
काठमाडौं । अभिनेत्री मनीषा कोइरालाको बेस्ट–सेलर कृति ‘हिल्ड’को नेपाली अनुवाद ‘जिजीविषा’ फाइनप्रिन्टबाट प्रकाशनमा आएको छ । आत्मसंस्मरणको नेपाली अनुवाद पत्रकार स्वरूप आचार्यले गरेका हुन् ।
आइतबार पुस्तकको भिडियो लन्चका अवसरमा बोल्दै अभिनेत्री कोइरालाले भनिन्, ‘मैले यो किताब लेख्छु भनेर सुरु गरेकी होइन । अमेरिकामा क्यान्सरको उपचारका क्रममा एक जना बौद्ध रिन्पोचेले आफूलाई क्यान्सरबाट परेको दुःख भोग्दाका बेला तिमीलाई लागेका कुरा टिपोट गरिराख्नू भन्नुभएको थियो । यो पीडाको, यो कठिनाइको कुरा पनि लेखिराख्नू भनेकाले मैले त्यति बेलाका दुःख अनि कष्टलाई टिपोट गर्दै गएँ । र त्यसलाई पछि पुस्तकका रुपमा ल्याएकी हुँ ।’
क्यान्सर लाग्नुअघि आफूले जीवनको त्यति महत्त्व नबुझेको र पछि मृत्युको नजिक पुग्दा यसको महत्ताबारे धेरै जानकारी पाएको उनले बताइन् । ‘पहिला म धेरै केयरलेस थिएँ । रोग लाग्यो भने पैसा खर्च गरेर मात्र छुटकारा पाइँदो रहेनछ, अरुलाई पनि उत्तिकै गाह्रो हुने रहेछ,’ उनले भनिन्, ‘वास्तवमा मनुष्यजीवन कति महत्वपूर्ण रहेछ, तर त्यही जीवनलाई हामीले गलत तरिकाले पनि उपयोग गरिरहेका रहेछौं ।’
प्रतिक्रिया 4