Comments Add Comment

पर्यटनमन्त्रीको सपथ खान हिँडेका मणि थापालाई खानेपानीको जिम्मा

भागवण्डाकै आधारमा गरियो मन्त्रिपरिषद पुनर्गठन

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका साथमा खानेपानी मन्त्री मणिचन्द्र थापा

१० पुस, काठमाडौं । पूर्वमाओवादी समूहका नेता मणिचन्द्र थापालाई प्रधानमन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने आश्वासन दिएका थिए । तर, शीतलनिवासमा पुगेपछि थापाले धोका पाए ।

अन्ततः सपथ ग्रहण गर्नेबेलामा थापाले यसअघि विना मगरले सम्हालेको खानेपानी मन्त्रीमा चित्त बुझाउनुपरेको छ । र, उनले सो जिम्मेवारी स्वीकार गर्दै सपथ लिएका छन् ।

ओली समूहलाई साथ दिएवापत थापाले पहिलोपटक मन्त्री बन्ने अवसर पाएका हुन् ।

प्रधानमन्त्री ओलीले महत्वपूर्ण मन्त्रालयहरुमा आफू निकटलाई राखेका छन् । पूर्वमाओवादी पक्षका नेताहरुलाई सानातिना मन्त्रालयको जिम्मा दिइएको छ ।

मणि थापालाई दिने भनिएको पर्यटन मन्त्रालय यसअघि स्वास्थ्य मन्त्री रहेका भानुभक्त ढकाललाई दिइएको छ । महामारीमा जनस्वास्थ्यसँग जोडिने स्वास्थ्य मन्त्रालयमा भने यसअघि सामान्य प्रशासन मन्त्री रहेका हृदयेश त्रिपाठीलाई ल्याइएको छ । गणेश ठगुन्ना सामान्य प्रशासन मन्त्री बनेका छन् ।

यो पनि पढ्नुहोस प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद विस्तार, ८ मन्त्री र १ राज्यमन्त्री थपिए

प्रचण्ड–माधव समूहबाट भर्खरै ओली समूहमा लागेका प्रभु साहले शहरी विकास मन्त्रालय पाएका छन् ।

भूमिसुधार मन्त्री पदमा अर्याल कृषि मन्त्रालयमा सरुवा भएकी छिन् । कानून मन्त्री रहेकी शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छिन् । महिला मन्त्रालय सम्हालेका लीलानाथ श्रेष्ठ कानूनमन्त्री बनेका छन् ।

विगतमा उर्जामन्त्री बनेका बेला लोडसेडिङ हटाउन नसकेका टोपबहादुर रायमाझीले पुनः उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै वनको ठेक्कापट्टासँग स्वार्थ जोडिएको आरोप लाग्दै आएका प्रेम आलेले वन मन्त्रीकै जिम्मेवारी पाएका छन् ।

अन्तिम घडीमा माधवकुमार नेपाल समूहमा लाग्ने बताएर ओली समूहमै फर्किएका रघुवीर महासेठकी धर्मपत्नी जुलीकुमारी महतो महिला बालवालिका मन्त्री बनेकी छिन् ।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मालाई हटाएर उनको ठाउँमा दाबा लामालाई ल्याइएको छ । उद्योग राज्यमन्त्री मोती दुगडलाई पनि हटाइएको छ । दुगडको ठाउँमा विमला विश्वकर्मालाई ल्याइएको छ ।

शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ शिक्षामन्त्री बनेका छन् । गौरीशंकर चौधरीले श्रम मन्त्रालयको जिम्मा पाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि प्रचण्ड–माधव समूहका ७ मन्त्रीले राजीनामा दिएपछि खाली रहेका मन्त्रालयहरु भागवण्डा गरिएको हो ।

संसद विघटन गरेर बैशाखमा चुनाव गर्ने गरी कामचलाऊ बनिसकेका प्रधानमन्त्री ओलीले आफ्नो क्याबिनेटमा राम्रा र काम गर्न सक्नेलाई भन्दा पनि पूर्वमाओवादीबाट आएकालाई भागबण्डा गर्ने पुरानै नीति अख्तियार गरेका छन् ।

पार्टीभित्र लामो समय त्याग गरेका घनश्याम खतिवडाजस्ता पुराना नेताहरुले यसपालि पनि मन्त्री खान पाएनन् । बरु, प्रचण्ड समूहबाट आएको भोलिपल्टै प्रभु साहले मन्त्रालयको जिम्मेवारी पाए । पाँच दिन अघिमात्रै प्रभु साहले ओलीको संसद विघटन गर्ने कदमलाई ‘आत्मघाती’ बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment