Comments Add Comment

कविको कटाक्ष : जंगबहादुर हुनुहुँदोरहेछ तपाईं !

६ पुस, काठमाडौं । आइतबार प्रधानमन्त्रीले संसद विघटन गरेलगत्तै कवि अर्जुन पराजुलीको हस्तलिखित एक छोटो कविताले सामाजिक सञ्जालमा तरंग ल्यायो । कवि पराजुलीको कवितामा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन तथा अन्य कदमलाई जति घृणा गरे पनि कम हुने भाव उल्लेख थियो ।

दुई दशकदेखि राजनीतिक कविता लेख्दै आएका पराजुलीले लेखेका छन्–

जंगबहादुर हुनुहुँदोरहेछ तपाईं

जुँगा उखेल्नु भो हजुरले जुगको

थुकौं भने पनि तपाईंलाई

अपमान हुने भयो मेरो थुकको !

पराजुलीमात्र होइन, राजनीतिक विषयमा कविता लैख्दै आएका अधिकांश कविहरूले प्रधानमन्त्रीको कदममाथि तीव्र कटाक्ष गरेका छन् । नेकपा समर्थित प्रगतिशील साहित्यकारहरूले नै केपी शर्मा ओलीको कडा आलोचना गरिरहेका छन् ।

कवि विनोदविक्रम केसीले गत वर्ष लेखेको ‘शासकले अन्ततः औकात देखाउँछ’ कविता आइतबार धेरैले सामाजिक सञ्जालमा राखे । विनोदविक्रमले संसारका सबै शासकहरू भ्रष्ट कामकै कारण खतम भएको थाहा हुँदाहुँदै पनि उनीहरूले आफ्नो औकात सधैं देखाउने भावको कविता लेखेका थिए ।

२०५१ सालमा तत्कालीन नेकपा एमालेबाट सांसद भएका चर्चित आख्यानकार नारायण ढकाल पनि प्रधानमन्त्री ओलीको कदमलाई पश्चगमनको संज्ञा दिन्छन् । पाँच दशक बढी समय बाम–आन्दोलनमा बिताएका ढकाल ओली सरकारको चर्तिकला देखेर छक्क पर्ने गरेको सुनाउँछन् ।

ढकाल भन्छन्, ‘जुवा खेल्न लागेको घप्पुबाजको चालमा प्रधानमन्त्री गएका छन् । जुन चालले हामी सबैलाई खाल्डोतिर धकेलेको छ ।’

लेखक ढकालले प्रधानमन्त्री र राष्ट्रपति मध्ययुगतिरका सन्की शासकजस्तै देखिएको बिम्ब ग्रयोग गर्दै संसद विघटनको विरोध गरे । उनले आफू यो कदमविरुद्ध उभिने बताउँदै सबै साहित्यकारलाई यसविरुद्ध उभिन आग्रह गरे ।

यता, शालीन कविको परिचय बनाएका विप्लव प्रतीकले भने प्रधानमन्त्रीको कदमले तानाशाहीको अनुहार आफ्नै युगमा देख्न पाइएको भन्दै व्यंग्य गरे । उनले भने, ‘ जो गद्दीनसीन थिए, पक्का थियो यिनले मुलुकलाई अधोगतितिर लैजान्छन् । आइतबारको कदमले यो सत्य बनेको छ ।’

कवि प्रतीकले केही महिनाअघि सरकारको गतिविधिमाथि व्यंग्य गर्दै ‘यो देशमा के भइरहेको छ र तँ के हेरेर बसिरहेको छस् ?’ शीर्षकको कविता लेखेका थिए । जुन कविता पछिल्लो समयमा सान्दर्भीक बनेको उनको अनुभव छ ।

चितवनकी कवि सरिता तिवारी पनि प्रधानमन्त्रीको कार्यले संसदीय गरिमाको हत्या गरेको बताउँछिन् । अधिवक्तासमेत रहेकी तिवारी भन्छिन्, ‘संसद विघटन आम मानिसलाई लोकतन्त्रप्रति वितृष्णा जगाउन सहायक बनेको छ । यसैले लेखक–कविहरू लोकतन्त्र बचाउमा केन्द्रित हुनुपर्छ ।’

पहिचानवादी उपन्यासकार राजन मुकारुङ प्रधानमन्त्रीको कदमलाई जति निन्दा गरे पनि कम हुने बताउँछन् । मुकारुङ व्यक्तिवाद हाबी भएर नै पछिल्ला संकट उत्पन्न भएको टिप्पणी गर्छन् । उनी भन्छन्, ‘प्रतिपक्षी पनि कमजोर बन्दै गएका बेलामा आम नागरिकसँगै लेखकहरूले पनि  प्रधानमन्त्रीको कुकार्यको विरोध गर्नुपर्छ ।’

आख्यानकार नयनराज पाण्डे भने कुनै पनि नेता र नेतृत्वको प्रशंसा गर्न नसकिने स्थिति रहेको मूल्यांकन गर्छन् ।  उनका अनुसार म नै राष्ट्र हो भन्ने दम्भ भएको नेतृत्व देशका लागि जहिले पनि घातक सिद्ध हुन्छ । पाण्डे थप्छन्, ‘अन्तिममा संसद विघटनसम्म गर्न लाज नमान्ने नेताको विरोध गर्न जनताले पनि लाज मान्नु हुँदैन । अझै लेखक–कविले त यसविरुद्ध निरन्तर आन्दोलन गनुपर्छ ।’

चितवन निवासी साहित्यकार रेशम विरही सरकारको कदम अलोकतान्त्रिक रहेको ठहर गर्छन् । लेखक विरहीले यस्तो अवस्थामा लेखक–साहित्यकारको कर्तव्य लोकतन्त्रको पक्षमा उभिनुपर्ने तर्क गर्छन् । कम्युनिष्ट पार्टीका पूर्वकार्यकर्ता रहेका लेखक विरही भन्छन्, ‘कम्युनिस्टको खोल ओढ्नुभएका ओलीजीको निहितार्थको पर्दाफास भइसकेको छ ।’

के भन्छन् लेखक संघका अध्यक्ष ?

प्रतिपक्षी दल नेपाली कांग्रेससमर्थित ‘नेपाली लेखक संघ’का अध्यक्ष रहेका मुकारुङले प्रधानमन्त्रीको कदम लोकतन्त्रमाथिको जुलुम भएको संज्ञा दिएका छन् । उनी भन्छन्, ‘यो गणतन्त्रमाथिकै प्रहार हो । यसले प्रत्येक नेपाली नागरिकको मानवीय गौरवको उपहास गरेको छ ।’

२०६२–६३ को आन्दोलनमा ‘बिसे नगर्चीको वयान कविता’ वाचन गरेका मुकारुङले सर्वसत्तावाद विरुद्ध साहित्यकारहरू एकजुट हुन आह्वान गरे । उनले भने, ‘यो विरोध प्रतिपक्षमा भएका लेखकले मात्र होइन, सबै प्रतिवद्ध स्रष्टाहरूको कर्तव्य हो । जसलाई स्रष्टाहरूले पूरा गर्नैपर्छ ।’ श्रवणले सरकारको विरोधमा आफू सडकमै आउन तयार रहेको खुलासा गरे ।

यस्तै नेपाली लेखक संघका सचिव सोझो गाउँलेले पनि प्रधानमन्त्रीको घातक कदमविरुद्ध उभिन सबै लेखकहरूलाई आग्रह गरे । गाउँलेका अनुसार संघले यो विषयमा छलफल गरेर धारणा राख्नेछ ।

सत्ता समर्थित प्रगतिशील लेखक संघ (प्रलेस)का अध्यक्ष जीवेन्द्रदेव गिरीले केही महिनाअघि अनलाइनखबरसँगको अन्तर्वार्तामा गिरीले गुण–दोषका आधारमा सरकारको विरोध या समर्थन गर्ने बताएका थिए ।  उनले भनेका थिए, ‘मान्छे हो, मान्छेले बाटो बिराउन सक्छ, त्यसैले उसलाई ठोकिरहन पर्छ ।’

तर, संसद विघटनको घटनाबारे प्रगतिशील लेखक संघका अध्यक्ष मौन बसेका छन् तर, प्रलेसका तर्फबाट उपाध्यक्षसहित ५० जनाले संयुक्त विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीको कदमको विरोध गरेका छन् ।

यता, प्रगतिशील लेखक संघकै सल्लाहकार एवं पूर्वअध्यक्ष मातृका पोखरेल पनि प्रधानमन्त्रीको कदम राष्ट्रघाती रहेको भन्दै विरोध गर्नुपर्ने बताएका छन् । पोखरेलका अनुसार सबै स्रष्टाले लोकतन्त्र र विधिको शासनका लागि विगतमा जस्तै लड्नुपर्ने समय आएको बताए । उनले भने, ‘यो परिवर्तनमाथि धावा हो । यसविरुद्ध लेखकहरू कसरी आन्दोलनमा जाने भनेर सल्लाह गर्दैछौं ।’

प्रलेसकै पूर्वअध्यक्ष अमर गिरी पनि प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको बताउँछन् । गिरी भन्छन्, ‘यसले जनमतको अपमान मात्र गरेको छैन, कम्युनिस्ट आन्दोलनलाई पनि कमजोर बनाउने काम गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment