Comments Add Comment

किशोरीले सिके कपडाको सेनेटरी प्याड बनाउन

११ पुस, वीरगञ्ज । महिनावारीको समयमा प्रयोग गर्न बजारमा विभिन्न कम्पनीका सेनेटरी प्याड उपलब्ध हुन्छन् । तर त्यस्ता प्याड सबैको पहुँचमा हुँदैनन् ।

कुनै ठाउँमा प्याड नै पाइँदैन भने कमजोर आर्थिक अवस्थाका कारण कतिपयले खरिद गर्न नै सक्दैनन् । जसका कारण महिनावारीको समयमा कपडा नै प्रयोग गर्नेहरुको धेरै छन् । कपडा प्रयोग गर्दा समस्या मात्रै हुन्न संक्रमणको जोखिम पनि हुन्छ । यसैलाई ध्यानमा राखेर वीरगञ्जका किशोरीहरुलाई घरेलु प्याड बनाउने तालिम लिएका छन् ।

तालिमपछि वीरगञ्ज महानगरपालिका वडा नम्बर २९, ३० र ३२ का किशोरीहरु प्याड बनाउन सक्ने भएका छन् । स-साना कपडाको टुक्राबाट महिनावारी हुँदा प्रयोग गर्न मिल्ने प्याड बनाउन जानेपछि उनीहरु खुसी छन् ।

सिर्जना किशोरी संवाद समूहको सदस्य वीरगञ्ज- ३० प्रसोतीपुरकी हजरा खातुनले घरेलु प्याड बनाउन सिक्न पाउँदा खुशी लागेको बताइन् । घरेलु प्याड लगाउँदा महिनावारीको समयमा सुरक्षित हुनेबारे सिकेको उनले जानकारी दिइन् । ‘पकेटमा रुमाल राखे जसरी लिएर हिड्न सक्छौं । जतिबेला जरुरी पर्छ त्यसैबेला प्रयोग गर्न सकिन्छ,’ उनले भनिन् ।

सिर्जना किशोरी संवाद समूहकै सुस्मिताकुमारी गुप्ताको परिवारमा आमा, दिदी र बहिनीले पनि कपडाकै प्रयोग गर्छन् ।

तालिमबाट प्याड बनाउन सिकेकी उनी आफूले प्रयोग गर्नेमात्रै नभएर दिदी बहिनी र आमालाई प्रयोग गर्ने प्याड घरमै बनाउने सोचमा छिन् ।

कपडाको प्रयोग गरी पुनःप्रयोग गर्न मिल्ने घरेलु प्याड बनाउने तरिका अरुलाई सिकाउने आत्मविश्वास उनीहरुमा देखिन्छ । ‘व्यवसायिकरुपमा बनाएर बिक्री गरेर आम्दानी लिन सकिन्छ । गाउँ घर टोल छिमेकीलाई सिकाउन सकिन्छ,’ खातुनले थपिन् ।

बजारमा पाइने प्याड एकपटक प्रयोग गरेपछि अर्को पटक प्रयोग गर्न मिल्दैन । तर कपडाको प्याडलाई पूनः प्रयोग गर्न सकिन्छ । सुरक्षित हिसाबले प्रयोग गर्ने तरिका भने जान्नुपर्छ । उनीहरुले त्योपनि सिकेका छन् । कपडाभन्दा सुरक्षित र बजारको प्याडभन्दा कम खर्चमा घरेलु प्याड बनाउन जानेपछि एकता किशोरी संवादको कोषाध्यक्ष इन्दुकुमारी गुप्ता दंग छिन् ।

‘बजारको प्याड किनेर प्रयोग गर्न पैसा हुन्न, कपडा, सुई, धागो, टाँक, कैची भएपछि घरेलु प्याड बनाउन सकिन्छ,’ उनले भनिन्, ‘त्यसैले हाम्रो लागि यो प्याड बजारको भन्दा राम्रो छ । इन्फेक्सनबाट पनि जोगाउँछ ।’

लालीगुँरास सवाद समूहकी अध्यक्ष शोभा कुमारी कुशवाहा सेनेटरी प्याड बनाउने तालिम निकै प्रभावकारी भएको बताउँछिन् । ‘बाहिरको प्याड खरिद गर्न सक्ने अवस्था छैन । कपडाको प्याड बनाउन सहज र कम खर्चिलो पनि छ ।’ उनले भनिन्,’घरेलु प्याड बनाएर सुरक्षित राखेपछि आवश्यक पर्ने वित्तिकै प्रयोग गर्न सक्छौं, कसैकोे मद्दत लिनुपनि पर्दैन् । ग्रामीण क्षेत्रमा अझै उपयोगी हुने देखिन्छ ।’

नेपाल ग्रामीण पुनर्निमाण संस्था (आरआरएन)ले संवाद समूहका १६ जनालाई कपडाको सेनेटरी प्याड बनाउने दुई दिने तालिम दिएको थियो । किशोरी संवाद सञ्जालले नै माग गरेको आधरमा सेनेटरी प्याडको तालिम दिइएको संस्थाका संवाद अधिकृत प्रकाश पाण्डेले जानकारी दिए ।

‘ग्रामीण समुदायमा किशोरीहरुसँग साथमा पैसा नहुने रहेछ । महिनावारीको समयमा घरका टाला टुली प्रयोग गर्ने रहेछन्,’ उनले भने, ‘सञ्जालबाटै प्याड बनाउने तालिम दिने माग आयो । त्यसपछि दुई दिने तालिम सञ्चालन गरेका हौं ।’

उनीहरुले व्यवसायिकरुपमै घरेलु सेनेटरी प्याड बनाउने बताइरहेकोले संस्थाले कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे अध्ययन गरिरहेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment