Comments Add Comment

प्रदेशको लिग माघ पहिलो सातादेखि

१० पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले माघको पहिलो सातादेखि तीन वटा प्रदेशको लिग गर्ने भएको छ ।

कोरोना महामारीका कारण गत वर्ष स्थगित बनेको प्रदेश लिगअन्तर्गत बाँकी रहेका तीन वटा प्रदेश- प्रदेश २, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशको लिग माघको पहिलो साता सुरु गर्ने तयारी गरेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार बसेको एन्फा पदाधिकारी र प्रदेशका प्रतिनिधि बीचको छलफलपछि स्थगित भएको प्रदेश लिग सञ्चालन गर्ने निर्णय गरेको हो ।

सहमति अनुसार एक साता भित्र प्रदेशले लिगको विस्तृत विवरणसहित प्रस्ताव एन्फामा पठाउने छन् । प्रदेश लिगलाई एन्फाले एन्फा प्रेसिडेन्ट लिगको छनोटको रुपमा राखेको छ ।

शुक्रबारको छलफलमा एन्फाका उपाध्यक्ष वीरबहादुर खड्का, महासचिव इन्द्रमान तुलाधर र प्रतियोगिताका डाइरेक्टर सञ्जिव मिश्रसँगै प्रदेशका प्रतिनिधिको सहभागिता रहेको थियो ।

कोरोनाका कारण रोकिएको घरेलु फुटबललाई फेरि मैदान फर्काउने तयारीका साथ एन्फाले विभिन्न प्रतियोगिता सुरु गर्ने तयारी गरिरहेको छ । जसअनुसार महिला राष्ट्रिय लिग माघमा, रोकिएको बी डिभिजन लिग फागुनमा र सी डिभिजन लिग चैतमा सुरु गर्ने एन्फाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment