Comments Add Comment

कोभिडले डिप्रेसनदेखि आत्महत्याको प्रयाससम्म

८ पुस, काठमाडौं । १९ साउनको राति खाना खाँदा डा. ध्रुव गैरेले स्वाद पाएनन् । भोलिपल्ट बिहानैदेखि पखाला लाग्यो । बान्ता पनि हुन थाल्यो । ज्वरो र खोकीले पनि आक्रान्त पार्‍यो । पूरा शरीर कट्कटी खान थाल्यो । रगतमा अक्सिजनको मात्रा पनि घट्न थाल्यो । ज्वरो बढिरहेको थियो । उनी केही सोच्न, सम्झिन नसक्ने अवस्थामा पुगे ।

कोरोना महामारीबीच बिरामीको सेवामा निरन्तर खटिरहेका वीर अस्पतालका वरिष्ठ जनरल फिजिसियन उनलाई नाकबाट लिएको अक्सिजन अपुग भएर मास्कबाट १४-१५ लिटर अक्सिजन दिँदा पनि अपर्याप्त भएपछि हाइ-फ्लो नोजल क्यानुलाबाट पम्प गरियो ।

आठ दिनसम्म आईसीयूमा बसेपछि क्रमशः सुधार आयो । अक्सिजन, रक्तचाप र पिसाबको मात्रा बढ्दै गयो । बोल्न र खान थाले । नवौं दिनमा स्वाबको रिपोर्ट नेगेटिभ आयो र उनलाई पोस्ट अपरेटिभ वार्डमा सारियो ।

‘एकाएक गाह्रो भएपछि मनमा एकदमै डर पैदा हुँदो रहेछ’, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का एशोसिएट प्रोफेसरसमेत रहेका डा. गैरे भन्छन्, ‘निको भएर आइसकेपछि पनि तीन हप्ता खान मन र निद्रा नलागेर औषधि नै खानुपर्‍यो, केही दिन निद्रा लागेन, ‘डिप्रेस्ड’ जस्तो भएर बसेँ ।’

अन्ततः आफैं सम्हालिएपनि ‘नर्मल’ अवस्थामा आउन डेढ महिना लागेको उनले सुनाए ।

हास्य कलाकार मनोज गजुरेललाई पनि कोरोना मुक्त हुन ठूलो शारीरिक-मानसिक पीडाबाट गुज्रनुपर्‍यो । निमोनिया भएर फोक्सो र छातीको बीचमा हावा भरिएपछि तुरुन्दै आईसीयूमा जान परेको उनी बताउँछन् । ‘आईसीयूमा पस्नुपर्दा भयंकर डर लागिरह्यो’, उनी भन्छन्, ‘निको भएर घर फर्कन १२ दिनसम्म शारीरिक र मानसिक दुवै पीडा ब्यहोर्नुपर्‍यो ।’

आईसीयूमा स्वास्थ्यकर्मीको बोली, निरन्तर बजिरहेको मनिटरको आवाज योभन्दा पहिले सपनामा हो कि कुनै युगमा हो कि पूर्वजन्ममा हो आफूले सुनेजस्तो लागिरहेको र त्यो भ्रम अहिले पनि बिर्सन नसकेको गजुरेल बताउँछन् ।

अधिकांश संक्रमित मानसिक तनावमा छन् र यसबाट समाजमा निकै गम्भीर अवस्था सिर्जना गर्नेवाला छ – रितेश थापा, मानसिक रोग विशेषज्ञ

आईसीयूमा निदाउन आँखा चिम्लिएँ भने फेरि कहिल्यै खुल्दैन कि भन्न डर लागेको बताउँदै उनी भन्छन्, ‘कानमा निरन्तर कसैले केही भनेजस्तो लाग्ने, कसैले पैताला छामेजस्तो, शरीर तातो र कम्पन भएजस्तो अनुभूति भइरह्यो ।’

त्यसैबीच छेवैको बेडमा रहेका एक वृद्धाको मृत्यु भएको उनले थाहा पाए । ‘त्यतिबेला आँखा अगाडि दूधका दुईवटा धाराले आकाशतिर सिर्का हानेजस्तो लाग्यो, झस्किएर आँखा खोल्ने प्रयास गर्दा सकिन’, उनी भन्छन्, ‘त्यो भ्रम अझै पनि मेरो मानसपटलमा घुमिरहेका छन् ।’

उनी ३० मंसिरमा कोरोना संक्रमणमुक्त भएर घर फर्केका थिए । ह्याम्स अस्पतालका पल्मोनरी एण्ड क्रिटिकल केयर विज्ञ डा. रक्षा पाण्डे आईसीयूमा पुगेका बिरामी कुनै न कुनै खालको गहिरो डर र सकसको अवस्थामा हुने बताउँछिन् ।

नेपालमा कोभिड संक्रमण फैलिएको ९ महिना भइसकेको छ । गत मंगलबारसम्म २ लाख ५५ हजार २३६ जना संक्रमित भएका छन् । यीमध्ये २ लाख ४५ हजार ७०९ जना निको भएका छन् । एक हजार ७९८ जनको मृत्यु भइसकेको छ।

यो बीचमा मानसिक रोग पनि भयावह बनेको देखिन्छ। संक्रमितको मानसिक अवस्थाबारे अनुसन्धान नभएपनि यस्ता केस थुप्रै देखिएका छन् । मनोविद्हरूले यसलाई एकप्रकारको ‘एन्जाइटी’ भन्ने गरेका छन् ।

हाम्स अस्पतालका पल्मोनरी एण्ड क्रिटिकल केयरविज्ञ डा. पाण्डे आफूले हेरेका प्रत्येक १० बिरामीमध्ये ३-४ जनामा निको भएर गइसकेपछि पनि निद्रा नपर्ने, डर लाग्ने समस्या देखिएको बताउँछिन् ।

‘कोभिडले फोक्सोसँगै नशामा असर गरेको देखिन्छ’, उनी भन्छिन्, ‘कोभिडबाट निको भएका बिरामीहरुको फलोअप गर्दा थाकेको, व्यवहार फरक भएको, बिर्सिएकोजस्ता समस्या पाएको छु । धेरैमा न्युरो साइक्याट्रिक, एन्जाइटी र डिप्रेसनको लक्षण छ ।’

आफ्नो फलोअपमा रहेका आईसीयूबाट फर्किएका धेरैमा स-साना कुरामा पनि डराउने, निद्रा नलाग्ने, दिक्क लाग्ने, काममा ध्यान केन्द्रित गर्न नसक्ने, झर्कने समस्या देखिएको उनी बताउँछिन् । उनी ‘पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर (पीटीएसटी), डिप्रेसन र एन्जाइटीका लक्षण हुन् यी ।’

कोभिडमुक्त भएपनि यसखालको मानसिक अस्वस्थता भए उत्पादन क्षमता घट्ने हुनाले यो विषयलाई गम्भीर रूपमा लिन डा. पाण्डेको सुझाव छ ।

डिप्रेसनदेखि आत्महत्याको प्रयाससम्म

मनोसामाजिक र मानसिक स्वास्थ्य क्षेत्रमा अनुसन्धान गरिरहेको टीपीओ, नेपालले लकडाउनयता २५ सयभन्दा बढीलाई मनोपरामर्श दिएको छ । तीमध्ये सय जनाले कोरोना संक्रमणपछि आफू मानसिक रूपमा कमजोर भएको भन्दै परामर्शको लागि आग्रह गरेका थिए ।

संस्थाका कार्यक्रम संयोजक पिताम्बर कोइराला परामर्श लिएका कुल बिरामीमध्ये ६३ जनाले आत्माहत्याको प्रयास गरेको बताउँछन् । उनी भन्छन्, ‘७८ जनामा क्वारेन्टाइन अवधिमा भएको विभेदजन्य हिंसाका कारण मानसिक समस्या देखिएको थियो ।’

उनका अनुसार, टीपीओ, नेपालको सम्पर्कमा आएका अधिकांशमा कोभिडमुक्त भइसक्दा पनि निद्रा नलाग्ने, आत्मविश्वास घट्ने, मन आत्तिने, मुटु ढुकढुक हुने, एक्लै बस्न डर लाग्ने, अरुसँग कुरा गर्न मन नलाग्ने लगायत समस्या देखिएको छ ।

कोरोना नयाँ प्रकृतिको भाइरस भएको र खोप बनिनसकेकाले यसको त्रास धेरै थियो । यो चिन्ताले धेरैलाई गहिरो असर पारेको मनोविज्ञ तारा अधिकारी बताउँछिन् ।

एउटा उदाहरण– भारतबाट आएर क्वारेन्टिन बसेका कैलालीका ७ वर्षीय बालकमा कोरोना पोजेटिभ देखिएको थियो । बालकलाई एक्लै आइसोलेसनमा राख्न नमिल्ने भएकाले उनको बुवा छोरासँगै बसेका बसे । १४ दिन आइसोलेसनमा पस्दा कोरोना पोजिटिभ नभएका ती अभिभावकमा घर फर्केपछि समस्या देखिन थाल्यो । ‘सर्ट टर्म मेमोरी लस’ र उदासीनता जस्ता मनोसामाजिक समस्याले गाँजेका उनलाई लगातार एक महिना मनोपरामर्श दिनुपरेको टीपीओ, नेपालका कोइराला बताउँछन् ।

‘अब समाजले के भन्ला, कस्तो व्यवहार गर्ला, पछि गएर काम गर्न सकिएला कि नसकिएला भन्नेजस्ता सोचले उनमा निराशा छाएको थियो’, उनी भन्छन्, ‘यसरी ‘एन्जाइटी’ बढ्दै गएर उनले मर्ने प्रयास समेत गरेका थिए ।’

कोभिड पोजेटिभ भएको खबरले पनि मृत्यु

काठमाडौंका बुद्धनगर बस्दै आएका ५३ वर्षीय पुरुषको गत १६ कात्तिकमा मृत्यु भयो । कोरोना पोजेटिभ भएको थाहा पाउनसाथ बिहान अचेत भएका उनी दिउँसो १ बजे बितेका थिए । उनलाई अन्य रोग भनेको उच्च रक्तचापको समस्या थियो ।

डा. रक्षा पाण्डे

मुटु रोग उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पुगेका सप्तरीका ७३ वर्षीय पुरुषको पहिला पीसीआर परीक्षण गरियो । भोलिपल्ट साँझ ८ बजे पोजेटिभ रिपोर्ट आएपछि १० बजे नै ती वृद्धको मृत्यु भयो ।

ह्याम्स अस्पतालकी डा. रक्षा पाण्डेका अनुसार, यस्तो अवस्थालाई ‘क्वायट स्ट्रेस’ भनिन्छ । ‘अत्यधिक डरले ‘शक’ भएको अवस्थामा यस्तो दुर्घटना हुन्छ’, उनी भन्छिन्, ‘सबै उमेरकालाई पनि यस्तो हुन सक्छ ।’

आफूले पनि यस्ता दुईवटा केसको सामना गरेको उनले बताइन् । उनले उपचार गरेका ती दुईजना पीसीआर पोजेटिभ आउनसाथ बोल्नै छाडेका थिए । ‘अक्सिजन लेबल, ब्लड रिपोर्ट सबै राम्रो थियो तर कोरोना पोजेटिभ आएपछि उहाँहरु एकोहोरो टोलाउन थाल्नुभयो अनि तत्काल वार्डमा राखेर ‘साइक्याट्रिक सपोर्ट’ दिनुपर्‍यो’, डा. पाण्डे भन्छिन् ।

कोभिडपछि डिप्रेसनको औषधि

डिप्रेसनबाट मुक्त भइसकेकाहरु पनि कोरोना संक्रमित भएपछि फेरि पहिलाकै अवस्थामा पुगेको पाइएको मनोपरामर्शदाता तारा बताउँछिन् । परामर्शका क्रममा यस्ता थुप्रै केस भेटेको उनले बताइन् ।

पतिसँगको खराब सम्बन्धका कारण डिप्रेसन भएकी काठमाडौंकी एक महिला उपचारपछि ठीक भइसकेकी थिइन् । तर कोरोना संक्रमण भएपछि उनी फेरि डिप्रेसनको औषधि खानुपर्ने अवस्थामा पुगेको अधिकारी बताउँछिन् ।

‘संक्रमित भएर आइसोलेसनमा बस्दा उहाँलाई पहिलाका सबकुरा सम्झना भएछ’, उनले भनिन्, ‘संक्रमणबाट मुक्त भए पनि उहाँलाई पहिलाजस्तै मनोपरामर्श आवश्यक भयो । त्यसले मात्र नभएपछि औषधिका लागि चिकित्सक कहाँ रेफर गर्नुपरेको थियो ।’

मानिस सामाजिक प्राणी भएकाले लामो समय आइसोलेसनमा एक्लै बस्दा मनस्थिति खल्बलिने अधिकारी बताउँछिन् ।

टीपीओ नेपालका कोइराला पनि पहिले निको भइसकेका तनावका विरामीहरु पनि कोभिडको कारण चिन्ता बढाएर पुनः औषधी खाने अवस्थामा पुगेको बताउँछन् । संक्रमितको उद्दारमा काम गरिरहेको समुह आरएनए– १६ का अरुण सैजुले भक्तपुर दुधपाटीको यस्तै उदाहरण सुनाए ।

उनका अनुसार कोभिडबाट आमाको मृत्यु भएपछि २८ वर्षीय एक युवकले स्मरण शक्ति गुमाए । भिडपछि यस्ता थुप्रै समस्या देखिएको सैजु बताउँछन् ।

स्वास्थ्य मन्त्रालयले सोच्ने बेला भयो

अहिले देखिएको मानसिक समस्याले अगामी समाजिक अवस्थाको संकेत गरेको हुनाले यसमा सरकारको ध्यान जानुपर्ने ह्याम्सका डा. पाण्डे बताउँछिन् । स्वास्थ्य मन्त्रालयले भने मनोपरामर्शको कुनै कदम चालेको छैन । पाटन र त्रिवि शिक्षण अस्पतालले भने हटलाइन नम्बरको व्यवस्था गरेको छ ।

मानसिक रोग विशेषज्ञ रितेश थापा कोभिडपछिको मानसिक अवस्था हेरेर ठूलै कार्यक्रम चलाउनुपर्ने देख्छन् । उनका अनुसार, अधिकांश संक्रमित मानसिक तनावमा छन् र यसबाट समाजमा निकै गम्भीर अवस्था सिर्जना गर्नेवाला छ । उनी भन्छन्, ‘हामी जति डराएर बस्छौं, एन्जाइटीको मात्रा त्यति नै बढ्छ ।’

डा. रितेश थापा

मानसिक रोग विशेषज्ञ

कोभिड शुरु हुँदा नै विश्व स्वास्थ्य संगठनले संक्रमणको कारण मानिस स्वास्थ्यमा निकै ठूलो असर पर्न सक्ने अनुमान गरेको थियो । नेपालमा सुरुका दिनमा कोरोनाका कराण थुप्रै विभेदहरु भए । त्यसको असर धेरै लामो समयसम्म पर्न सक्छ ।

मैले पहिलेदेखि नै हेरेका बिरामीहरुमा एन्जाइटी र डिप्रेसन बढी छ । कुर्सीमा बस्न पनि डराउनु, डराएर आवश्यकताभन्दा बढी सावधानी अपनाउन खोज्नु, निको भएको लामोसमयसम्म पनि आफूमा अझै कोरोना छ जस्तो गर्नु मानसिक समस्या हो । धेरैजनामा भ्रम नै विश्वास बनेको पाइएको छ।

निको भइसकेका कोरोना संक्रमितहरू मानसिक तनावले हैरान भएको बताउनुहुन्छ। यसबाट गर्दागर्दैको काम छोड्ने, अफिसमा राम्रो परिणाम दिन नसक्ने, शरीरिक दुखाइ अनुभव गरिरहने हुन सक्छ । लामो समय मानसिक अस्थिरता रह्यो भने औषधिबिना निको नहुने हुन्छ।

अब मास्क लगायत सुरक्षा सामग्री प्रयोग बढाएर, भौतिक दुरी कायम गरेर कोरोनासँगै बाँच्न सक्नुपर्छ। अरू रोगजस्तै यसलाई पनि सामान्य रूपमा लिन जरुरी छ । कोरोना संक्रमण मुक्तभएपछि चाँडै सामान्य दैनिकीमा फर्कन सक्नुपर्छ । जति डराएर बस्यो, एन्जाइटी उति बढ्छ।

कोरोनाले थुप्रै सकारात्मक कुरा पनि सिकाएको पनि छ । जस्तो डिजिटलाइजेसन, दुरी कायम, भर्चुअल बैठक, अनलाइन डेलिभरी आदि। अब सकारात्मक सोच अत्यन्तै जरुरी छ । खानपिन र निद्रालाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ । योग, ध्यान, व्यायाम आदिले सोचलाई सकारात्मक बनाउन सघाउँछ।

संक्रमितलाई मानसिक समस्याबाट बचाउन परिवार, समाज र कार्यालयको वातावरण महत्वपूर्ण हुन्छ । छिछि, दूरदूरको व्यवहार त्याग्न जरुरी छ । छिछि, दूरदूरको व्यवहार भए एन्जाइटी बढेर आत्माहत्याको अवस्था सिर्जना हुन सक्छ।

डा. रक्षा पाण्डे

पल्मोनरी एण्ड क्रिटिकल केयर विज्ञ

सन् २००३ मा विश्वमा देखिएको सार्स र २०१३ मा देखिएको मर्स भाइरसले थुप्रै मानिसलाई मानसिक असर पारेको थियो । अहिले कोभिड १९ त्योभन्दा भन्दा भयाभव मानिसिक समस्या सिर्जना गरेको छ ।

कोभिड नलागेकाहरूमा पनि ‘एन्जाइटी डिप्रेसन सिन्टर्म’ देखिएको अवस्था छ । मैले आईसीयू, भेन्टिलेटर र बाहिर हेरेका प्रत्येक १० बिरामीमध्ये ३-४ जनामा अत्यन्त डराएको पाएको छु । यो पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर (पीटीएसटी) र एन्जाइटी हो। यस्तो अवस्थालाई सामान्य रूपमा लिएमा गम्भीर परिणाम भोग्नुपर्ने हुन सक्छ ।

मानिसको मानसिक अवस्था ठीक नहुनु भनेको उत्पादन क्षमता घट्नु हो । त्यसैले यसमा सरकार नै बढी गम्भीर भएर लाग्नुपर्ने अवस्था छ ।

तारा अधिकारी

साइकोलोजिस्ट

क्वारेन्टिन, आइसोलेसन मात्र होइन संक्रमण हुने डरले समेत धेरैको मानसिक स्वास्थ्यमा समस्या आएको देखिन्छ । यसलाई जीवनको एउटा परिघटनाको रूपमा लिएर स्वहेरचाहमा ध्यान दिनु आवश्यक छ । पर्याप्त निद्रा र पर्याप्त खानाका साथै सकारात्मक सोच राखेर यसको सामना गर्नुपर्छ ।

संक्रमित हुँदा मात्र नभई संक्रमणमुक्त भइसकेपछि पनि मानिसहरू धेरै डराएको देखिन्छ । अब कोभिडको कुरामात्र सोचेर बस्नुहुँदैन । सबैभन्दा महत्वपूर्ण कुरा आफूलाई आशावादी र व्यस्त राख्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment