
९ पुस, काठमाडौं । अमेरिकाको सरकारले खोप निर्माता फाइजरसँग थप १० करोड डोज कोरोना खोप खरिद गर्ने सम्झौता गरेको छ । अमेरिकामा कोरोनाको खोप कार्यक्रम सुरु भइसकेको अवस्थामा उसले फाइजरसँग थप १० करोड डोज खोपका लागि सम्झौता गरेको हो ।
अहिले भएको सम्झौताअनुसार आगामी जुन ३० सम्म कम्पनीले कम्तीमा सात करोड डोज खोप उपलब्ध गराउनुपर्ने हुन्छ भने जुलाई ३१ सम्ममा बाँकी खोप उपलब्ध गराउनुपर्ने हुन्छ । यससँगै फाइजरसँग अमेरिकाले समग्रमा २० करोड खोपको लागि सम्झौता गरेको छ । समग्रमा उक्त खोपको खरिद सम्झौता चार अर्ब डलरको छ । अहिले भएको सम्झौताअनुसार अमेरिकाले एक खोपको लागि साढे १९ डलर खर्च गरेको छ । युरोपेली संघ यो खोपको एक डोजलाई १८ दशमलव ९० डलर तिर्न सहमत भएको थियो । फाइजरको कोरोना खोपलाई ईयू र अमेरिकाले प्रयोगको अनुमति दिइसकेका छन् ।
अमेरिकाले पर्याप्त मात्रामा कोरोना खोप खरिद नगरेको भन्दै सरकारको आलोचना भइरहेको अवस्थामा फाइजरसँग यो सम्झौता भएको हो । अमेरिकाले फाइजरका साथै मोडर्नाको खोपको लागि पनि अनुमति दिइसकेको छ ।
प्रतिक्रिया 4