
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले २०८४ सालको निर्वाचनमा बहुमत हासिल गरी सरकार बनाउने दाबी गरे।
- श्रेष्ठले भने, ‘हामी सच्चिन्छौं भनेर आत्मालोचना गरेर जनतामा जाने पार्टी हो । त्यसकारण हाम्रो पार्टीले नै यो देशको नेतृत्व गरेर आजको राष्ट्रिय कार्यभार पूरा गर्ने र देश बदल्ने सम्भावना छ ।’
- श्रेष्ठले पार्टीको केन्द्रीय समिति १९९ सदस्यीय बनाउने र निर्वाचनमा होमिने बताए।
२ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले २०८४ सालको निर्वाचनमा बहुमत हासिल गरेर माओवादीको सरकार बनाउने दाबी गरेका छन् ।
आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा श्रेष्ठले दुई वर्ष पूरै निर्वाचनको तयारीमा लाग्ने र बहुमत हासिल गरेर देशको नेतृत्व गर्ने बताए ।
चुनाव अहिले शान्तिपूर्ण कार्यभारको महत्वपूर्ण पक्ष भएको बताउँदै श्रेष्ठले भने, ‘२०८४ मा बहुमतको सरकार बनाएर यो देशलाई फेर्ने, फेरिछाड्ने अभियानमा हामी लाग्छौं । हामी दावाका साथ भन्छौं, २०८४ मा बहुमतको सरकार माओवादीको, त्यसपछि सामाजिक, आर्थिक रुपान्तरण तीव्र पारिन्छ, फड्कोमा पुर्याइन्छ, समृद्ध नेपाल बनाइन्छ, त्यसको प्रतिफल आम जनतालाई दिइन्छ र समाजवादको आधार तयार पारिन्छ ।’
महाधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय समिति बनाउने र निर्वाचनमा होमिने उनको भनाइ छ । ‘विधानमा हाम्रो केन्द्रीय समिति १९९ सदस्य हुने भनिएको छ । अब हामी महाधिवेशनसम्म पुग्दाखेरि केन्द्रीय समितिलाई पनि नयाँ ढंगले विधानअनुरुप निर्माण गरेर नयाँ फड्को मार्छौं । त्यसपछि हामी पूरै चुनावको तयारीमा जान्छौं,’ श्रेष्ठले भने ।
श्रेष्ठले अगाडि भने, ‘हामी सच्चिन्छौं भनेर आत्मालोचना गरेर जनतामा जाने पार्टी हो । त्यसकारण हाम्रो पार्टीले नै यो देशको नेतृत्व गरेर आजको राष्ट्रिय कार्यभार पूरा गर्ने र देश बदल्ने सम्भावना छ ।’
अरु पार्टीको हातमा नेतृत्व गएमा देश बर्बाद हुने जिकीर गर्दै श्रेष्ठले चुनावमा जानुअघि नै माओवादी सच्चिने बताए । ‘निर्वाचनको दिनमा आएर १२–१ बजेदेखि टिकट कलाई दिने हो भनेर ठेगान गरेर टिकट पठाउने चलन बन्द गर्नुपर्छ । प्रारम्भदेखि नै निर्वाचनको तयारी गर्नुपर्छ,’ श्रेष्ठले अगाडि भने, ‘अरुभन्दा राम्रो पार्टी हुँदाहुँदै पनि यथास्थितिमा हाम्रो पार्टीलाई राखेर हाम्रो मूल कार्यनीति र रणनीति दुइटै काम गर्न सक्दैनौं ।’
त्यसको निम्ति अहिलेको माओवादी बदलिनुपर्ने बताउँदै श्रेष्ठले थपे, ‘खाली हाम्रो पार्टीलाई सरकार बनाउने अवसर दिनुपर्छ मात्रै भनेको होइन । हाम्रो पनि रुपान्तरित, फेरिएको, क्रान्तिकारी र शत्तिशाली नेकपा माओवादी केन्द्रको रुपमा हाम्रो नेतृत्वको कुरा गरेको हो हामीले, यथास्थितिको होइन ।’
प्रतिक्रिया 4