Comments Add Comment

बालुवाटार र कार्की ब्याङ्क्वेटमा नुहेको नेकपाको शिर

देख्छु मैले हिजोआज

नामी मान्छेको घर बिग्रिएको

घरको छानोबाट पानी चुहेको

शरीर घाउ खटिराले कुहेको

सन्तानहरु बुद्धिहीन भई तुहेको

ठाडो शिर लाज मानेर नुहेको ।

प्रितम पाण्डेको कविताका यी हरफहरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताहरु सम्झिरहेका होलान् अहिले ।

पाण्डेले कवितामा भनेजस्तै गत निर्वाचनमा झण्डै दुई तिहाई जनमत प्राप्त नेकपा एउटा नामी घर थियो । तर, अहिले त्यहि घर बिग्रिएको छ । ०७५ साल जेठ ३ गते बडो उत्साहका साथ तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र एकीकरण भई बनेको नेपाल मंगलबारसम्म आइपुग्दा दुई टुक्रा भएको छ ।

एउटा टुक्रा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सम्हालेका छन् भने अर्को टुक्रा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालले संयुक्त रुपमा सम्हालेका छन् ।

दुवै समूहको केन्द्रीय कमिटीको बैठक मंगलबार फरक–फरक ठाउँमा बस्यो । दुवै समितिले केही औपचारिक निर्णय गरे । आफ्नो निर्णय र बैठक तथा टुक्रा बैध भएको दाबी प्रस्तुत गरे ।

ओलीले बिहान ९ बजे वालुवाटारमा केन्द्रीय समितिको बैठक राखेका थिए ।

बैठकपछि एकजना केन्द्रीय सदस्यलाई ‘कत्तिको उत्साही हुनुहुन्छ ? भनेर सोधेको । उनको जवाफ थियो– तपाईंहरु बुझिहाल्नुहुन्छ नि यो बाध्यतात्मक परिस्थिति । कस्तो बाध्यात्मक ? भनेर प्रतिप्रश्न गर्नै भ्याइएन, आफ्नो बाटो लागिहाले ।

बैठक सकिएपछि नयाँ प्रवक्ताको जिम्मेवारी पाएका प्रदीप ज्ञवाली पत्रकारसामु आए । निर्णयहरु सुनाए–केन्द्रीय कमिटी विस्तार, अब ११९९ सदस्यीय । पार्टीको महाधिवेशन २०७८ साल मंसिर २ गते, संसद विघटन नयाँ निर्वाचन घोषणालाई, समर्थन आदि इत्यादि ।

त्यसपछि पत्रकारले प्रश्न गरे– तपाईं परराष्ट्रमन्त्रीसमेत हुनुहुन्छ, यो नेकपाको विभाजन विदेशीले गरेको भन्ने पनि छ नि ? जस्तै‍, रअको प्रमुखसँग प्रधानमन्त्रीले भेटिसकेपछि एउटा कुरा भयो, त्यस्तै एमसीसीसँग सम्बन्धित रहेर नेपालको शक्ति सन्तुलनचाहिँ बाह्य हस्तक्षेपका कारणले भै राखेको छ भन्ने पनि छ नि ?

ज्ञवालीले जवाफ दिए, ‘पहिलो कुरा त पार्टी विभाजित भएको छैन । विभाजनै नभएको हुनाले यसमा कसेको हात देखिरहनुपरेन । आफ्नो थैलीको मुख बलियो गरी बाँधौं, अरु कसैलाई दोष नदिऔं । तपाईंले आफ्ना समस्याहरुको समाधान आफैं गर्न सक्नुहुन्न भने अरुलाई दोष दिएर पन्छिन पाइँदैन ।’

तर, यसो भनिरहँदा ज्ञवालीको निधार खुम्चिरहेको थियो ।

पत्रकारहरु प्रश्न गरिरहेका थिए, ‘ साढे दुई वर्ष त प्रधानमन्त्रीलाई साथ थियो त, के गर्नुभयो ? ज्ञवाली ‘हामी छिट्टै के–के गर्‍यौं भन्ने कुराको आधिकारिक, डेटामा, ग्राफिक्समा लिएर आउँछौं भनेर पन्छिरहेका थिए ।

एक प्रकारले ज्ञवालीको मात्रै नभएर बैठकमा सहभागी भएर फर्किएकाहरुको शिर नुहेको थियो । कोही मिडियासंग बोल्न चाहिरहेका थिएनन् । आफैँ मिडियासामु आउने नेताहरु पन्छिरहेका थिए ।

कार्की ब्याङ्क्वेटमा पनि निराशा !

धेरैलाई लाग्न सक्छ ४४१ सदस्यीय केन्द्रीय समितिमध्ये ३१५ जना सहभागी भएको प्रचण्ड–माधव नेपाल पक्षको बैठकमा त निकै उत्साह थियो होला । बहुमत छ भनेर उत्साही भएका होलान् ?

तर, कार्की ब्याङ्क्वेटको माहोल बालुवाटार भन्दा फरक– त्यहाँ पुगेका नेता कार्यकर्ता र पत्रकारले बाहिरै बसेर पनि शीर्ष नेताहरुका भाषण सुन्न पाएका थिए । बालुवाटारमा सरकारी टेलिभिजन नेपाल टेलिभिजनका पत्रकार बाहेकलाई बैठक कक्षको फोटो, भिडियो लिन दिइएको थिएन, कार्की ब्याङ्क्वेटमा केन्द्रीय समिति बैठक सुरु भयो भनेर केहीले सुरुवातमा लाइभ नै गर्न पाए ।

प्रचण्ड–माधव पक्षको स्थायी कमिटी पनि त्यहीँ बसेको थियो । बैठक सकेर निस्कँदै गर्दा भीम रावलाई के के भयो ? भन्दा उनी तर्किएर हिडेँ । ‘फिस्स हाँस्दै गलेको अनुहार देखाएर हिँडे ।

तर, केन्द्रीय समितिको बैठकमा पार्टीका अध्यक्ष केपी ओलीलाई कारबाही गर्ने प्रस्ताव उनै रावलले राखे । त्यसपछि बाहिर रहेकाहरु रावल यो समूहको महासचिव रहेछन् भनेर अड्कल काटे । महासचिव नै हुन लागेका रावलको अनुहान नै मलिन थियो भने अरुको को त के कुरा ?

कार्की ब्याङ्क्वेट परिसरमा कार्यर्ताहरु पनि पुगेका थिए । कोही उत्साही थिएनन् । निरश देखिन्थे, अबको भविष्य के होला भन्ने चिन्ता उनीहरुका अनुहारमा प्रष्टै देखिन्थ्यो ।

निराश भीडलाई अध्यक्ष प्रचण्डले अझ निराश बनाए । आफूलाई अर्का अध्यक्षले गरेको अपमानको फेहरस्ति सुनाए । भीडलाई भन्दै थिए, ‘संसारमा पीडकहरु कम हुन्छन् । पीडितहरु धेरै हुन्छन् । हामी पीडित हौं ।’

तथापि, उनले आफूहरुको समूह नै बैध पार्टी भएको दाबी गरे । यस्तै दाबी वालुवाटारमा केपी ओलीले पनि गरे । ओलीको तर्क र अध्यक्ष र महासचिव बिनाको पनि बैठक हुन्छ ? यता प्रचण्ड भन्दै थिए दुई तिहाई बहुमत यहाँ छौं एक तिहाईको बैठक कसरी बैध हुन्छ ?

एक तिहाईंकै उपस्थितिमा केपी ओलीले केन्द्रीय सदस्यको संख्या ११९९ बनाइदिए । त्यसबाट कार्यक्रतामा एक खालको खुशीयाली छाउँछन् भन्ने उनलाई लागेको होला तर, केही घण्टापछि नै ओलीले नयाँ केन्द्रीय सदस्य भनेकाहरुले अस्वीकार गरेको समाचार आउन थाले । यसले वालुटार मात्रै नभएर ओलीकै गृहजिल्ला झापाकै कार्यकर्ता खुसी रहेनछन भन्ने देखायो ।

यता कार्की ब्याङ्क्वेटको बैठक सकिएपछि नारायणकाजी श्रेष्ठले निर्णयहरुबारे पत्रकारलाई जानकारी गराए । उनले पनि अब यसरी नै जाने भन्ने प्रष्ट भन्न सकेनन् ।

कवितामा भनिएजस्तै नामी घर बिग्रिएपछि बसेको बालुवाटार र कार्की ब्याङ्क्वेटमा दुवै पक्षले जितेको अभिनय गरे । चर्का भाषण गरे, नेता कार्यकर्तालाई उत्साही बनाउन भरमग्दुर प्रयास गरे । तर, ज–जसले भेला वा बैठकमा सम्बोधन गरे, उनीहरुले आफूहरु बैध भएको दाबी गरे । आफुहरुले जितेको जिकिर गरे । तर उनीहरुकै शिर नुहेको थियो ।

नेकपा रुपी घरको छानो चुहेको मात्रै होइन, भत्किएर दुई टुक्रै भयो । शरीर घाउ खटिराले कुहेर उपचार नलाग्नेतिर गयो । सन्तानहरु बुद्धिहीन भएपछि दुईतिहाइको दम्भरुपी नेकपाको ठाडो शिर लाज मानेर नुह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment