतृत्व तहमा नै घनिभूत छलफलको अभावमा गहिरोसँग प्रकाश पार्ने काम हुन सकेन । त्यसले गर्दा पार्टी कार्यदिशाको आत्मसातीकरणसहित पार्टी एकता किन, केका लागि र कता जाने भन्नेबारेमा सिंगो नेतृत्व तथा पार्टी पंक्तिमा स्पष्टताको अभाव हुन गयो । पार्टीमा दुविधा र अन्यौल उत्पन्न भयो । पार्टीमा क्रान्तिकारी उर्जा तथा गतिशीलता पैदा हुन सकेन ।

दुई– हामीले निर्वाचनपछि छिट्टै पार्टी एकता गरिने घोषणा गर्दै एउटै घोषणापत्रका आधारमा आम निर्वाचनमा सहभागी भई विजय हासिल गर्‍यौँ । चुनावको परिणामले हाम्रो सरकार गठन हुने स्पष्ट भयो । चुनावको परिणामपछि सरकार गठन गर्न केही समय लाग्यो । हाम्रो सरकार ऐतिहासिक युगान्तकारी परिवर्तनपछिको, समाजवाद उन्मूख राज्य एवं सामाजिक आर्थिक परिवर्तनको उदघोष गरिएको नयाँ संविधानअन्तर्गतको र कम्युनिष्ट शक्तिको सरकार भएकाले यसलाई सामान्य सरकारका रुपमा नलिएर यसले के काम गर्ने, कसरी गर्ने र यसलाई कसरी सफल पार्ने भन्नेबारेमा सरकार गठन गर्नुअघि नै गम्भीर एवं ब्यापक छलफल गरी निश्चित नीति, कार्यक्रम र योजना बनाउनु आवश्यक थियो । तत्कालै अरु सबै काम छाडेर हाम्रा पार्टीका नेताहरु र मार्क्सवादी एवं वामपन्थी विज्ञहरुको संयुक्त छलफलको आयोजना गरी ठोस निष्कर्ष निकाल्न ध्यान दिनु पर्दथ्यो । हामीले कम्युनिस्ट सरकार सञ्चालनको कार्यविधि र विकासको नयाँ मोडेल तथा त्यसअन्तरगत विभिन्न फाँटका वैकल्पिक प्रगतिशील कार्यक्रम तय गर्नु पर्दथ्यो । त्यसका लागि निम्न यथार्थहरुलाई अगाडि राखेर निष्कर्ष निकाल्नु पर्दथ्यो ।

क) नयाँ संविधानले प्रदान गरेको समाजवादउन्मुख राज्य एंव सामाजिक आर्थिक व्यवस्थाको सकारात्मक दिग्दर्शन तथा आधार ।

ख) नेपाली समाजको उत्पादक शक्तिको विकास, समृद्धिका निम्ति आवश्यक आधार, साधन स्रोतको उपलब्धता तथा सीमा ।

ग) नेपाली समाजको वर्तमान शक्तिसन्तुलन (वर्गीय तथा राजनीतिक) ।

घ) देशको संवेदनशील भूराजनीतिक अवस्था र त्यसले उत्पन्न गरेको अनुकुलता एवं चुनौती ।

ङ) आजको वर्तमान विश्व व्यवस्था, भूमण्डलीकृत पुँजीवाद, विश्व शक्ति सन्तुलन, नयाँ विश्व व्यवस्थाको दिशा एवं सम्भावना । र,

च) २१औँ शताब्दीको अनुरुपको नयाँ मोडेलको समाजवाद निर्माणको प्रयोगलाई सफल बनाउने गम्भीर जिम्मेवारी ।

तर, दुर्भाग्य भनौं, हामीले त्यस दिशामा ध्यान दिन सकेनौं, दिएनौं । पार्टी एकता भएको नौ महिनापछिको स्थायी कमिटीको बैठकमा मात्र सरकारको कार्यसूचीले प्रवेश पायो, त्यो पनि समीक्षाका रुपमा । त्यसैले, कम्युनिस्ट पार्टीको बहुमतको सरकारको सञ्चालन कार्यविधि, आचरण र कार्यशैली गतकालका सरकारहरुको भन्दा तात्विकरुपले भिन्न हुन सकेन । करिब–करिब उस्तै रहयो । आजको आवश्यकता र संविधानको निर्देशअनुरुप परम्परागत पुँजीवादी विकासको ढाँचाभन्दा भिन्न समाजवादमुखी नयाँ विकासको ढाँचाको स्पष्ट खाका तयार हुन सकेन । शिक्षा, स्वास्थ्य, कृषि, भूमिसुधार, ऊर्जा र उद्योगलगायतका क्षेत्रहरुमा लागू गरिने वैज्ञानिक प्रगतिशील कार्यक्रम पनि ठोसरुपमा तय हुन सकेन । विकासको रणनीति र कार्यनीतिमा अपेक्षित स्पष्टता हासिल हुन सकेन । आम मार्क्सवादी दृष्टिबिन्दु र निर्वाचन घोषणापत्रलाई केन्द्रमा राख्ने काम पनि सन्तोषजनक रुपमा देखिएन ।

फलस्वरुप हाम्रो सरकार राष्ट्र, जनता तथा परिवर्तनको पक्षमा ऐतिहासिक जिम्मेवारी बोकेको युगान्तरकारी परिवर्तनपछिको जनादेशप्राप्त क्रान्तिकारी सरकारको नयाँ पहिचानका रुपमा भन्दा परम्परागत पूँजीवादी संसदीय व्यवस्थाअन्तर्गत निरन्तरताको एउटा सरकारजस्तो देखिन पुग्यो । तसर्थ सरकार सञ्चालनको कार्यविधि र कामका वारेमा प्रारम्भमै स्पष्ट नीति योजनासहितको, अवधारणा (भिजन) तयार गर्न र तदनुरुप अघि बढ्न ध्यान केन्द्रित नगर्नु हाम्रो गम्भीर कमजोरी रहयो।

तीन- हामीले शुरुमै संगठनात्मक एकीकरणको मापदण्ड निर्माण गर्न सक्नुपर्थ्यो। त्यसो गर्न नसक्नाले ३ महिनाभित्र नै सक्ने भनिएको संगठनात्मक एकीकरणको काम अहिलेसम्म पनि पूर्णरुपमा सम्पन्न हुन सकेको छैन ।

पार्टी र सरकार : कहाँ के भयो ?

प्रारम्भमै स्पष्ट हुनु पर्ने र गर्नु पर्ने उपरोक्त कार्यहरुमा चुक्न गएको कारण समेतले गर्दा पार्टी र सरकारमा कमजोरी एवं समस्याहरु देखिन थाले ।

पार्टी संगठनको क्षेत्रमा : पहिलो त संगठनात्मक एकीकरणको काम नै अहिलेसम्म पूरा हुन सकेको छैन। करिब एक वर्षभन्दा बढी समयसम्म लाखौं नेता, कार्यकर्ता र सदस्यहरु कमिटी र जिम्मेवारीविहीन हुन पुगे । किनकि पार्टी एकीकरणको घोषणासँगै दुई पूर्वपार्टीका सम्पूर्ण कमिटीहरु विघटन भएको घोषणा गरिएका थिए । प्रदेश तथा जिल्ला तदर्थ कमिटीहरुसमेत लामो अवधिसम्म निर्माण हुन सकेनन् । अहिलेसम्म पनि संगठनात्मक एकीकरणका कामहरु सबै पूरा हुन नसकेको कटु यथार्थ हाम्रो सामु छ ।

पार्टी विधि र पद्दतिअन्तर्गत संस्थागत ढंगले सञ्चालन हुने प्रकृया ज्यादै उपेक्षित हुन पुग्यो । सामूहिकता त धेरै परको कुरा रह्यो । पार्टी संगठनको गतिशीलता एवं क्रियाशीलता शून्य प्रायः भएर गयो । संगठनहरु अकर्मण्य अवस्थामा रहन पुगे । निर्वाचनका समयमा देखा परेको उत्साह र भावनात्मक एकता मरेर गयो । बरु निराशा र कटुता देखा पर्न थाल्यो । पार्टीमा कम्युनिस्ट वा प्रगतिशील मूल्य मान्यता, आचरण वा संस्कृतिको विषय लागु होइन, चर्चासमेत हुन छाड्यो ।

यसरी निहीत निजी स्वार्थ केन्द्रित व्यक्तिवाद र गुटवाद आम प्रवृति बन्न पुग्यो । देश र जनताको भविष्यका लागि पार्टी र आन्दोलनमा लागेका लाखौं कार्यकर्ताहरु आफ्नो जीवन एवं भविष्यका बारेमा चिन्ताग्रस्त हुने स्थितिमा पुगे ।

सरकारको क्षेत्रमा : सरकारको क्षेत्रको कुरा गर्दा सरकारले निश्चय पनि केही सकारात्मक कामहरु गरेको छ । स्वतन्त्र परराष्ट्रनीतिको अवलम्वन गर्दै पार्टीको निर्देशनमा अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको नेपालको नक्सा प्रकाशन र संविधान संशोधनद्वारा त्यसको संवैधानिक आधिकारिकता सरकारले राष्ट्रियता सार्वभौमिकता र राष्ट्रिय हितको सम्बन्धमा गरेको ऐतिहासिक काम हो । यद्यपि कूटनीतिक आचारसंहिताको पालना र नीतिगत स्थिरताका सम्बन्धमा पछिल्ला दिनमा केही प्रश्न उठेका छन् । संघीयता कार्यान्वयनको प्रकृयालाई सरकार र संसदले मूलरुपमा सही दिशामा नै अघि बढाएको छ । संविधानले प्रत्याभुत गरेको शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभूता र आवासलगायतका मौलिक अधिकार कार्यान्वयनका निम्ति ऐनहरु निर्माण गर्ने काम गरिएका छन् । तराई, मधेसलाई छुट्टै देश घोषणा गर्ने तथाकथित पृथकतावादी आन्दोलनलाई राष्ट्रिय राजनीतिको मूल धारमा ल्याउने प्रकृयामा औपचारिक सम्झौतामा हस्ताक्षर भएको छ । सामाजिक सुरक्षा कार्यक्रमको पहले अघि बढाइएको छ । भूपरिवेष्ठिताले पैदा गरेको प्रतिकुलता एंव चुनौतीको समाधानलाई सहज बनाउने गरी चीनसँग व्यापार तथा पारवहन सम्झौता प्रोटोकलको तहमा पनि हस्ताक्षर भइसकेको छ । तात्कालीन तथा दीर्घकालीन महत्वका विकास निर्माणका काम केही अघि बढेका छन् ।

मितव्ययीताद्वारा खर्च कटौती गरिनु पर्दछ । यसबारेमा गठित आयोगले दिएको प्रतिवेदनमा उल्लेखित सुझाव मात्रै कार्यान्वयन गरिएमा पनि खरबौं रुपैँयाको अनावश्यक खर्च कटौती गर्न सकिन्छ । त्यसमा पनि गुणात्मक कदम चालिएको छैन

हामीले गर्नुपर्ने पहिलो काम थियो; संविधान, कानुन र नियम अनुसार हुनुपर्ने कामहरु भनसुन र घुसविना नै सहजरुपमा फत्ते हुने स्थिति निर्माण गर्नु । ऐतिहासिक राजनीतिक परिवर्तन र बहुमतको कम्युनिष्ट सरकारसँगै सर्वसाधारण नेपाली जनताले यस्तो परिवर्तनको अनुभुति गर्न चाहेका थिए । तर, घुस र भनसुनको अन्त्य नभएको मात्र होइन, बरु त्यसो नगरी अहिले पनि कुनै काम नहुने स्थितिको अनुभूति सर्वत्र भइरहेको छ । यसमा हामी सफल हुन सकेका छैनौं । ठूला–ठूला भ्रष्टाचार नियन्त्रण एवं सुशासनको अभियान पनि अपेक्षितरुपमा प्रभावकारी हुन सकेको छैन ।

दोश्रो, हाम्रो परम्परागत कर्मचारीतन्त्रले अझै पनि परिवर्तनलाई राम्ररी आत्मसात गर्न र आफूलाई परिवर्तनको भरपर्दो औजार (चेञ्ज एजेन्ट)बनाउन सकेका छैनन् । त्यसका लागि कर्मचारीतन्त्रको पुनर्संरचनाको आवश्यकता छ । त्यस दिशामा कुनै ठोस तथा प्रभावकारी कदम अहिलेसम्म चालिएको छैन । लामो समयदेखिको कर्मचारीतन्त्रको समस्या समाधानका लागि केही समय लाग्ने तर्क गर्ने हो भने पनि सरकार आफैंले गर्ने राजनैतिक नियुक्तिहरुको सम्बन्धमा भने हामीले ‘सही ब्यक्ति, सही ठाउँ (राइट म्यान, राइट प्लेस) को प्रक्रिया लागू भयो र प्रणालीले काम गर्न थाल्यो भन्ने सन्देश व्यवहारबाटै दिन सक्नु पर्दथ्यो । त्यसमा हामी सफल हुन नसकेको मात्र होइन कि ‘आफ्नो मान्छे’ चिन्तन हावी भइरहेकै छ । यसमा कुनै परिवर्तनको संकेतसम्म पनि दिन सकेका छैनौं ।

तेस्रो, हामीले पूँजीगत खर्च वा विकास खर्च कार्यान्वयन गर्ने क्षमता अभिवृद्धिमा गुणात्मक उपलब्धि हासिल गर्न सक्नु पर्दथ्यो। त्यसमा पनि उल्लेखनीय प्रगति हुन सकेको छैन । असारे विकास र वार्षिक कुल ५०/६० प्रतिशत खर्चको स्थिति नै कायम छ।

चौथो, हाम्रो अर्थतन्त्रको सबभन्दा कमजोर कडी असाधारण आयतनको व्यापार घाटा हो । त्यसलाई क्रमिकरुपमा घटाउँदै लैजाने प्रभावकारी योजना प्राथमिकतामा देखिएको छैन । नेपालमा ठूला–ठूला उद्योगहरु खोलेर त्यसका उत्पादनहरु निर्यात गरी व्यापार घाटा कम गर्ने सोच अहिले वस्तुवादी हुन सक्दैन । हामीले तुलनात्मक लाभका क्षेत्रहरु हेरेर थोरै व्यवस्थापनमा ध्यान दिनासाथ आयात प्रतिस्थापन वा निर्यात प्रवद्र्धन गर्न सकिने कामहरु गर्नुपर्छ । त्यो उल्लेखनीय मात्रामा सम्भव छ । अन्यथा गुन्द्रुक, धनियाँ, तरकारी, खाद्यान्नलगायतका वस्तुहरुको आयात गरिरहने ठाउँमा हुनेछौं । व्यापार घाटा कम गर्न सम्भव कदमहरु चाल्ने नीति एवं योजना अगाडि बढाउनैपर्छ । तर, त्यो उत्साहजनक छैन ।

पाँचौं, मितव्ययीताद्वारा खर्च कटौती गरिनु पर्दछ । यसबारेमा गठित आयोगले दिएको प्रतिवेदनमा उल्लेखित सुझाव मात्रै कार्यान्वयन गरिएमा पनि खरबौं रुपैँयाको अनावश्यक खर्च कटौती गर्न सकिन्छ । त्यसमा पनि गुणात्मक कदम चालिएको छैन ।

छैठौं, शोषित पीडित श्रमजीवी वर्ग एवं समुदायकेन्द्रित विशेष नीति कार्यक्रम ल्याउने काम पनि भएको छैन । त्यो प्राथमिकतामा पर्न सकेको छैन ।

सातौं, समाजवादउन्मुख विकासको ढाँचाले माग गर्ने संरचनात्मक परिवर्तनको सोच, इच्छाशक्ति र संकल्प देखा पर्न सकेको छैन । र, आठौं, कोभिड-१९ को विश्व महामारीपछि विश्वव्यापीरुपमा विकासको ढाँचा र सामाजिक-राजनीतिक प्रणालीका बारेमा पुनर्विचार (रिथिंकिङ) को प्रक्रिया देखा परेको छ । एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टीको सरकारका लागि यो अवसर हुन सक्दथ्यो, त्यस दिशामा गुणात्मक अभिमुखीकरणका लागि । तर कोभिड-१९ पछि आएको बजेटमा त्यसको सामान्य प्रतिबिम्ब पनि देखा पर्न सकेन ।

सरकार किन अपेक्षा गरिएअनुसार प्रभावकारी एवं परिणाममुखी हुन सकेन ? हामीले यसको गम्भीर समीक्षा गर्नु जरुरी छ ।
पहिलो कुरा, त माथि चर्चा गरिएझैं पार्टी र सरकार दुवै ठाउँमा सरकार सञ्चालनको कार्यविधि एवं सरकारले गर्नुपर्ने कामका बारेमा गम्भीर छलफल नै भएन र भिजन स्पष्ट हुन सकेन ।

दोस्रो, निर्वाचन घोषणापत्रलाई पनि व्यवहारिक कार्यान्वयनको कोणबाट अगाडि राखिएन ।

तेस्रो, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने मान्यताको पालना गरिएन । पार्टी र सरकारका वीचमा समन्वय शुन्यप्रायः भयो । पार्टीले सरकारलाई गर्नुपर्ने सहयोग पनि हुन सकेन ।
चौथो, संसदीय शासकीय स्वरुपलाई समाजवादउन्मुख राज्यको अवधारणा एवं संवैधानिक व्यवस्थाअन्तर्गत अभ्यास गर्नुपर्नेमा परम्परागत पुँजीवादी संसदीय व्यवस्थाअन्तर्गतको प्रधानमन्त्रीय प्रणालीका रुपमा संकीर्ण एवं गलत ढंगले अभ्यास गरियो । फलतः मन्त्रिपरिषदको सामुहिक विवेकले पनि काम गर्न पाएन ।
र, पाचौं, देश, जनता एंव क्रान्तिप्रतिको एकनिष्ठता कमजोर हुन गई पुँजीवादी संसदीय प्रवृत्ति र व्यक्तिवाद बलशाली बन्दै गयो ।

यसरी पार्टी र सरकार दुवै विचार एंव नीति र विधि एंव पद्दतिको आधारमा सञ्चालन नहुनु तत्कालका मुख्य समस्याका रुपमा अगाडी आयो । पार्टीमा कम्युनिष्ट मूल्य मान्यता एवं संस्कृतिको स्खलन तिब्र बन्यो । परिणामस्वरुप यही स्थिति रहिरहने हो भने पार्टी संगठन र सरकारले अपेक्षित भूमिका खेल्न सक्ने र समृद्धि एवं समाजवादको आधार निर्माणमा प्रभावकारी प्रगति हुन सक्ने स्थिति देखिएन । यस स्थितिमा पार्टी र सरकारलाई सही दिशामा लैजान र पार्टी एकता तथा जनादेशको मर्म तथा निर्देश पूरा गर्न पार्टीभित्र गम्भीर छलफल, बहस र सकारात्मक रुपान्तरण अनिवार्य हुन पुग्यो । मूलतः त्यस कोणबाट नै पार्टीभित्र अन्तरविरोध एवं अन्तरसंघर्षको वर्तमान स्थिति स्वभाविकरुपमा उत्पन्न हुन गएको हो।

अन्तरविरोध एवं अन्तरसंघर्ष : विधि र नीति

हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विद्यमान अन्तरविरोध र अन्तरसंघर्षका बारेमा विस्तारमा चर्चा गर्ने यो लेखको उद्देश्य होइन । कम्युनिस्ट पार्टीभित्रको अन्तरविरोध एवं अन्तरसंघर्ष र हाम्रो पार्टीको अबको कार्यभारको चर्चा गर्ने सन्दर्भमा त्यसबारेमा प्रसंगवश संक्षेपमा उल्लेख गरिने छ ।

भित्री पार्टी संघर्षको आम नियम

कुनै पनि कम्युनिस्ट पार्टीभित्र पार्टी र क्रान्तिसम्बन्धी, राष्ट्र, जनता र परिवर्तनसम्बन्धी विषयमा निरन्तर छलफल, बहस भइरहन्छ । छलफल, बहसमा कतिपय विषयहरु मतभेद र अन्तरविरोधका रुपमा प्रकट हुन सक्छन् । अन्तरसंघर्षद्वारा यसलाई समाधान गरिन्छ । त्यसैले अन्तरपार्टी अन्तरविरोध र अन्तरसंघर्ष पार्टी जीवनको स्वाभाविक प्रक्रिया मात्र होइन, यो अनिवार्य प्रक्रिया हो । यसले पार्टीको विचार एवं नीतिलाई परिमार्जन तथा विकास गर्न र पार्टी संगठनलाई एकतावद्ध, गतिशील तथा सुदृढ बनाउन भूमिका खेल्छ । अन्तरविरोध र अन्तरसंघर्षबिना पार्टी सजीव हुन सक्तैन ।

तर, कम्युनिस्ट पार्टीभित्रको अन्तरविरोध मैत्रीपूर्ण हुन्छ । त्यसैले स्वस्थ, मैत्रीपूर्ण, सत्योन्मुख र रुपान्तरणमुखी अन्तरसंघर्षद्वारा त्यसको सकारात्मक समाधान गर्नुपर्दछ । एकता,संघर्ष, रुपान्तरण र सुदृढ एकताको नियमलाई आत्मसात गर्नुपर्दछ ।

यहाँ के कुरामा पनि स्पष्टताको आवश्यकता छ भने पार्टीभित्रको छलफल, बहस, मतभेद, अन्तरविरोध र अन्तरसंघर्ष सधैंभरि अनिवार्यतः दुई लाइन संघर्ष हुँदैन । कहिलेकाहीँ दुई लाइन संघर्षका रुपमा विकास हुन पनि सक्छ । दुई लाइन संघर्षका रुपमा विकास भए पनि पार्टीको निर्णय सबैले मानेर जाने मान्यताअन्तर्गत सञ्चालित हुँदासम्म त्यो आमरुपमा मैत्रीपूर्ण संघर्ष नै रहन्छ र मैत्रीपूर्ण ढंगले त्यसको परिचालन हुनुपर्दछ ।

पार्टीभित्र अन्तरविरोध एवं अन्तरसंघर्ष देखापर्‍यो कि त्यसलाई अस्वाभाविकरुपमा लिई विरोध गर्ने वा शत्रुतापूर्ण रुप दिने वा फुट्ने दिशामा अभिमुख हुने कार्य नितान्त गलत हुन्छ । पार्टीभित्र जनवाद, अन्तरविरोध र अन्तरसंघर्षलाई निषेध गरी शून्यप्रायः अवस्थामा पुर्‍याइएका कारणले गर्दा पनि पहिलेका समाजवादी देशहरुमा कम्युनिस्ट पार्टी र समाजवाद ढल्न पुगको तीतो सत्यबाट शिक्षा लिई त्यसलाई सच्याउने हाम्रो निष्कर्षलाई आत्मसात गर्न हामी सचेत हुनुपर्दछ । त्यसका साथसाथै अन्तरसंघर्षलाई मैत्रीपूर्ण ढंगले परिचालन गरी सकारात्मक निष्कर्ष निकाल्ने सन्दर्भमा क्रान्तिकारी कुशलताको पनि त्यति नै आवश्यकता छ । छलफल एवं बहसपश्चात पार्टीले विधिसम्मत ढंगले लिने निर्णयलाई सबैले विनाशर्त कार्यान्वयन गर्नु पर्दछ । यो नै कम्युनिस्ट पार्टीभित्र पालना गरिनुपर्ने ‘छलफलको स्वतन्त्रता र कामकारबाहीमा एकरुपता’को विधि हो ।

अन्तरसंघर्षलाई शत्रुतापूर्णरुपमा लिने र तत्कालको कथित लाभको लागि जे आरोप पनि लगाउने र जे पनि गर्ने घातक प्रवृत्ति नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा बेलाबेलामा देखा पर्ने गरेको छ । क.पुष्पलाललाई गद्दार, क. निर्मल लामालाई सीआइडी, क.वामदेवलाई देशकै सबभन्दा ठूलो भ्रष्टाचारीको आरोप पार्टी र कम्युनिस्ट आन्दोलनभित्रबाटै निराधाररुपमा लगाइएको हो । क.सुर्यनाथ यादवलाई पार्टीभित्रकै अर्को पक्षले पक्रेर बुझाएको र पञ्चायती शासकहरुले हत्या गरी शहीद बनाएको तीतो अनुभव पनि छ । क. मदन भण्डारीको रहस्यमय दुुर्घटनाबाट निधन भएपछि पार्टीभित्रैबाट हत्या गरिएको हो भन्ने घिनलाग्दो प्रचार गर्ने दुश्प्रयत्न पनि नभएको होइन । ती सबै झूठा आरोप एवं क्रियाकलापहरु कालक्रममा आत्मग्लानीसहित क्षमायाचना र विस्मरणको गर्भमा पुगे ।

आज पनि यदाकदा त्यस्तो घातक प्रवृत्ति देखा पर्न खोज्दैछ । हामीले इतिहासबाट शिक्षा लिनुपर्छ र त्यसबाट माथि उठ्नुपर्छ ।
संगठनात्मक कार्यदिशाको चर्चा गर्दा उल्लेख गरिसकिएको छ कि विचारधारात्मक सांस्कृतिक स्तर, जनवादी केन्द्रीयताको अभ्यास र अन्तरसंघर्षको परिचालन एक अर्कासँग सम्बन्धित हुन्छन् । यो कुरालाई यहाँ विशेषरुपमा स्मरण गर्नु जरुरी छ । नेता, कार्यकर्ताको वैचारिक–सांस्कृतिक स्तर उन्नत भएन भने अन्तरसंघर्ष तथ्यबाट सत्य पत्ता लगाउने विधि आधारित र पार्टी एवं क्रान्ति केन्द्रित, राष्ट्र एवं जनता केन्द्रित हुन सक्दैन । त्यसबेला व्यक्तिस्वार्थ र गुटस्वार्थ हाबी हुन्छ । सत्य, रुपान्तरण र एकता उपेक्षित हुन जान्छ । त्यो प्रवृत्ति हाबी हुन पुग्यो भने त्यसले नेता तथा पार्टी पंक्तिलाई कम्युनिस्ट क्रान्तिकारी र पार्टीलाई सच्चा कम्युनिस्ट पार्टी बन्न दिँदैन । कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको ध्यान र प्रयत्न त्यस्तो स्थिति आउन नदिने दिशामा केन्द्रित हुनुपर्दछ ।

वैचारिक संघर्ष, विचार समूह र गुट

यसरी कम्युनिस्ट पार्टीभित्र विभिन्न मुद्दामा निरन्तर छलफल, बहस र संघर्ष भइरहन्छ । वैचारिक संघर्ष त्यसैको निरन्तरको नियमित प्रक्रिया हो । त्यसको अर्थ मतभेद नभएको विषयमा पनि बलजफ्ती कृृत्रिम मतभेद खडा गरी संघर्ष गर्नु होइन । तर, पार्टीभित्र वैचारिक , नीतिगत वा विभिन्न विषयमा छलफल, बहस र संघर्ष हुन्छ भन्ने यथार्थलाई स्वीकार्नु पर्दछ र सकारात्मक रुपमा लिनुपर्दछ । यसरी बहस, मतभेद, अन्तरविरोध र संघर्ष सामान्य विषयदेखि गम्भीर महत्वका विषयमा हुन सक्छन् । एउटा निश्चित समयमा उठेका छलफल, बहस वा अन्तरसंघर्ष पार्टी निर्णयद्वारा लिइने निष्कर्षबाट समाधान हुन्छ र सबैबाट उक्त निर्णयको पालना गरिन्छ । यसरी पार्टी गतिवान् र सुदृढ हुँदै अघि बढ्छ ।

‘विचार समूह’ नै गुट होइन । यद्यपि विचार समूह आधारित वैचारिक संघर्ष आवश्यकताले पार्टीभित्रको सत्ता संघर्षसँग पनि जोडिन पुग्यो भने त्यसले गुटको जस्तो झल्को दिन सक्छ । तर, वास्तवमा गुट भनेको पार्टी र क्रान्तिको स्वार्थमा केन्द्रित नभई व्यक्ति वा व्यक्तिहरुको निजी स्वार्थ केन्द्रित संयत्र हो

त्यस्ता छलफल, बहस र संघर्षमा विषय केन्द्रित रहेर पार्टीका कमरेडहरुको बीचमा एकता र संघर्ष हुन्छ । अर्को समयको छलफल वा संघर्षमा त्यतिबेला आएको नयाँ मुद्दामा आधारित भएर नयाँ प्रकारको एकता र संघर्ष हुन सक्छ । यो प्रणालीले नै पार्टीलाई रुपान्तरणमुखी र सुदृढ पनि बनाउँछ । तर, सदाको स्थायी समीकरण बाञ्छनीय हुँदैन र त्यसले रुपान्तरण एवं एकताको सुदृढीकरणमा योगदान पनि पुर्‍याउँदैन ।

कहिलेकाहीँ पार्टीभित्रको मतभेद र अन्तरसंघर्षले ‘विचार समूह’ (आइडोलिजकल ग्रुप) पनि पैदा गर्न सक्छ । एउटा वा अर्काे खास मुद्दा वा सामान्य मुद्दामा मात्र मतभेद नभएर विचार, सिद्धान्त, राजनीति, कार्यनीति, संगठनात्मक विधि पद्दति आदि श्रृङ्खलामा नै मतभेद देखियो भने त्यस्तो अन्तरविरोध एवं अन्तरसंघर्षले विचार समूहहरुको जन्म दिन्छ । अथवा त्यसबेला विचार समूहहरु बन्न सक्छन् । पार्टी र क्रान्तिको सन्दर्भमा असाधारण महत्वको विषयमा मतभेद र अन्तरविरोध देखिएछ भने त्यसबेला पनि अन्तरसंघर्षले विचार समूहहरुको विकास गर्न सक्छ । तर, सामान्य एउटा वा अर्को विषयमा हुने छलफल, बहस र मतभेदले नै सधैंभरि विचार समूह पैदा हुन्छ भन्ने होइन ।

त्यसैले पार्टीभित्रको अन्तरविरोध र अन्तरसंघर्ष सामान्य नियमित अवस्थामा मुद्दामा केन्द्रित भएर कमरेडहरुको व्यक्तिगत भूमिकाका आधारमा अघि बढ्छ भने खास समयमा त्यो अन्तरविरोध र अन्तरसंघर्ष विचार समहूहरुको संघर्षका रुपमा पनि विकसित हुन सक्छ । विचार समूहहरुका रुपमा अन्तरसंघर्ष भए पनि पार्टीमा उपयुक्त विधिबाट त्यसको सकारात्मक निकास निस्किसकेको अवस्थामा त्यो विचार समूह त्यही अवस्थामा यथावत रहन्छ वा रहिरहन पर्दछ भन्ने होइन । फेरि नयाँ शिराबाट एकता र आवश्यकताअनुसार संघर्षको विधिबाट अघि बढ्नुपर्दछ ।

‘विचार समूह’ नै गुट होइन । यद्यपि विचार समूह आधारित वैचारिक संघर्ष आवश्यकताले पार्टीभित्रको सत्ता संघर्षसँग पनि जोडिन पुग्यो भने त्यसले गुटको जस्तो झल्को दिन सक्छ । तर, वास्तवमा गुट भनेको पार्टी र क्रान्तिको स्वार्थमा केन्द्रित नभई व्यक्ति वा व्यक्तिहरुको निजी स्वार्थ केन्द्रित संयत्र हो । ‘विचार समूह’ वैचारिक रुपान्तरण एवं विकासको औजार हो भने ‘गुट’ व्यक्तिहरुको पद र सत्तास्वार्थको औजार हो । गुटवादको आधार आत्मकेन्द्रित व्यक्तिवाद हो, जुन पुँजीवादको प्रभावको परिणाम हो । गुटको छुट्टै केन्द्रीयता हुन्छ । स्वाभाविकरुपमा यसको कार्यशैली अपारदर्शी एवम् छलछामपूर्ण हुन्छ ।

गुटले सिधा, खुला, स्पष्ट र सिद्धान्तनिष्ट अन्तरसंघर्षको मान्यतालाई आत्मसात् गर्दैन । तसर्थ, वैचारिक संघर्ष र विचार समूहलाई सकारात्मक रुपमा लिनुपर्दछ । तर, व्यक्तिहरुको स्वार्थकेन्द्रित झुण्डका रुपमा गुटहरुले भने पार्टीलाई नोक्सान पुर्‍याउने भएकाले निरुत्साहित एवं नियन्त्रण गर्नुपर्दछ । वैचारिक, सांस्कृतिक स्तर उन्नत बनाउने अभियान र विधि पद्दतिको पालनासहितको सार्थक जनवादी केन्द्रीयताको अभ्यासले मात्र गुटहरुको अन्त्य, मैत्रीपूर्ण अन्तरसंघर्ष र रुपान्तरणमुखी निकास सम्भव हुन सक्छ ।

अन्तरसंघर्ष, एकता र फुट

पार्टीमा मतभेद, अन्तरविरोध र अन्तरसंघर्ष देखियो कि अब पार्टी फुट्ने भयो भनेर आतंक सिर्जना गर्ने र अन्तरसंघर्षलाई सकारात्मक निकास उन्मुख हुनै नदिई विषयान्तर गर्ने प्रवृत्ति पनि देखा पर्न सक्दछ । हाम्रो पार्टीमा पनि त्यस्तो प्रवृत्ति देखा पर्ने गरेको छ । अन्तरविरोध तथा अन्तरसंघर्षलाई निषेध गरेर वा विषयान्तर गरेर होइन, मैत्रीपूर्ण एवम् स्वस्थ ढंगबाट छलफल गरेर निष्कर्ष निकाल्ने प्रक्रियाद्घारा नै पार्टी एकतालाई सजीव एवम् सुदृढ बनाउन सकिन्छ ।

दुईवटा अवस्थामा मात्र कम्युनिस्ट पार्टीमा फुट वा विभाजन हुन सक्छ । पार्टीभित्र गम्भीर सैद्धान्तिक, राजनीतिक विचलन देखापर्‍यो, पार्टीको क्रान्तिकारी चरित्र पूर्णरुपमा स्खलित भयो र पार्टीभित्रको संघर्षद्वारा पार्टीको क्रान्तिकारी रुपान्तरण असम्भव भइसक्यो भन्ने निष्कर्षमा कम्युनिस्ट क्रान्तिकारीहरु पुगे भने उनीहरुले विद्रोहको झण्डा उचाल्छन् र क्रान्तिकारी पार्टी पुनर्गठनको प्रक्रिया अघि बढाउँछन् । अवसरवादीहरुले पार्टी कब्जा गरी क्रान्तिकारीहरुलाई निष्काशन गरे भने पनि क्रान्तिकारीहरुले पुनर्गठनको प्रक्रिया अघि बढाउनेछन् ।

तर, हाम्रो पार्टीको आजको अवस्था त्यो होइन । यो पार्टी पूरै विचलित भइसकेको वा पार्टीभित्रको संघर्ष वा प्रयत्नबाट पार्टीको क्रान्तिकारीकरणको सम्भावना अन्त्य भइसकेको निष्कर्षमा कोही पनि पुगेको स्थिति होइन । त्यसैले यो कोणबाट हाम्रो पार्टीको विभाजन वा फुटको कुनै औचित्य अहिले छैन । त्यसैले पार्टीभित्र छलफल बहस गरी पार्टीको कमिटीले जे निर्णय लिन्छ, त्यसको पालना सबैले गर्ने दिशामा जानु आजको आवश्यकता हो । त्यसको विपरीत पार्टीले आफूले चाहेअनुसार निर्णय लिएन भने पार्टीको निर्णय मान्दिनँ र पार्टी छाड्छु भनेर कसैले भने भने पार्टी चोइटिने स्थिति उत्पन्न हुन सक्दछ । स्पष्ट छ, त्यो माक्र्सवादी एवम् कम्युनिस्ट पद्दति होइन । त्यसले मेरो निम्ति पार्टी र पार्टीको सर्वेसर्वा म भन्ने गलत मान्यता राख्छ । तर, हाम्रो पार्टीमा के हामी कसैले त्यस्तो व्यक्तिवादी सोचका आधारमा राष्ट्र, जनता, पार्टी र कम्युनिस्ट आन्दोलनलाई धोका दिने धृष्टता गरौंला ? त्यस्तो स्थिति पनि आउला भनेर कल्पना गर्ने ठाउँमा किन र कसरी पुग्ने ?

पार्टीभित्रको अन्तरसंघर्षको सार

उपरोक्त मार्क्सवादी दृष्टिविन्दुका आधारमा हामीले पार्टीभित्रको अहिलेको अन्तरविरोध र अन्तरसंघर्षलाई सकारात्मक ढंगले समाधान गर्नु आवश्यक छ । हाम्रो पार्टीभित्रको अन्तरविरोध वा अन्तरसंघर्षका मुद्दाहरु सारतत्वमा र संक्षेपमा निम्नानुसार बुझ्न सकिन्छ :

एक, तत्कालको अन्तरविरोध र अन्तरसंघर्ष विचार नीति, विधि, पद्धति र कम्युनिस्ट मूल्यमान्यता-संस्कृतिको वरिपरि केन्द्रित रहेको छ । पार्टी र सरकार विचार र नीतिका आधारमा सञ्चालन भएको छ कि छैन र गर्ने कि नगर्ने ? पार्टी र सरकार विधि पद्दतिका आधारमा सञ्चालन भएको छ कि छैन र गर्ने कि नगर्ने ? पार्टी र सरकारमा कम्युनिस्ट वा प्रगतिशील मूल्यमान्यता वा आचरणको पालना भएको छ कि छैन र गर्ने कि नगर्ने ?वा यो विषय अब कुनै सरोकारको विषय नै नबनाउने ? विचार-नीतिको आधारमा चलेन, चल्नु पर्दछ । विधि- पद्दतिको आधारमा सञ्चालन भएन, हुनुपर्दछ । अन्यथा पार्टी र सरकार दुवै असफल हुन्छ । त्यसो हुन दिने छुट हामीलाई छैन । तत्कालको अन्तरविरोध एवं अन्तरसंघर्षको मुख्य पक्ष यही हो ।

दुई, हाम्रो पार्टीको यतिबेलाको अन्तरसंघर्ष पूर्व पार्टीगत समूहहरु वा पूर्वपार्टीभित्रका समूहहरुबीचको अन्तरसंघर्ष होइन । त्यसको केही वैचारिक वा संस्कारगत प्रभाव होलान् । तर, त्यो मुख्य हुँदै होइन र हुन पनि हुँदैन । हाम्रो एकीकृत पार्टीमा हाम्रा साझा समस्या छन् । वास्तवमा हाम्रो पार्टीमा दुई प्रवृत्तिको क्रमशः विकास हुँदैछ –

एउटा हो, हामीले हिजो कम्युनिस्ट भएर संघर्ष गर्‍यौं, अझ पनि कम्युनिस्ट नै छौं र भोलि पनि कम्युनिस्ट नै रहने छौं । अहिलेसम्म जनताको साथ लिई लडेर ल्याएको परिवर्तनको उपलब्धिलाई रक्षा गर्नेछौं । त्यसलाई अझ विकास गर्नेछौं । तत्कालीनरुपमा सामाजिक न्यायसहितको समृद्धि हासिल गरेर आमजनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने छौं । समाजवादको आधार तयार पार्नेछौं । अन्ततः समाजवाद निर्माण गरी छाड्ने छौं । आजको आवश्यकता अनुरुप समाजवादी क्रान्ति सफल पारी छाड्ने छौं ।

अर्को हो, हिजो जानेर वा नजानेर कम्युनिस्ट भयौं । संघर्ष गरेर केही उपलब्धि पनि हासिल गर्‍यौं । तर, फेरि अब कम्युनिस्ट क्रान्तिकारीकै रुपमा क्रियाशील हुन सकिन्न । अबका लागि पुँजीवाद नै ‘अन्तिम सत्य’ हो र यो पुँजीवादी प्रतिस्पर्धामा कम्युनिस्ट नाम र झण्डाको प्रयोग गर्दै पद, पैसा, सत्ता, शक्ति, सुविधा जे–जे पाइन्छ, लिने, भोग्ने हो । परिवर्तनपछि कम्युनिस्ट आन्दोलनभन्दा बाहिरबाट पार्टीमा प्रवेश गरेका कमरेडहरुमा पनि त्यस्तो स्थिति देखिन सक्छ ।

पहिलोले मार्क्सवाद–लेनिनवादलाई जीवन दृष्टिकोण र पथप्रदर्शक सिद्धान्त मान्दछ । पार्टीलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीकैरुपमा अघि बढाउनुपर्दछ भन्ने ठान्दछ । वर्तमान परिवर्तनलाई परम्परागत संसदीय गणतन्त्र भन्दा उन्नत एक प्रकारको समाजवाद उन्मुख जनताको जनवाद ठान्दछ र त्यसको अभ्यास एवं विकास गर्नुपर्दछ भन्ने मान्यता राख्दछ । विकासको परम्परागत पुँजीवादी ढाँचाभन्दा उन्नत समाजवाद उन्मुख विकासको ढाँचाअन्तर्गत समृद्धिको अभियान अघि बढाएर समाजवादको आधार तयार पार्ने र वैज्ञानिक समाजवादी मूलमान्यतामा आधारित २१औं शताब्दीअनुरुपको नयाँ मोडेलको समाजवाद निर्माण गर्ने सोच राख्छ । यो मार्क्सवाद–लेनिनवाद, कम्युनिस्ट पार्टी र समाजवादको पक्षमा छ ।

अर्कोले मार्क्सवाद–लेनिनवाद, कम्युनिस्ट पार्टी र समाजवादलाई ट्रेडमार्कको रुपमा लिन्छ र पुँजीवाद एवम् पुँजीवादी प्रतिस्पर्धाभित्रको व्यक्ति स्वार्थलाई आफ्नो वास्तविक अभीष्ट बनाउँछ । हामी पार्टीमा दोस्रो प्रवृत्तिको पूर्ण विकास भई पार्टीको मुख्य प्रवृत्ति बन्ने र पार्टी नै पुँजीवादी पार्टीमा परिणत हुने खतरा त पैदा हँुदैन ? यो गम्भीर चिन्ताको विषय बनिरहेको छ ।

तर, हाम्रो पार्टीमा यो अन्तरविरोध सुस्पष्ट र व्यवस्थितरुपमा विकास भइसकेको छैन । यसलाई तत्कालको अन्तरसंघर्षको प्रवृत्तिमा पूरै जोडेर बुझ्नु पनि गलत हुनेछ । यो हामी सबैले आफूलाई कठघरामा राखेर गम्भीररुपमा सोच्ने र आफैंसँग संघर्ष गर्न तयार हुने विषय हो । अहिलेको अन्तरसंघर्षमा क्रमशः विकसित हुँदै जान सक्ने खतरा रहेको व्यापक दायराको त्यस्तो अन्तरविरोध र त्यसमा अन्तरनिहित चिन्तन संस्कृतिको प्रभाव रहेको हुन सक्छ । तर, अहिलेको अन्तरविरोध र अन्तरसंघर्षलाई यो सारतत्वमा विकसित अन्तरविरोधका रुपमा भने लिनु हुँदैन । पार्टीमा यसप्रकारको अन्तरविरोधले क्रमशः विकसित हुँदै जाने खतराको स्थिति किन उत्पन्न भयो त ? अन्ततः वर्गचरित्रमा नै गएर यसलाई विश्लेषण गर्नुपर्ने हुन्छ । यसका पछाडि पार्टीमा निश्चित समूहको वर्गउत्थान र परिणामतः पार्टीको वर्गचरित्रमा स्खलनको खतरा बाहेक अरु के होला त ? सबैले गम्भीररुपमा सोच्नुपर्ने भएको छ ।

तीन, समग्रतामा हाम्रो पार्टीको मुख्य समस्या विचारधारात्मक–सांस्कृतिक समस्या हो । सबै समस्या, मतभेद र अन्तरविरोधहरु यसैको जगमा पैदा भएका हुन् र समाधान पनि अन्ततः पार्टीभित्र व्यापक महाअभियानका रुपमा सञ्चालन गरिने विचारधारात्मक–सांस्कृतिक आन्दोलनमा नै निहीत रहेको छ ।

अन्तरविरोध एवं समस्याको उपरोक्त दोस्रो र तेस्रो आयामका बारेमा पार्टीमा क्रमशः छलफल गर्दै जान सकिनेछ । त्यसो गर्नु नै उपयुक्त पनि हुनेछ । अहिले नै भने पहिलो अन्तरविरोध र अन्तरसंघर्षको निकास निकाल्न ध्यान केन्द्रित गर्न आवश्यक छ । अन्तरविरोध एवं अन्तरसंघर्षलाई स्वाभाविक प्रक्रियाका रुपमा लिँदै मैत्रीपूर्ण छलफल र बहसद्वारा सकारात्मक समाधानमा पुग्न सकिन्छ र सक्नु पनि पर्दछ । तर, अन्तरविरोध एवं अन्तरसंघर्ष अनावश्यकरुपमा गम्भीर एवं जटिल बन्दै गएको छ, जुन उचित होइन । यसका पछाडि आमरुपमा वैचारिक-सांस्कृतिक स्तरको न्यूनता र अन्तरसंघर्षसम्बन्धी सही समझदारीको आत्मसातीकरणमा समस्या र व्यक्तिवाद एवं गुटवादले भूमिका खेलेको छ । मूल रुपमा भने निजी स्वार्थ केन्द्रित व्यक्तिवाद र गुटवाद नै अन्तरसंघर्षलाई यसरुपमा गम्भीर एवं जटिल बनाउन जिम्मेवार छ ।

अबको हाम्रो कार्यभार

एक-पार्टी एकताको रक्षा : महान् क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर ठूलो मेहनत, आशा र अपेक्षाका साथ गरिएको र जनताबाट समेत अनुमोदित पार्टी एकताको रक्षा आजको हाम्रो प्रमुख दायित्व र कार्यभार हो । पार्टी एकताको रक्षा एवं सुदृढीकरणद्वारा मात्र विश्वमै यतिबेला हामीलाई प्राप्त नयाँ मोडेलको समाजवादी क्रान्ति सम्पन्न गरी समाजवादी नेपाल निर्माण गर्ने ऐतिहासिक अवसरलाई पक्रन सम्भव हुनेछ । त्यसलाई धरासायी बनाउने दिशामा जानु ठूलो धोखा र आत्मघात हुनेछ । तसर्थ, व्यक्ति र गुटलाई होइन, राष्ट्र, जनता, पार्टी र क्रान्तिलाई केन्द्रविन्दुमा राखौं । पार्टीमा विद्यमान अन्तरविरोधलाई मैत्रीपूर्ण छलफल, बहसद्वारा समाधान गरौं । पार्टीले लिने निर्णय, निष्कर्षलाई सबैले पालना गरौं र पार्टी एकतालाई अझ सुदृढ बनाऔं ।

पार्टी एकताको रक्षाका सन्दर्भमा यससँग जोडिएको अन्य दुई पक्षका बारेमा पनि स्पष्टताको आवश्यकता छ । पार्टी एकता र रक्षाको कुरा गर्दा पार्टी संगठनलाई अहिलेकै यथास्थितिमा रहन दिएर अकर्मण्य बनाउने र अन्ततः स्वतः विघटन एवं विसर्जनको दिशामा धकेल्ने काम गर्नुहुँदैन । साथै, पार्टीलाई वैचारिक विचलन एवं कम्युनिस्ट चरित्रबाट स्खलन हुँदै सारतत्वमा पुँजीवादी पार्टीमा बदलिने स्थिति आउन पनि दिनु हुँदैन । नेपाली कम्युनिस्ट आन्दोलनलाई कुनै पनि कोणबाट विसर्जन हुन दिनु हुँदैन ।

दुई– संकटको सकारात्मक निकास : पार्टीमा अहिले देखापरेको अन्तरविरोध एवं अन्तरसंघर्षलाई मार्क्सवादी दृष्टिबिन्दु एवं पद्दतिका आधारमा छिट्टै सकारात्मक निकासमा पुर्‍याउनु जरुरी छ । सबैले आ–आफ्नो ठाउँबाट वस्तुनिष्ठ भई यसमा योगदान गरौं ।

यथास्थिति र लिपापोतीले संकटको समाधान गर्दैन । त्यसले संकटलाई थप गहिरो बनाउने काम मात्र गर्नेछ । केही समययताको हाम्रो अनुभवले पनि त्यही भन्छ । त्यसैले हामीले पार्टीलाई विधि, पद्दतिका आधारमा सञ्चालन गर्ने तथा सक्रिय पार्ने र सरकारलाई पार्टीको मार्गनिर्देशनमा समाजवादउन्मुख समृद्धि हासिल गर्दै समाजवादको आधार तयार पार्न सफल पार्ने कार्य गर्नुपर्दछ । त्यसैअनुरुप निर्णय गर्नु पर्दछ । रुपान्तरणमुखी निष्कर्ष र पार्टी एवं पार्टी निर्णयप्रति सबैको सामूहिक प्रतिवद्धताले नै हामीलाई अहिलेको ठाउँबाट अग्रगामी दिशामा लैजाने छ ।

विचारधारात्मक कार्यदिशाको विकासको सन्दर्भमा राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा पनि ध्यान दिनु आवश्यक छ

तीन-राष्ट्रिय महाधिवेशनको आयोजना : हामीले २०७७ चैत्रमा पार्टीको एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय लिएका छौं । पार्टी र देशको समग्र परिस्थितिको वास्तुवादी समीक्षा गरेर निर्धारित समयमा महाधिवेशन सम्पन्न गर्न सकिन्छ कि सकिँदैन सोचौं । जे भए पनि हामीले सम्भव भएसम्म छिटो राष्ट्रिय महाधिवेशनको आयोजना गर्नुपर्दछ र त्यसको तयारीमा जुट्नुपर्दछ । महाधिवेशनबाट पार्टी एकताको संक्रमणकाल अन्त्य गर्नुका अतिरिक्त निम्न महत्वपूर्ण कार्यभार पूरा गर्न ध्यान केन्द्रित गर्नुपर्दछ ।

(क) कार्यदिशाको संश्लेषण र विकास : राष्ट्रिय महाधिवेशनको पहिलो र मुख्य कार्यभार पार्टीले अवलम्वन गर्ने विचारधारात्मक एवं राजनीतिक कार्यदिशाको संश्लेषण र विकास हो । ऐतिहासिक आवश्यकताले माग गरेअनुरुप नयाँ कार्यदिशाको विकास अन्तरिम कार्यदिशा तथा हाम्रो अहिलेसम्मका सोच एवं अनुभवमा टेकेर नै हुनेछ । तर, त्यसका लागि नयाँ शिराबाट गम्भीर अध्ययन, छलफल, बहस र संश्लेषणको आवश्यकता छ । त्यसप्रकारको महान् बहसको वीचबाट पार्टीले कार्यदिशाको परिमार्जन र विकास गर्नेछ । त्यस क्रममा नै पार्टी एकता गर्दा उल्लेख गरिएका पूर्वपार्टीहरु बीचका वैचारिक मतभेदको पनि समाधान हुनेछ ।

विचारधारात्मक कार्यदिशा : मार्क्सवाद–लेनिनवादमा पार्टी दृढ रहनेछ । मार्क्सवाद–लेनिनवादको मुख्य पक्ष, द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोण र भौतिकवादी द्वन्द्ववादको पद्दति वैज्ञानिक र क्रान्तिकारी भएकाले त्यसको ग्रहण, आत्मसातीकरण र प्रयोग नै हाम्रो मुख्य विचारधारात्मक दार्शनिक आधार रहनेछ ।

मार्क्सवादको यो दार्शनिक पक्षलाई आधुनिक विज्ञानका नवीनतम निष्कर्षहरुले पनि पुष्टि गरेका छन् । तथापि आन्स्टाइनको सापेक्षतावादको सिद्धान्त र पछि विकसित क्वान्टम मेकानिक्सका आधारमा मार्क्सवादको दार्शनिक आधार गलत सावित भएको भन्ने प्रचार पनि हुने गरेका छन् । वास्तवमा यो धारणा मार्क्सवादको दार्शनिक पक्षको यान्त्रिक बुझाइको कारणबाट देखापरेको हो । क्वान्टम मेकानिक्सले मार्क्सवादको दार्शनिक पक्षलाई थप पुष्टि नै गरेको छ । हामीले प्राकृतिक विज्ञानका नयाँ आविष्कारसँगै मार्क्सवादको दार्शनिक आधारलाई चुनौती दिनेहरुलाई लेनिनले ‘भौतिकवाद तथा अनुभवसिद्ध आलोचना’ पुस्तक लेखेर चिरेजस्तै यसलाई स्पष्ट पार्न पनि त्यत्तिकै ध्यान दिनु जरुरी छ ।

त्यसका साथै द्वन्द्वात्मक भौतिकवादलाई दह्रो गरी आत्मसात गर्दै पूर्वीय दर्शनमा रहेका वैज्ञानिक पक्षलाई पनि मार्क्सवादको समृद्धीकरणमा सम्मिलन गर्न ध्यान दिनु पर्दछ । विशेषतः गौतमबुद्धका शिक्षाहरु र योग, ध्यानलाई पनि आत्मसात गर्न थप अध्ययनसहित अघि बढ्नु पर्दछ । भौतिक जगत र चेतना एवं मनोजगतको द्वन्द्वात्मक योगद्वारा सामाजिक मुक्तिको प्रक्रिया अघि बढ्ने कुरा विश्वास गर्ने हामी मार्क्सवादीहरुले मनोजगत र स्वरुपान्तरणको प्रक्रियामा आधुनिक विज्ञानले समेत पुष्टि गरेका पूर्वीय दर्शनका कतिपय शिक्षालाई ग्रहण गर्नु जरुरी छ ।

विचारधारात्मक कार्यदिशाको विकासको सन्दर्भमा राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा पनि ध्यान दिनु आवश्यक छ । साम्राज्यवादको नयाँ स्वरुप, भूमण्डलीकृत पुँजीवाद, सूचना प्रविधिको असामान्य चमत्कारिक विकास, उत्पादन प्रविधिमा भएको विकास, जलवायु, वातावणीय तथा विश्व महामारीको संकटलगायतका नयाँ विकसित वस्तुगत पक्ष र प्रतिक्रान्तिका शिक्षाहरुको आत्मगत पक्षलाई ध्यान दिँदै राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा पनि थप अध्ययन, अनुसन्धानसहित माक्सवादको विकासका निम्ति विश्वमा भइरहेका प्रयत्नमा हामी पनि जोडिएर अघि बढ्नुपर्दछ ।

राजनीतिक कार्यदिशा : अन्तरिम राजनीतिक प्रतिवेदनले अगाडि सारेको राजनीतिक कार्यदिशालाई आवश्यक परिमार्जन र विकास गर्न ध्यान दिनु पर्दछ । नेपाली समाजको चरित्र एवं वर्गसंरचना, नेपाली समाज, कम्युनिस्ट एवं क्रान्तिकारी आन्दोलनको विशेषता तथा अनुभवमाथि मूल रुपमा आधारित हुँदै र वर्तमान विश्व व्यवस्था, विश्व परिस्थति, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका अनुभव एवं शिक्षालाई पनि ध्यान दिँदै हामीले राष्ट्रिय महाधिवेशनबाट राजनीतिक कार्यदिशाको संश्लेषण गर्नुपर्दछ । सुस्पष्ट कार्यदिशाविना हाम्रो क्रान्तिकारी लक्ष्य र उद्देश्य प्राप्ति असम्भव हुने स्पष्ट छ ।

संगठनात्मक कार्यदिशा ः कम्युनिस्ट पार्टीसम्बन्धी लेनिनवादी अवधारणा र संगठनात्मक सिद्धान्तलाई मूलरुपमा अनुशरण गर्दै आजको आवश्यकताअनुसार कम्युनिस्ट पार्टीसम्बन्धी अवधारणा र संगठन संचालन तथा नेतृत्व निर्माणको विधिपद्दति एवं मान्यतामा परिमार्जन तथा विकास गर्न पनि ध्यान दिनु पर्दछ ।

(ख) नेतृत्व निर्माण : राष्ट्रिय महाधिवेशनले कार्यदिशा निश्चित गरिसकेपछि पूरा गर्नुपर्ने अर्को केन्द्रीय महत्वको कार्यभार नेतृत्व निर्माण हो । क्रान्तिकारी उद्देश्य र कार्यदिशालाई केन्द्रमा राख्दै त्यसले माग गरेअनुरुप क्रान्तिनिष्ठ, सिद्धान्तनिष्ठ, संघर्षशील, स्वच्छ, क्षमतासम्पन्न, सक्रिय र अनुभवी सामूहिक नेतृत्व टीम निर्माण गर्न महाधिवेशन सफल हुनु पर्दछ ।

कार्यदिशा निश्चित गरिसकेपछि त्यसलाई कार्यान्वयन गर्न नेतृत्वको भूमिका ज्यादै महत्वपूर्ण रहन्छ । नेपाली कम्युनिस्टहरुले आज प्राप्त गरेको ऐतिहासिक अवसरलाई पक्रन र नयाँ मोडेललाई समाजवादी क्रान्तिको सफल प्रयोगको गौरवशाली थलोका रुपमा नेपाललाई पुर्‍याउन नेतृत्व निर्माणमा उचित ध्यान दिनु पर्दछ ।

(नेकपाका प्रवक्ता एवं सचिवालय सदस्य श्रेष्ठले अनलाइनखबरमा लेखेको ‘पार्टी एकता, नेपाली क्रान्ति र नेकपाको कार्यभार’ लेख श्रृंखलाको यो तेस्रो खण्ड हो । अघिल्ला दुई खण्डहरु तलको लिंकमा पढ्न सकिनेछ )

यो पनि पढ्नुहोस पार्टी एकता : किन, केका लागि र कता जाने ?  

यो पनि पढ्नुहोस हाम्रो विचारधारात्मक एवं राजनीतिक कार्यदिशा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment