Comments Add Comment

फेरि बढ्न थाल्यो विद्युत चुहावट

३ पुस, काठमाडौं । गत ४ वर्षदेखि घट्दै आएको विद्युत चुहावट चालु आर्थिक वर्षमा बढ्न थालेको देखिएको छ ।

चालु आवको तथ्यांकअनुसार गत असोजमा प्राधिकरणको प्रणालीबाट वितरण लाइनतर्फ १४.२९ प्रतिशत विद्युत चुहावट भयो । यो गत वर्षको असोजभन्दा २.३१ प्रतिशत बढी हो । गत वर्षको असोजमा वितरणलाइतर्फको चुहावट ११.९८ प्रतिशत थियो ।

प्राधिकरणले ग्राहकलाई वितरण गरेको तर, बिलङ प्रणालीमा नसमेटिएको विद्युतको मात्रालाई चुहावटमा गणना हुन्छ । यसमा केही प्रतिशत हिस्सा प्राविधिक चुहावट हुन्छ । प्राविधिक कारण हुने चुहावट घटाउन पूर्वाधारमा ठूलो लगानी गर्नुपर्ने भएपनि वितरण लाइनमा मुख्यतः गैरप्राविधिक (मुख्य गरी बिजुली चोरी ) चुहावट घटाउन वितरण क्षेत्रमा नियमित अनुगमन र निगरानी गर्नुपर्छ । तर, यसवर्ष वितरण केन्द्रअन्तरगत सबैजसो क्षेत्रमा चुहावाट बढेको देखिन्छ ।

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७०/०७१ को असोजमा प्रणालीमा वितरणतर्फको विद्युत चुहावाट १९.८२ प्रतिशत थियो । आव०७१/७२को असोजमा त्यो घटेर १८.४४ प्रतिशतमा झरेको थियो । आव०७२/७३को समीक्षा अवधिमा चुहावट बढेर २१.४४ प्रतिशत पुग्यो ।

त्यसपछि०७३/७४को असोजमा १८.४४ प्रतिशत, ०७४/७५को असोजमा १८.१० प्रतिशत र ०७५/७६ असेजमा १४.५४ प्रतिशतमा चुहावट भएको थियो । आव०७६/७७को असोजमा ११ प्रतिशतमा झरेको चुवहाट दर यो वर्ष१४ प्रतिशतभन्दा माथि उक्लिएको छ ।

यो वर्ष भदौमा पनि विद्युत् चुहावट गत वर्षभन्दा बढेको थियो । साउनमा गत वर्षको भन्दा कम थियो । प्राधिकरणका अनुसार गत साउनमा चुहावट दर १७.२५ प्रतिशत थियो ।

अघिल्लो वर्षको साउनमा चुहावट १७.२५ प्रतिशत थियो ।यो वर्ष भदौमा १६.९३ प्रतिशत विद्युत चुहावट भयो । जबकी गतवर्षको भदौमा यस्तो चुहावाट दर १५.५२ प्रतिशत थियो ।

सबै क्षेत्रमा चुहावट वृद्धि

क्षेत्र अनुसार विश्लेषण गर्दासबैतिर गत वर्षको भन्दा बढी चुहावट भएको देखिन्छ । सबभन्दा धेरै चुहावाट जनकपुर प्रादेशिक कार्यालय अन्तरगतको लाइनहरुमा भएको छ । गत वर्ष असोजमा २०.४३ प्रतिशत चुहावट रहेको त्यस क्षेत्रमा यो वर्ष २१.४६ प्रतिशत पुगेको छ ।

सुर्खेत प्रादेशिक कार्यालय अन्तरगत गत असोजमा १६.५७ प्रतिशत चुहावट भएकोमा यो वर्ष १४.८९ प्रतिशत चुहावट भयो । त्यस्तै, विराटनगर प्रादेशिक कार्यालयअन्तरगत अघिल्लो असोजमा १५.३९ प्रतिशत चुहावट भएकोमा यो वर्ष यस्तो दर १२.७० प्रतितश रहृयो ।

प्राधिकरणको बुटवल प्रादेशिक कार्यालय अन्तरगत गत असोजमा चुहावट दर १५.३१ प्रतिशत थियो । जबकी गत वर्ष समीक्षा अवधिमा यस्तो दर १०.५८ प्रतिशत थियो ।अत्तरिया प्रादेशिक कार्यालय अन्तरगत यस्तो चुहावट दर १४.३५ प्रतिशत रह्यो । गत वर्षको असोजमा यो दर ११.९१ प्रतिशत थियो ।

नेपालगञ्ज प्रादेशिक डिभिजन कार्यालय अन्तरगत वितरित लाइनमा १२.६६ प्रतिशत चुहावट भयो । अघिल्लो वर्ष यस्तो दर १२.३८ प्रतिशत कायम भएको थियो ।

पोखरा प्रादेशिक कार्यालय अन्तरगत पनि चुहावट दर ह्वात्तै बढेको छ । गत वर्षको असोजमा ८.१८ प्रतिशत रहेको चुहावट दर यो वर्ष ११.६९ प्रतिशतमा पुगेको छ । त्यस्तै, हेटौंडा प्रादेशिक कार्यालयअन्तरगत चुहावाट दर ११.१९ प्रतिशत चुहावट पुगेको छ । गत वर्ष समीक्षा अवधिमा यो दर ९ं३९ प्रतिशत थियो ।

काठमाडौंमा पनि चुहावाट दर बढेको छ । अघिल्लो वर्षको असोजमा ५.७९ प्रतिशत रहेको यस्तो दर यो वर्ष बढेर ६.९९ प्रतिशतमा पुगेको छ ।

किन बढ्यो ? 

प्राधिकरणका अनुसार वर्षामा बढी विद्युत चुहावाट हुन्छ । यो वर्ष ढिलासम्म पनि वर्षा भइरहेकाले भदौ/असोजमा चुहावट दर बढेको हुनसक्ने विष्लेषण प्राधिकरणको छ ।

त्यसबाहेक महामारीका कारण मिटर रिडिङमा समस्या भएकाले कतिपय तथ्यांक प्रणालीमा आउन ढिलाइ भएको प्राधिकरणका प्रवक्ता मदन तिमल्सिना बताउँछन् ।

‘महामारीका कारण बिजुलीको एकाउन्टिङ ढिलाइ भएको हुनसक्छ,’ उनी भन्छन्,’चुहावाटभर्चुअल रुपमा मात्र बढेको पनि हुनसक्छ । यसको विश्लेषण केही समयपछि हुन्छ ।’

कोरोना हामारीका कारण अनुगमन र छड्के जाँच गर्न पनि समस्या भएको प्रवक्ता तिमल्सिनाले बताए ।

प्राधिकरणको निर्देशकमा कुलमान घिसिङ आएपछि घटेको चुहावट उनको बर्हिगमनलगत्तै बढ्नुले आंशका उब्जाएको प्राधिकरणकै कतिपय अधिकारीको भनाइ छ ।

‘दुई हप्ताअघिको नियमित सरुवामा सही मान्छे सही ठाउँमा पठाएको देखिएन,’ प्राधिकरणका एक अधिकारी भन्छन्,’पहुँच र शक्तिको आधार हुने यस्ता सरुवाले बढाउने भनेको चुहावट र अनियमितता नै हो ।’

प्राधिकरणले गत ४ वर्षमा प्रणालीबाट हुने ११ प्रतिशत विद्युत चुहावाट घटाएको थियो ।आव ०७२/०७३ मा प्राविधिक तथा गैरप्राविधिक विद्युत चुहावट २५.७८ प्रतिशत थियो । चुहावट घटाउने अभियान थालिएको ०७३/७४ मा चुहावट २२.९ प्रातिशतमा झरेको थियो ।

चार वर्षमा करिव ११ प्रतिशतचुहावट कम हुँदा प्राधिकरणलाई वित्तीय रुपमा करिब ८ अर्ब रुपैयाँ फाइदा भएको थियो । चुहावट घटाएर नाफातर्फ लम्किएको प्राधिकरणले विद्युत खपत बढाउन यो अवधिमा महत्वपूर्ण सफलता हात पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment